१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाईजात्राका लागि भग्नावशेष पन्छाउँदै भक्तपुरवासी

भक्तपुर- भूकम्प गएको एक वर्ष ४ महिना हुन लाग्दासमेत पन्छाउन नसकिएको भग्नावेश पन्छाउन भक्तपुरवासी आफैं जुट्न थालेका छन्। सरकारी मुख ताक्दा ताक्दा गाइजात्रा मुखैमा आइपुगेपछि नगरवासी आफैं भग्नावशेष पन्छाउन सक्रिय भएका हुन्। गाईजात्राका लागि सवै बाटाघाटा खुल्नुपर्ने भएपछि नगरबासी अहिले धमाधम  भग्नावशेष पन्छाउन व्यस्त भएका हुन्। 

घर पुननिर्माणका लागि भत्काउँंदै गरेका व्यक्तिगत घरले समेत  गल्लीगल्लीका बाटाघाटाहरु अवरुद्ध भएपछि त्यसलाई पन्छाउन नगरबासीलाई व्यस्तता बनेका छन्। उनीहरु तत्कालका लागि घर भत्काउन रोकेर भत्काइसकेको घरका भग्नावशेष पन्छाउन व्यस्त बनेका छन्।

भक्तपुर नगरपालिका भग्नावशेष व्यवस्थापन समितिका संयोजक रामेश्वर कोजूले नगरपालिकाले भूकम्प गएदेखि अहिलेसम्म निरन्तर रुपमा भग्नावशेष हटाउने काम गर्दै आएको जनाए। अहिलेसम्म पनि दैनिक रुपमा नगरपालिकाको एउटा डोजर र तीन वटा टिपर भग्नावेशष हटाउने काममा लगाइरहेको उनको दावी थियो। भग्नावशेषका कारण अवरुद्ध रहेको बाटाघाटा खोल्न नगरपालिका सक्रिय रहेको पनि उनले जनाए। पछिल्ला दिन भक्तपुर नगरपालिका वडा नं १ सूर्यमढी, भक्तपुर नगरपालिका वडा नं १४ नासमना, भक्तपुर नगरपालिका वडा नं ७ यातालगायतका ठाउँंमा काम भइरहेको उनले जानकारी दिए।

यसअघि नगरपालिकाले साँंस्कृतिक पर्व गाईजात्रा नजिक आएको र टोलटोलबाट साँंंस्कृतिक पर्वलाई अवरोध नहुने गरी बाटो चोकका भग्नावशेष नराख्न र राखेको हटाउन सार्वजनिक सूचना प्रकाशित गरी आह्वान गरेको थियो। नगरबासीले घर भत्काउँदा सडक, गल्ली बाटोमा अवरोध पुग्न गई त्यसबाट सरसफाई, खानेपानी जस्ता अत्यावश्यक सेवा र दमकल, एम्वुलेन्सलगायतका आपतकालिन सेवालाई समेत अवरोध पुगेकाले भग्नावशेष पन्छाउन नगरपालिकाले सार्वजनिक आहवान गरेको थियो। साथै नगरपालिकाले नेपाल टेलिकमलगायतका कार्यालयहरुलाई पनि गाईजात्रामा बाटाघाटामा अवरोध पुयाउन सक्ने तार पन्छाउन परिपत्र गरेको जनाइएको छ।

भूकम्पपीडित कृष्णलक्ष्मी प्रजापतिले आफूहरुका कारण गाईजात्रालाई समस्या नहोस् भनेर भग्नावशेष पन्छाउन धेरै नगरवासीलाई सक्रिय रहेको बताइन्। गाईजात्रामा नगरभरिका बाटोभरि मानिसको ठूलो भीड लाग्छ। गाईजात्राका लागि गाई परिक्रमा गर्नेको सवैतिरका बाटाभरि भीड लाग्ने हो। भूकम्पको वर्ष दिन नाघे पनि टोलका धेरै घरहरुको भग्नावशेष पन्छाउन बाँकी रहेको प्रजापतिले जनाइन्।

नगरपालिका क्षेत्रभित्र अझैसम्म धेरै भग्नावशेष पन्छाउन बाँंकी छ। नगरपालिका क्षेत्रभित्र व्यक्तिगत घरका भग्नावशेष मात्रै होइन, यहाँका सार्वजनिक भवन, मठ मन्दिरका भग्नावशेष पनि हटाउन बाँकी नै छन्। भूकम्पले जीर्ण बनाएको भक्तपुर दरवार स्क्वायरस्थित नगरपालिकाको कार्यालय भवन अझै भत्काउन बाँकी छ। नगरपालिकाको कार्यालय अहिले भूकम्प अगाडि नै बनाइसकिएको व्यासीस्थित नयाँ भवनमा सरेको छ। साथै नगरपालिका आसपास नै रहेको पाँचतल्ले मन्दिर जतिकै अग्लो फसिदेगल, लामो पाटीलगायतका सार्वजनिक सम्पदा नै भग्नावशेषका रुपमा छन्।

नगरपालिका क्षेत्रभित्र अहिले पनि भग्नावशेष हटाउनका लागि टोलटोलमा स्थानीय स्तरमा भग्नावशेष व्यवस्थापन समितिहरु छन्। स्थानीयस्तरका समितिहरुले नगरपालिकासँंग सहकार्य गरी भग्नावशेष हटाउने काम जारी राखेका छन्।

भूकम्पले धेरै क्षति गरेको जिल्लामध्ये भक्तपुर पनि एक हो। जिल्ला दैवी प्रकोप उदार समितिको तथ्यांक अनुसार भक्तपुरमा ३९ हजार दुई सय १० घरमा क्षति पुगेको थियो। भूकम्पले यहाँंका २४ हजार एक सय ७९ घरहरु पूर्णरुपमा  क्षति गरेको थियो।  जिल्लामा भूकम्पबाट तीन सय २९ जनाको मृत्यु भएको थियो।

गएको फागुनमा नगरपालिकाले नक्सा खोलेसँंगै पुनर्निर्माणको लागि एकैपटक हवातै धेरै ठाउँंमा भग्नावशेष पन्छाउन थालेपछि नगरका ठाउँठाउँका बाटा अवरुद्ध बनेका थिए। पुनर्निर्माणका लागि भत्केका घरका भग्नावशेषहरु सडकमा फाल्न ल्याएपछि सडकहरु अवरुद्ध भएका थिए।

प्रकाशित: ३ भाद्र २०७३ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App