१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ब्लड क्यान्सरपीडित मदनलाई खर्च अभाव

राजधानीको सिभिल अस्पतालमा उपचार गराइरहेका ब्लड क्यान्सरपीडित १४ वर्षीया मदन केसी । तस्बिर : रमेश

चरिकोट – राजधानीमा उपचार गराइरहेका दोलखाका ब्लड क्यान्सरपीडित १४ वर्षीय विद्यार्थी मदन केसीलाई उपचारका क्रममा विभिन्न संक्रमणका कारण खर्च बढेपछि उनको परिवार थप समस्यामा परेको छ। 

सदरमुकाम चरिकोटको एउटा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब परिवारका मदन दुई महिनाअघि अचानक ब्लड क्यान्सरबाट पीडित भएपछि उपचारका लागि राजधानी लगिएको थियो । काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार गराइरहेका उनलाई चरिकोटको एउटा निजी विद्यालयका विद्यार्थी, उनी अध्ययनरत विद्यालय, देशविदेशमा रहेका दोलखावासी, आफन्त, इष्टमित्र र मनकारी व्यक्तिहरूले जुटाएर १२ लाख ३५ हजार रुपैयाँ उपचार खर्चबापत सहयोग गरेका थिए। 

ब्लड क्यान्सरको उपचारका क्रममा दुईपटक ‘किमो’ चलाइसकेका उनका तिघ्रा, घुँडा र आन्द्रामा अचानक संक्रमण देखिएको थियो। ‘दुईपटक किमो चलाउँदा पेट, घुँडा र आन्द्रामा इन्फेक्सन देखिएपछि तीन सातादेखि आइसियुमा राखेर उपचार गर्नुपर्‍यो,’ मदनका काका रामकृष्ण केसीले भने। उनका अनुसार औषधिले मदनको संक्रमण निको हुँदै गएपछि मंगलबारबाटै वार्डमा सारिएको छ। ‘संक्रमण पूरै निको भएर सामान्य अवस्थामा आइसकेपछि अब डाक्टरहरूले केही दिनमा ब्लड क्यान्सरको उपचार पद्धतिअन्तर्गत तेस्रोपटक किमो चलाउने भनेका छन्,’ रामकृष्णले भने। तेस्रोपटक किमो चलाएपछि पनि शरीरका विभिन्न अंगमा कुनै संक्रमण नदेखिए त्यसलगत्तै मदनको बोर्न म्यारो ट्रान्सप्लान्ट हुनेछ। 

उपचारका क्रममा संक्रमण देखिएका कारण खर्च बढेको परिवारजनको भनाइ छ। ‘दुईपटकको किमो, संक्रमण, आइसियुको उपचार, एमआरआईसहित विभिन्न महँगो प्रविधिका जाँच र बढी मूल्य पर्ने औषधिका कारण हालसम्म १६ लाख रुपैयाँ खर्च भइसक्यो,’ रामकृष्णले भने,  ‘बोर्न म्यारो ट्रान्सप्लान्ट गराउने खर्चको जोहो कसरी गर्ने भन्ने कुराले तनावमा परेका छौं।’ 

उनका अनुसार उपचारका लागि दैनिक २० देखि ४० हजारसम्मको खर्च छ। ‘संक्रमण हुँदा र किमो दिँदा दैनिक डेढ लाखसम्म खर्च गर्नुपर्‍यो,’ उनले भने।  

रामकृष्णका अनुसार मदनको संक्रमणमा क्रमशः सुधार हुँदैछ। मदनलाई हालसम्म ३५ पाउन्ड रगत दिइएको छ । उनको उपचार सिभिल अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. विशेष पौडेललगायतले गरिरहेका छन् । अस्पतालले अब एउटा किमो दिएपछि बोर्न म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भनेको छ। त्यसका लागि अस्पतालले २० लाख रुपैयाँ लाग्ने बताएको रामकृष्णले सुनाए। 

‘अहिलेसम्म त साथीभाइ र मनकारीहरूले दिएका सहयोगबाट १२ लाख र बाँकी ४ लाख रुपैयाँ ऋण गरेर भरथेग गर्‍यौं,’ उनले भने, ‘बाँकी कहाँबाट जुटाउने भनेर सिंगो परिवार तनावमा छौं।’ मदनलाई केही दिनअघि हङकङमा रहेका नेपालीले एक लाख रुपैयाँ संकलन गरेर पठाएका थिए। दोलखा बजारका व्यवसायी भेषमणि श्रेष्ठको पहलमा नेपालीले चलाएको रेस्टुरेन्ट टिक्युला अन डेभिस फ्यामिलीले ४० हजार, मेक्सिकन रेष्टुरेन्ट, युनाइटेड एफसी क्लब, ब्वाइज एफसी क्लब, टिक्युला अन डेभिस फ्यामिलीलगायतले समेत रकम संकलन गरी नेपाल पठाएका थिए । यस्तै एमालेनिकट अनेरास्ववियुका नेता अमृत राउत र उमेश खड्काको पहलमा जुटेको १ लाख ६४ हजार रुपैयाँसमेत गत साता बिरामीका परिवारलाई हस्तान्तरण गरिएको थियो। दोलखाकी प्रदेश सांसद एवं एमाले नेतृ रचना खड्काले उक्त रकम हस्तान्तरण गरेकी थिइन् ।  मदनका बाबु नारायण चरिकोटस्थित कालिञ्चोक उच्च माविका पियन छन् भने आमा मिना नाङलो पसल चलाउँछिन्। दुई महिनादेखि अस्पतालको बसाइले मिनाको आम्दानी टुटेको छ।

प्रकाशित: २३ फाल्गुन २०७४ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App