१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जंगी अड्डामा रक्षामन्त्रीलार्इ यसरी गरियो स्वागत

काठमाडौं – नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेललाई सैनिक मुख्यालय जंगी अड्डामा स्वागत गरिएको छ। सोमबार जंगी अड्डामा आयोजित एक बिशेष समारोहमा पोखरेललाई स्वागत गर्दै नेपाली सेनासम्बन्धी परिचयात्मक जानकारी गराइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।  

कार्यक्रमको शुभारम्भमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले नवनियुक्त रक्षामन्त्री पोखरेललाई नेपाली सेनाको तर्फबाट स्वागत गर्दै उनको कार्यकालमा नेपालको राष्ट्रिय सुरक्षा तथा नेपाली सेनाको समयानुकुल आधुनिकीकरण एवं सांगठनिक सुधार र पेशागत दक्षता विकासमा महत्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गरे। 

सोही अवसरमा उनले सर्वत्र, चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) आयोजना रक्षा मन्त्रालय लगायत सरोकारवाला निकायहरुको सद्भाव सदाझै प्राप्त भएमा समय सीमाभित्र पुरा हुने प्रतिबद्धता जनाए। उनले नेपाली सेना संयुक्त राष्ट्रसंघ अन्तर्गत अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहभागी भएबाट नेपालको परराष्ट्र नीतिलाई टेवा पुग्नुको साथै मोस्ट रिलायबल एण्ड क्रेडिबल ट्रोप्स कन्ट्रीब्युटिङ कन्ट्रीको रुपमा स्थापित भएको समेत बताए।

कार्यक्रमको क्रममा नवनियुक्त रक्षामन्त्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण तथा चुनौतीहरु, नेपाली सेनाको सांगठनिक संरचना, कल्याणकारी कार्यक्रमहरु तथा अपरेशनल एवं अन्य विविध गतिविधिबारे प्रस्तुतीकरण गरिएको थियो। प्रस्तुतीकरण पश्चात उक्त विविध विषयहरुमा अन्तरक्रिया भएको थियो। 

उक्त परिचायात्मक कार्यक्रममा रक्षा सचिव विनोद केसी, नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो। 

प्रकाशित: २१ फाल्गुन २०७४ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App