१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘समावेशीता सहभागिता मात्रै नभई समग्रता हो’

नगरकोट : वरिष्ठ पत्रकारले समावेशी भनेको सहभागिता मात्रै नभई समग्रता भएको बताएका छन् ।
पत्रकारिताले पनि यसैलाई आत्मसात् गर्दै समाचार उत्पादन, प्रशोधन तथा प्रसारण र प्रकाशनमा पनि समावेशीलाई व्यवहारमा ल्याउनुपर्ने उनीहरुको भनाइ छ।

नेवाः पत्रकार राष्ट्रिय दबू र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ भक्तपुरको संयुक्त संयोजनमा भएको तीनदिने नेपाली पत्रकारितामा समावेशी विषयक अन्तरक्रियात्मक अभिमुखीकरणमा उनीहरुले समाचार उत्पादनमा समावेशी भए पनि प्रशोधन गर्ने डेस्कमा समावेशी नहुँदा प्रसारण तथा प्रकाशनमा समावेशीले ठाउँ नपाएको विचार व्यक्त गरे।

कार्यक्रमका सहभागीलाई आइतबार प्रमाणपत्र वितरण गर्दै सूचना विभागका महानिर्देशक वीरबहादुर राईले संविधानले नै समानुपातिक समावेशीता सुनिश्चित गरिसकेकाले विभागले पनि त्यही अनुसार कार्य गर्दै आएको बताए।

तालीमका प्रमुख सहजकर्ता डा सुरेश आचार्यले समावेशी एउटा आन्दोलन भएर आएकाले त्यसलाई सम्बोधन गर्न सबै पक्ष तयार हुनुपर्नेमा जोड दिए।कार्यक्रममा सञ्चार विज्ञहरु डा विजय मिश्र, डा राजेश अहिराज, खिम घले र मीरा राजभण्डारीले नेपाली पत्रकारितालाई समावेशी बनाउन देखिएका समस्या र त्यसको निराकरणका उपायसँगै समावेशी पत्रकारिता के कसरी गर्नेबारे सहजीकरण गरेका थिए।

स्थानीय संयोजनकर्ता नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष ईश्वरकाजी खाइजूले समावेशीका विषयमा धेरै चर्चा भए पनि सञ्चार क्षेत्रमा यसले प्रवेश नपाएको सन्दर्भमा भक्तपुरमा उक्त कार्यक्रम गरिएको जानकारी दिए । तीन दिनसम्म चलेको तालीममा भक्तपुरका ४० जना क्रियाशील पत्रकारको सहभागिता रहेको थियो।रासस

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App