१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मौसम परिवर्तनसँगै बढे बिरामी

काठमाडौं – जाडो सकिएर गर्मी आउन लाग्दा उपत्यकामा विभिन्न मौसमी रोगका बिरामी देखिएको अस्पतालहरूले जनाएका छन् । झाडापखाला, टाइफाइड, भाइरल ज्वरो, रुघाखोकी, आउँजस्ता रोग देखिएको चिकित्सकले जनाएका छन् । ज्वरो आउने, रुघाखोकी लाग्ने, कडा टाउको दुख्ने जस्ता लक्षण लिएर उपचारमा पुग्ने गरेका छन्।

एकसातादेखि मौसमी रोगका बिरामीहरु उपचारका लागि आउन थालेको चिकित्सकले जनाएका छन् । उपत्यकाभित्रका, घरबाहिर तथा फुटपाथमा खाजा खाने र दैनिकजसो बाहिर हिँड्ने व्यक्तिहरूमा यी रोगको संक्रमण देखिएको छ । पाँच दिनदेखि यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १५ जना झाडापखाला र टाइफाइडका बिरामी मात्र आइरहेका छन् । टिचिङ अस्पतालको जनरल बहिरंग सेवामा आएका बिरामीमध्ये १५ प्रतिशत मौसमी बिरामी मात्र छन् । उनीहरूमा रुघाखोकी र ज्वरो र पेट दुख्ने समस्या देखिन्छ।

सो विभागमा दैनिक १ सय २० जना बिरामी उपचारका लागि आउँछन्। मौसमी बिरामी आउन थालेको सिभिल अस्पतालले जनाएको छ।

रुघाखोकी तथा भाइरल ज्वरो भाइरसका कारणले हुने रोग हो। यस्तो अवस्थामा एन्टिवायोटिक खानुपर्ने आवश्यकता पर्दैन । भाइरसले शरीरमा कमजोरी गराउने भएकाले आरम र प्रशस्त झोल कुरा खाएमा चारदेखि पाँचदिनमा बिस्तारै निको हुँदै जान्छ।

झाडापखाला, टाइफाइड ज्वरो भने व्याक्टेरियल (जिवाणु) को कारणले भएको हुँदा यसमा स्वास्थ्य परीक्षणपछि मात्र औषधी खानुपर्छ । ‘धेरै जसो बिरामी नजिकको औषधी पसलबाट अनुमानको भरमा औषधि खाएको देखिन्छ, यसो गर्नु उचित होइन,’ डा.श्रेष्ठले भने । यसो गर्दा गलत औषधि पर्ने र रोगको समयमै पहिचान नभएर जटिल समस्या उत्पन्न हुन्छ । किटाणुजन्य रोगहरू देखिएमा रगत तथा दिसाको जाँच गरेर मात्र पत्ता लगाउन सकिने हुनाले रोगको निश्चित गर्न अस्पताल नै पुगेर उपचार गराउनु उचित हुने डा. श्रेष्ठले बताए।

तापक्रममा जीवित रहने किटाणुको कारण गर्मी मौसमका रोग देखिन सुरु भएको चिकित्सक बताउँछन् । यी रोग फोहोर, संक्रमित खानेकुरा तथा पानीबाट सर्छ । गर्मीमा झाडापखाला, टाइफाइड, आउँ जस्ता सरुवा रोगको जोखिम भएकोे सबैले सफाइमा ध्यान दिनुपर्ने डा. पुन बताउँछन् । उनका अनुसार ‘सल्मोनेला’ नामक किटाणुका कारण गर्मी मौसममा झाडापखाला, आउँ र टाइफाइड जस्ता रोग लाग्छन् । यी मध्ये झाडापखालाको समयमै उपचार भएन भने शरीरमा पानीको मात्रा कम भई मिर्गौैलामा असर पुग्छ । टाइफाइडको समयमै उपचार नहुँदा आन्द्रामा प्वालसमेत पर्न सक्छ।
सामान्य मानिएका मौसमी रोगमा ध्यान नदिँदा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सफाइ र उचित खानपिनमा ध्यान दिनुपर्ने चिकित्सकले सुझाए।

प्रकाशित: २३ फाल्गुन २०७४ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App