१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

क्लाउड फ्लायरको १२३औं डाटा सेन्टर काठमाडौंमा

काठमाडौं – विश्वको चर्चित क्लाउड कम्पनी क्लाउड फ्लायरले नेपालमा आफ्नो डाटा सेन्टर सुरू गरेको छ । बुधबार सम्पन्न एसिया प्रशान्त क्षेत्रीय प्रविधि सम्मेलनमा कम्पनीले आफ्नो १२३ औं डाटा सेन्टर काठमाडौंमा सुरु गरेको जनाएको छ।

कम्पनीले भारतपछि दक्षिण एसियामा नेपालमा डटा सेन्टर स्थापना गरेको हो । नेपालमा स्थापना गरेको डाटा सेन्टर एसियाली मुलुकमा ४२औं हो । ‘कम्पनीले सम्मेलनमै नेपालमा डाटा सेन्टर स्थापना गरेको घोषणा गरेको छ,’ सम्मेलनको स्थानीय आयोजक इन्टरनेट एक्सचेन्ज नेपाल (एनपिआइएक्स) का अध्यक्ष गौरभराज उपाध्ययले भने, ‘यसले नेपालको प्रविधि क्षेत्रलाई राम्रो हुनेछ ।’क्लाउड फ्लायर भनेको कन्टेन्ट वितरण गर्ने एक अमेरिकी वेब कम्पनी हो।

यसले यसले कन्टेन्ट डेलिभरी नेटवर्क, डोमेन नेम सर्भर, इन्टरनेट सेक्युरिटी लगायतको सेवा दिँदै आएको छ । अब यी सेवा काठमाडौं डाटा सेन्टरबाटै उपलब्ध हुने भएपछि इन्टरनेट ब्राउजिङ थप छरितो हुने विश्वास लिइएको छ । उसको सर्भर छिटो हुनुका साथै ‘इन्टरनेट ब्यान्डविथ’का लागि बिदेसिने लागत कम हुने उपाध्यायको भनाइ छ ।कम्पनीले अहिलेसम्म नेपालको स्थानीय प्रतिनिधि चयन गरिनसकेको र वल्र्डलिंकलाई लिन छलफल भइरहेको बताइएको छ।

कम्पनीले आफ्नो ब्लगमा एसिया प्यासिफिक इन्टरनेट समिट एप्रिकोट २०१८ को अवसरमा काठमाडौंमा डाटा सेन्टर सुरु गरेको घोषणा गरेको बताउन पाउँदा खुसी लागेको बताएको छ । क्लाउड फ्लायरका अनुसार विश्वका ७० लाख वेबसाइटले उसको सेवा लिइरहेका छन्।  

नेपालमा पहिलोपटक भएको १० दिन लामो एसिया प्रशान्त क्षेत्रीय प्रविधिसम्बन्धी २३औं सम्मेलन बुधबार सम्पन्न भएको छ । सम्मेलनमा ६५ देशबाट देशबाट हजारभन्दा धेरै इन्टरनेट तथा नेटवर्क इन्जिनियर, प्रविधिसम्बन्धी नीति–निर्माता र विश्वका चर्चित प्रविधि कम्पनी गुगल, फेसबुक, अमाजोन लगायतको सहभागिता थियो । सम्मेलनमा अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, चीन, सिंगापुर, अमेरिका, बेलायत, दक्षिण अफ्रिका, उरुग्वे, दक्षिण अमेरिका लगायत देशहरूबाट सहभागिता थियो ।
सम्मेलनमा पछिल्लो समय इन्टरनेट तथा नेटवर्क प्रविधिमा आएका परिवर्तन र भविष्यको प्रविधिको विषयमा बहस भएको थियो।

नेपालमा पहिलोपटक भएको इन्टरनेट सम्बन्धी सबैभन्दा ठूलो सम्मेलनबाट नेपालको प्रविधि तथा पर्यटन क्षेत्रमा सहयोग पुग्ने सहभागीले बताए । विश्वका झन्डै ६५ देशबाट प्राविधिक विज्ञ काठमाडौं आउँदा विदेशीले नेपालको प्रविधि लगायत पर्यटन क्षेत्रको बारेमा बुझ्न पाएका छन् । त्यसैगरी, नपाली इन्टरनेट टेक्निसियन तथा यससँग सम्बन्धित व्यक्तिले इन्टरनेटको विकास र यसको थप सम्भावनाबारे बुझ्न पाएको उपाध्यायले बताए।

यस सम्मेलनबाट सबैभन्दा धेरै फाइदा इन्टरनेट टेक्निसियन तथा यससँग सम्बन्धित व्यवसायी र विद्यार्थीलाई पुगेको बताइन्छ । यस स्तरको तालिम तथा अनुभव लिन विदेश  गएर महँगो शुल्क तिर्नुपर्ने बाध्यता नेपाली इन्टरनेट टेक्निसियनलाई थियो । ‘सस्तो र सहज रुपमा नेपाली इन्टरनेट टेक्निसियनले तालिम र अनुभव लिन पाएका छन्,’ उपाध्यायले भने।  

एकैपटक विश्वका विज्ञहरूको सहभागिताले नेपालको पर्यटन क्षेत्रमा पनि सकारात्मक सन्देश जाने आयोजकको विश्वास छ । सम्मेलनका क्रममा विभिन्न संस्थाका बैठकहरू पनि सम्पन्न भएका छन् ।  
एसिया प्रशान्त इन्टरनेट संघ (एपिआइए) र एसिया प्रशान्त नेटवर्क सूचना केन्द्र (एपिनिक) ले इन्टरनेट एक्सचेन्ज नेपाल (एनपिआइएक्स) सँगको सहकार्यमा सम्मेलन आयोजना गरेका हुन्।

प्रकाशित: १८ फाल्गुन २०७४ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App