१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संघीय संसद् परिसरमा अधिकृतको कार्यालय स्थापना

काठमाडौं – फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। 

नयाँ संविधानअनुसार हुने राष्ट्रपति निर्वाचनका लागि आयोगले संसद् भवन परिसरमै बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । यसअघि फागुन १० गते बसेको आयोगको बैठकले फागुन २९ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्ने निर्णय गरेको थियो भने फागुन १५ गतेको बैठकले पाटन उच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको थियो। 

निर्वाचन आयुक्त नरेन्द्र दाहालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि संसद् भवन परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताए । ‘नयाँ संविधान अनुसार राष्ट्रपति निर्वाचनका लागि बिहीबार संसद् भवन बानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ,’ आयुक्त दाहालले नागरिकसँग भने ‘अब राष्ट्रपति निर्वाचनको तयारी तीव्र रूपमा अघि बढ्छ । २३ गते राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी दर्ता हुन्छ ।’
यसअघि संसद्को बहुमतबाट राष्ट्रपति चुनिने भए पनि संविधानको नयाँ व्यवस्थाअनुसार यसपालीदेखि आयोगलेनै राष्ट्रपति निर्वाचन गराउन लागेको हो । राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका सदस्यले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ। 

राष्ट्रपति निर्वाचनका लागि आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २१ गते सोमबार मतदाता नामावली प्रकाशित गर्नेछ । सोही दिन मतदाता नामावलीमा छुट नाम समावेश गर्न तथा विवरण सच्याउन दरखास्त दिने एवं मतदाता नामावलीमाथि दाबी विरोधको उजुरी दिने समय तोकेको छ । मंगलबार मतदाताको नामावलीमा परेको उजुरी उपर छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्नेछ । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारीका लागि भने बुधबार बिहान १० बजेदेखि २ बजेसम्मको समयसीमा ताकेको छ । सोही दिन आयोगले मनोनयन भएको उम्मेदवारको सूची प्रकाशन गर्ने र दावी बिरोधका लागि उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ । फागुन २४ गते बिहीबार उजुरीमाथि जाँचबुझ गर्ने, मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्नेछ । आयोगले फागुन २९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ । मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि अपराह्न ४ बजेपछि मतगणना कार्य सुरु हुने आयोगले जनाएको छ । मतगणना सम्पन्न भएलगत्ते निर्वाचन परिणाम घोषणा गरिने आयोगले जनाएको छ । तर कुनै उम्मेदवारले प्राप्त गरेको मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत नभएको कारण राष्ट्रपति तथा उपराष्ट्रपतिको पुनः मतदान गराउनुपर्ने अवस्थामा निर्वाचन अधिकृतले अर्को मिति तोकी पुनः मतदान गराउने व्यवस्था छ । राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसद मतदाता रहने संवैधानिक व्यवस्था छ। 

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गए पनि दलहरूबीचको आन्तरिक विवादका कारण उम्मेदवार को–को बन्छन् भन्ने अझै टुंगो छैन । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा वाम गठबन्धनको बहुमत रहेको र पहिलो दल एमालेले राष्ट्रपति पाउने भनिए पनि पार्टीभित्रको आन्तरिक किचलोका कारण एमालेले समेत उम्मेदवार तय गर्न सकेको छैन।

प्रकाशित: १८ फाल्गुन २०७४ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App