१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पाँचौं नुवाकोट महोत्सव सुरु

पाँचौं नुवाकोट महोत्सव उदघाटन समारोह । तस्बिर : नागरिक

नुवाकोट– ‘समृद्ध नुवाकोट, हाम्रो अठोट’ नारासहित पाँचौं नुवाकोट महोत्सव बुधबार सुरु भएको छ । नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव २६ गतेसम्म चल्नेछ । कृषि उब्जनीको बिक्री एवं कला, संस्कृति, पर्यटन तथा धार्मिकस्थलको प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा दुई सय ७५ स्टल राखिएका छन्।

कृषि, पशु, हस्तकला तथा घरेलु उत्पादनको बिक्री एवं प्रदर्शनीका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए । ‘महोत्सव ३ नम्बर प्रदेशस्तरीय हो । त्रिशूलीको कान्छी बदाम, शिखरबेसीको चामल, ककनीको ट्राउट माछा र स्ट्रबेरी, किस्पाङको भुइँस्याउको प्रदर्शनी तथा बिक्रीको समेत व्यवस्था मिलाइएको छ,’ कार्कीले भने, ‘नाफाभन्दा पनि सेवामूलक र जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउन महोत्सव केन्द्रित छ।’

महोत्सव उदघाटनको दिन दर्शकलाई प्रवेश निःशुल्क थियो । अन्य दिन विद्यार्थीका लागि ३५ रूपैयाँ र सर्वसाधारणका लागि ६५ रूपैयाँ पर्नेछ । अपांगता भएका व्यक्ति, अशक्त, ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था रहेको संघका प्रवक्ता सन्तोष उप्रेतीले बताए । उनका अनुसार महोत्सवमा दर्शक तान्न जिल्लाको सांस्कृतिक र धार्मिक स्थलको सम्बद्र्धन गराउन गोरुजुधाइ कार्यक्रमलाई पनि स्थान दिइने छ । जिल्लाको महत्वपूर्ण ठाउँ र गणेश हिमाल हुँदै गोसाइँकुण्डसम्म हेलिकोप्टर मार्फत् भ्रमण गराइन्छ ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेशी सडक मर्मत तथा स्तरोन्नति गर्न दैनिक बिहान ११ देखि साँझ ५ बजेसम्म सवारीसाधन बन्द हुँदै आएकोमा महोत्सव अवधिभर सडक खुला रहने भएको छ ।
बाख्रा–बोका प्रदर्शनी
महोत्सवमा पहिलो राष्ट्रिय बोका, बाख्रा एवं खसी प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीले बाख्रापालन व्यावसायीकरण गर्न सहयोग पुग्ने आयोजकको दाबी छ ।बाख्रा खोर निर्माण, दाना, घाँस, उपचार, नश्ल सुधारसँगै बजारीकरणबारे महोत्सवमा सहभागी किसानलाई जानकारी दिइरहेको केन्द्रीय अध्यक्ष श्यामकुमार पोखरेलले बताएका छन् । प्रदर्शनीमा बाख्रा, बोका, खसी, च्यांग्रामध्येबाट उत्कृष्टलाई सम्मान र पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।  ‘मासुमा आत्मनिर्भर नेपाल कृषकको शान, बाख्रा व्यावसायीकरणका लागि राष्ट्रिय अभियान’ नारा सहित महोत्सवमा बाख्रा–बोका प्रदर्शनी गरिएको हो । प्रदर्शनी महोत्सव अवधिभर हुने आयोजकले जनाएको छ ।

 

 


 

 

प्रकाशित: १७ फाल्गुन २०७४ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App