१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘१९ नम्बर’भित्र

घनश्याम पुडासैनी
आख्यानको प्रभावकारी विधा हो, कथा । कथा छोटा हुन्छन् तर तिख्खर हुन्छन् । आख्यानका अन्य विधाले जस्तै कथाले पनि समाजका मसिना चरित्रलाई आम पाठकमाझ प्रस्तुत गरेको हुन्छ।

कथाकार अनमोलमणि नयाँ कथासंग्रह ‘१९ नम्बर’ लिएर पाठकमाझ आएका छन् । जसमा नौवटा कथा छन्, आममान्छेका समवेदना, पीडा र चित्कार छन् । यसअघि ‘नीलिमा र गाढा अँध्यारो’ कथा संग्रह ल्याएका उनको यो संग्रहले समयको एउटा कालखण्डलाई पात्र र परिवेशमार्फत देखाउन खोजेको छ।

कथाका पात्रले भोगेका व्यथा हामीले वरिपरि देखिरहेको र भोगिरहेकैजस्तो लाग्छ । कथानक, पात्र चयन कथाको तत्वगत दृष्टिले फरक–फरक स्वरूपका भए पनि घटना र परिवेशअनुसार सुहाउँदा छन् । भाषा सरल छ । कथाले देश र देश बाहिरका नेपालीकै विषय समेटेको छ । राजनीतिक, सामाजिक, शैक्षिक क्षेत्रका विकृति कथामा सबैभन्दा बढी आएको छ।

पहिलो तथा शीर्ष कथा हो, १९ नम्बर । यसमा एक मध्यम वर्गीय परिवारको पात्र छ, रोहितकुमार ठकुरी । कथाकारले त्यही पात्र रोहित कुमारमार्पmत नेपालको विद्यालय तथा विश्वविद्यालयको पढाइको अवस्था, भाषाको औपनिवेशले सामान्य व्यक्तिको जीवनमा पारेको गम्भीर प्रभावलाई कठोर प्रहार गरेका छन् । यसले ग्रामीण परिवेशमा सामुदायिक विद्यालय पढेर आएकालाई आफ्नो विगतको अनुभव मात्रै गराउँदैन, अंग्रेजीले दिएको सास्तीलाई पनि फेरि एकपल्ट सम्झाउँछ ।

केही वर्णविन्यासगत त्रुटिबाहेक कथा पढ्दा पट्यार लाग्ने खालका छैनन् । उनले भनेअनुसार उनले आफ्ना छेउछाउका केही पात्रमाथि कथा लेखका हुन्, कथा बोकेर हिँडेका सयौँ हजारौँ पात्र यसरी कथामा आउन बाँकी नै छन् ।

सबै विषयमा अब्बल भएर पनि शिक्षाशास्त्रको स्नातक तहको अंग्रेजीमा पटकपटक फेल हुँदा रोहितलाई हेडमास्टर बनाउने उसको बाउको सपना कसरी तुहियो र अंग्रेजी फेल भएकै कारण रोहितको जीवन कसरी अन्धकारमा धकेलियो भन्ने व्याख्या कथामा सुन्दर ढंगले गरिएको छ । अंग्रेजी नजानेर हीनताबोध गर्ने नेपाली विद्यार्थी प्रशस्तै छन् । कथामा रोहित कुमारले प्रोफेसरलाई लेखेको अन्तिम पत्रमा भन्छ, ‘अंग्रेजीको परीक्षामा थुप्रै ठाउँमा फुलस्टप दिएको थिएँ, प्रोफेसर यो पत्रमा अन्तिम पटक फुलस्टप दिँदैछु र जीवनको यात्रालाई नै पूर्णविराम दिँदै छु ।’

‘जूनमा आमा’ कथाले जीवनमा आमाको महत्व र योगदानको मात्रै चर्चा गरेको छैन, नेपाली समाजमा बहुविवाहले एउटी महिलालाई कुन तहसम्म दुत्कार्छ भन्ने उदाहरण नै प्रस्तुत गरेको छ । आमनेपाली महिलामाथिको ज्यादतीलाई कथाले सूक्ष्म तरिकाले वर्णन गरेको छ । एउटी महिलाले सौता ल्याउने श्रीमान्का विरुद्ध बोल्दा आमा गाउँले र अरु मानिसले कसरी असहयोग गरेर उसलाई एक्लो बनाउँछन् भन्ने कथाले देखाउँछ । यो नारी पीडाको कथा हो । प्रथम पुरुष शैलीमा लेखिएको यो कथाले आमाको गरिमालाई प्रकाश पार्न सफल छ।

‘नुरप्रताप किन अमेरिका गए ?’ कथा पढ्न रमाइलो छ । वामपन्थी विचार भएको, इमानदार अधबैँसे सहरीया मध्यम वर्गीय सरकारी जागिरेको जीवनमार्फत समाजले कसरी व्यक्तिबारे चासो लिएर समय खर्चिन्छ भन्ने देखाउन खोजिएको छ । यो कथा नेपालीमा बढ्दो निराशा र विदेश मोहले जेलिएको मानसिकताको सग्लो चित्र हो।

नेपालले एक बेला १७ घन्टासम्मको लोडसेडिङ भोग्यो । बिजुली नहुँदाका पनि दुःखका पाटा कम थिएनन् भन्ने भावको अर्को कथा हो, ‘अँध्यारो’ । यसले लोडसेडिङलाई व्यंग्य गरेको छ नै, सँगै उज्यालोको पक्षमा वकालत पनि गरेको छ । उज्यालोलाई खुसी र स्वतन्त्रताको रूपमा कथाले व्याख्या गरेको छ । पछिल्लो समय प्रविधिको प्रभावले नाता, सम्बन्धहरूमा घट्दो आत्मीयता, प्रेम, अपनत्वलाई लोडसेडिङले कसरी कम ग¥यो भन्ने फेन्टासी कथामा छ।

‘एउटा अर्को गुलाब’ शीर्षकको कथा प्रयोगपरक छ । एउटा पात्रलाई फरक–फरक भूमिकामा प्रस्तुत गरिएको कथामा सामाजिक द्वन्द्वका फरक चरित्र देख्न सकिन्छ । प्रेमको केन्द्रमा लेखिएजस्तो लागे पनि खासमा समाजमा लामो समय चलेको युद्ध र हिंसाको प्रभावलाई प्रयोगात्मक शैलीमा प्रस्तुत गरिएको छ।

‘कन्टेनरमा रातो डायरी’ र ‘स्खलन’ शीर्षकका कथा दशवर्षे माओवादी युद्धका विषयमा छन् । ‘कन्टेनरमा रातो डायरी’ले छापामारको कथा भनेको छ । संसार बदल्न हिँडेको एउटा युवा आफूले मानेको सिद्धान्तसित हारेर, आफैँसित हारेर, देशमा श्रम गर्ने अवसर समेत नपाएर कसरी सस्तो श्रमका लागि बिदेसिन बाध्य भएको छ भन्ने चित्रण यो कथामा छ । पात्र मानबहादुरमार्फत यसले युद्धका घाउलाई प्रस्तुत गरेको छ । यसमा राज्य र माओवादी दुवै पक्षका ज्यादति आएका छन्।

‘स्खलन’ कथा चाहिँ यौटा क्रान्तिकारी चरित्र भएको मानबहादुरजस्तै समाज बदल्न हिँडेको व्यक्ति कसरी भूमिगत कालदेखि नै आफ्नो सिद्धान्तप्रति स्खलित थियो भन्ने कुरा डान्सबारकी नर्तकीमार्फत देखाइएको छ । एउटा योद्धाको पूर्वकर्तूतको फेहरिस्त हो भने पनि हुन्छ, स्खलन कथा।

सिद्धान्त र विचारमा स्खलितहरूले कसरी हामीमाथि शासन गरिरहेका छन् भन्ने आसय कथामा छ ।पटकपटकका राजनीतिक परिवर्तनले पनि बदल्न नसकेको राजनीतिक संस्कारमाथिको व्यंग्य हो, इल्युजन कथा । राज्य सञ्चालकहरूको निकम्मा चालले महान् आन्दोलन र बलिदान खेर गएको, नेताको मात्रै नभई आममान्छेको मानसिकता र व्यवहार परिवर्तन नभएको विषय कथाले निबन्धात्मक र दार्शनिक शैलीमा व्याख्या गरेको छ।

क्यानडा बस्ने निवृत्त ब्रिटिस लाहुरे विशाल राउत र सिर्जना राउत दम्पतीको जीवनवृत्तबाट विदेश बस्ने नेपालीको समवेदना छामिएको कथा हो, अस्तु कथा । जति नै सुखसित बसे पनि अन्ततः आफू जन्मेको माटोजतिको आत्मीय संसारको अरु माटोमा पाइँदैन भन्ने कथाको मूलभाव छ ।

आफन्तबाट कोसौँ पर रहेकाहरू मृत्युपछि पनि आफन्तसम्म पुग्न अप्ठेरो छ भन्ने विषयलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।हरेक कथामा पात्रको अनावश्यक भीड छैन । पूर्वघटनाको स्मरणमा कथा बुनिएका छन् । कथाहरू दुःखान्त र वियोगात्मक छन् । जटिलता र समस्याले ग्रस्त पात्रको प्रधानता छ । कथाले सामाजिक जीवनलाई राम्ररी समेट्न सकेका छन् । कथा पढेपछि पाठकले एउटा समय अनुभव गर्न सक्नुपर्छ । कथालाई सामाजिक जीवनको ढुकढुकी मान्ने हो भने ‘१९ नम्बर’ त्यसमा सफल छ।

कथाको कमजोरी भनेको पात्रलाई दुःखान्तमा डुलाइराख्नु, आत्मग्लानिलाई साहसमा होइन, आत्महत्यामा परिणत गराउनु हो । साहित्यले व्यक्तिलाई साहसी निडर र आत्मरक्षक पनि बनाउन सक्नुपर्छ । त्यो कुरा संग्रहमा छैन । बनिबनाऊभन्दा पनि पात्रलाई उनले जस्तो परिवेश हो, त्यस्तैमा छाडिदिएका छन् । लेखकका सबै पुस्तक उही स्तरका हुँदैनन् । त्यसैले होला पाठकले ‘नीलिमा र गाढा अँध्यारो’कै स्तरमा यो संग्रहको स्वाद नपाउन सक्छन्।

कथाबारे उनले भनेका छन्, ‘यस धर्तीको हरेक व्यक्ति कथाहरूको मूलकथा हो । संसारका हरेक व्यक्तिसित नलेखिएका हजारौँ कथा सयपत्री फूलको थुंगाजस्तो पत्रपत्र भएर बसेका छन् ।’ उनले हजारौँमध्ये केही पात्र टिपेका छन् । जतिलाई टिपेका छन्, न्याय गरेका छन् । केही वर्णविन्यासगत त्रुटिबाहेक कथा पढ्दा पट्यार लाग्ने खालका छैनन् । उनले भनेअनुसार उनले आफ्ना छेउछाउका केही पात्रमाथि कथा लेखका हुन्, कथा बोकेर हिँडेका सयौँ हजारौँ पात्र यसरी कथामा आउन बाँकी नै छन्।

पुस्तक : १९ नम्बर (कथासंग्रह)
कथाकार : अनमोलमणि
प्रकाशक ; सांग्रिला बुक्स, काठमाडौं
पृष्ठ ;१६०+४
मूल्य रु. : २७५/–

प्रकाशित: १९ फाल्गुन २०७४ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App