१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

उत्सवमा केक

हिजोआज विभिन्न चाडपर्व, रमाइलो र खुसीको पल केक काटेर मनाइने चलन सहरबजार क्षेत्रमा बढेको छ । अचेल पहिलेजस्तो केक किन्न पसल चहारिरहनुपर्दैन, एक फोनकै भरमा आफूले चाहेजस्तो डिजाइन र स्वादको केक घरमै आइपुग्छ । हिजोआज धेरैले अनलाइनमार्फत केक अर्डर गरेर आफ्नालाई खुसी बाँड्ने गरेका छन् । व्यस्त जीवनशैलीका कारण समय अभाव हुनेले अनलाइनमार्फत केक अर्डर गर्ने गर्छन्। 

कोटेश्वरमा रहेको केकमान्डुले विगत तीन वर्षदेखि अनलाइन केक सेवा दिँदै आएको छ । जन्मदिनमा मात्र नभएर अन्य कार्यक्रममा पनि केकको माग बढ्दो रहेको केकमान्डुका सञ्चालक गोविन्द चौलागाईं बताउँछन् । उनी भन्छन्, ‘केक त अनिवार्य नै भएको छ । जन्मदिन, आमाबुबाको मुख हेर्ने दिन, नयाँ वर्ष, प्रेम दिवसलगायत अवसरमा केक किन्ने गर्छन् ।’ 
ब्ल्याक फरेस्ट, ह्वाइट फरेस्ट, पाइन एप्पल, स्ट्रबेरी, चकलेट लगायत ४० फ्लेवरका केक उपलब्ध रहेको उनी बताउँछन्।

‘एमआर डट केक’ सेवा सुरु भएको दुई वर्ष भयो । सुरुवाती चरणभन्दा अहिले केकको राम्रो माग रहेको एमआर डट केकका सञ्चालक विक्रम श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘समय निकै परिवर्तन भएको छ । हरेक खुसी र उत्सव मोडर्न ढंगले मनाउने चलन बढ्दो छ।’ 

सुरुमा जन्मदिनमा मात्रै केकको प्रयोग गरिन्थ्यो । हिजोआज विभिन्न उत्सव मनाउन पनि केकको प्रयोग गरिन्छ । बेबीसावरदेखि गुन्यूचोली, पास्नीमा पनि केक काट्ने प्रचलन बढ्दो छ। 

विभिन्न डिजाइनका केकदेखि अण्डारहित केक उपलब्ध रहेको उनले बताए । ‘हामीले अर्डरअनुसारका केक काठमाडौंभित्र डेलिभर गर्छौं,’ उनले भने । अस्ट्रेलिया, अमेरिका, जापान, युएई, कतारलगायत देशमा बसोबास गर्ने नेपालीले यहाँका साथी र आफन्तका लागि सरप्राइज केक अर्डर गरिदिने गरेको उनले बताए । ‘साथीभाइ, आफन्तको खुसीमा समावेश हुन नपाउनेले उपहारस्वरूप केक पठाउने गर्छन्,’ उनले भने, ‘विदेशमा बस्ने नेपालीको अनलाइन अर्डर बढी आउँछ ।’ सुरुमा जन्मदिनमा मात्रै केकको प्रयोग गरिन्थ्यो । हिजोआज विभिन्न उत्सव मनाउन पनि केकको प्रयोग गरिन्छ । बेबीसावरदेखि गुन्यूचोली, पास्नीमा पनि केक काट्ने प्रचलन निकै बढेको श्रेष्ठले बताए । अहिले बच्चा जन्मनुअघिको महिना  केक काटेर मनाउन लागिएको उनको भनाइ छ। 

एमआर डट केकले आफैँले केक नबनाएर बेकरीबाट उपलब्ध गराउँदै आएको श्रेष्ठले बताए।
दिनेशकुमार अर्याल एमआर डट केकमा कस्टुमर केयरमा काम गर्छन् । उनका अनुसार केक अर्डर विगतको तुलनामा अहिले निकै बढ्दो छ । ‘अचेल ब्ल्याक फरेस्ट र ह्वाइट फरेस्टको माग धेरै छ,’ उनले भने, ‘मानिसलाई केकको फ्लेवरबारे राम्रोसँग जानकारी छैन, सबैले सुनेको भरमा केक अर्डर गर्छन् ।’ आजभोलि फलफूलको केक निकै प्रचलनमा रहेको उनले बताए । ‘स्वास्थ्यका दृष्टिले बच्चादेखि वृद्धसम्मलाई राम्रो हुने भएर नै फ्रुट्स केकको राम्रो माग छ,’ उनले भने। 

युजी केक सेवाले विभिन्न डिजाइनका केक ग्राहकको घरसम्म पुर्‍याउने गर्छ । युजी केकका म्यानेजर हरिकृष्ण तिमल्सिना भन्छन्, ‘अरु समय केकको माग गर्नेको कमी त हुँदैन, तर विशेषगरी बिहेको सिजनमा केकको माग बढी हुन्छ।’

युजी केक सञ्चालन भएको ६ वर्षभन्दा बढी भइसकेको छ । यसले केक आफैँ उत्पादन गर्छ । सामान्यतः युजी केकको मूल्य सात सय ५० रुपैयाँबाट सुरु हुने उनले बताए । ‘केकको डिजाइनअनुसार मूल्य निर्धारण गरेका छौँ,’ उनले भने, ‘केक विभिन्न स्वाद र डिजाइनका भए पनि ब्ल्याक र ह्वाइट फरेस्टको माग बढ्दो छ । यसको मूल्य अरुभन्दा कम छ ।

केही प्रचलित केक
फोटो प्रिन्टेड केक

केकमाथि नै सम्बन्धित व्यक्तिको फोटो प्रिन्ट गरिन्छ । जस्तो : बुबाआमाको मुख हेर्ने दिन बुबाआमाकै तस्बिर आकृतिको केक बनाउन सकिन्छ । त्यस्तै, साथीलाई जन्मदिन, बिहे वर्षगाँठ, प्रेम गर्ने जोडीले पनि निश्चित समय पुगेको अवसरमा यस्तो प्रकारको केक अर्डर गर्ने हरिकृष्ण तिमल्सिना बताउँछन्।

‘पछिल्लो समय प्रिन्ट केक अर्डर गर्नेहरु पनि बढेका छन्,’ उनले भने, ‘यसको मूल्य केकको साइजअनुसार हुन्छ। यसको सामान्यत नौ सय ५० रुपैयाँदेखि सुरु हुन्छ।’ 

मिक्स फ्रुट्स केक
विभिन्न फलफूल सजाएर बनाइएको केक नै मिक्स फ्रुट्स के हो । जन्मदिन, बिदाइ, स्वागतलगायत कार्यक्रममा यो केकको प्रयोग गरिन्छ । स्वास्थ्यलाई ध्यान दिनेहरुले यस्तो केक अर्डर गर्ने गर्छन्।

यसमा सिजन अनुसारको फलफूल केकमा प्रयोग गरिन्छ । विशेषगरी स्ट्रबेरी, ब्लु बेरी, चेरी, आँप, स्याउ लगायत फलफूल बढी चल्तीमा छ। 

प्रोफेसनल केक
व्यक्तिको प्रोफेसन अनुसारको चिह्न प्रयोग गरेर पनि केक बनाइन्छ । नयाँ व्यवसाय सुरु गरेका, वा कुनै कम्पनी वा क्षेत्रमा जागिर सुरु गरेका व्यक्तिलाई यस्तो केक उपहार दिने गरिन्छ । पछिल्लो समय यस्तो केकको पनि माग बढेको युजी केकका म्यानेजर तिमल्सिनाले बताए। ‘विशेषगरी डाक्टर, ब्युटिसियन, नर्स, खेलाडी लगायत प्रोफेसनका व्यक्तिलाई यस्तो केक उपहार दिने गर्छन्,’ उनले भने। 

चकलेट केक
चकलेट फ्लेवर केक धेरैको रोजाइमा छ । यसमा चकलेट केक, चक्लेट फिल केक, चकलेट लेअर केक रहने केकमान्डुका सञ्चालक गोविन्द चौलागाईं बताउँछन् ।

प्रकाशित: १८ फाल्गुन २०७४ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App