१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पदकधारीले भनिन्- म समलिंगी हुँ

रोम- ओपन वाटर पौडी स्टार राचेले ब्रुनीले बुधबार आफू समलिंगी भएको खुला घोषणा गरेकी छन्। यसरी आफू समलिंगी भएको सार्वजनिक घोषणा गर्ने उनी पहिलो इटालियन खेलाडी हुन्। रियो ओलम्पिकअन्तर्गत सोमबार १० किलोमिटर म्याराथन पौडीमा रजत पदक जितेकी ब्रुनीले पदक आफ्नो परिवार, प्रशिक्षक र प्रेमिका डिलेटा फाइनाप्रति समर्पित गरिन्।

इटालियन सञ्चारमाध्यम र समलिंगी अधिकार अभियन्ताहरूले ब्रुनीको यो घोषणा अन्य पश्चिमा देशहरूको तुलनामा समलिंगी अधिकारमा उदार देशका लागि कोसेढुंगा भएको बताएका छन्।

ला रिपब्लिकाले ब्रुनी आफूलाई समलिंगी भएको सार्वजनिक घोषणा गर्ने पहिलो इटालियन खेलाडी भए पनि अन्य खेलाडीले पनि आफ्ना निकट मित्र तथा परिवारसँग आफ्नो लैंगिक अवस्था स्पष्ट पारिसकेको हुनसक्ने जनाएको छ। 'कतिपय खेलाडीले चर्चामा आउन नचाहेर आफू निकटहरूसँग मात्र बताएको पनि हुनसक्छ,' उक्त पत्रिकाले जनाएको छ।

२५ वर्षे ब्रुनीले पनि आफ्नो भनाइ कुनै पूर्वयोजनाअनुसार नआएको बताएकी छिन्। 'मैले मेरो यौनजन्य क्रियाकलापलाई सधैँ प्राकृतिक रूपमा स्विकारेकी छु। त्यसमा मलाई कुनै आश्चर्य छैन,' ला रिपब्लिकाले ब्रुनीलाई उद्धृत गर्दै छापेको छ, 'यसअघि मलाई आफ्नो पहिचान सार्वजनिक गर्नुपर्ने कुनै आवश्यकता परेको थिएन। मेरा साथीहरू, परिवार, पौडीका टिम सहयात्रीहरू सबैलाई म समलिंगी भएको कुरा थाहा थियो। बजारमा पोस्टर लगाउनुपर्ने कुनै आवश्यकता थिएन।'

समलिंगी अधिकारमा काम गर्ने इटालीको सबैभन्दा ठूलो समूह आर्किगेका प्रमुख ग्याब्रिअल पियाजोनीले प्रेमिकालाई ब्रुनीले सन्देश दिनु आफूहरूको अभियानका लागि ठूलो उपलब्धि भएको बताए। 'खेलकुदजगत र सञ्चार क्षेत्रको चासोका कारण यो हाम्रा लागि धेरै महत्वपूर्ण रह्यो,' उनले भने, 'पछिल्ला धेरै वर्षदेखिको संघर्षले अहिले फल दिन थालेको छ।'

ब्रुनीको कदमबाट देशको सबैभन्दा लोकप्रिय खेल फुटबलमा पनि खेलाडीलाई बाहिर आउन प्रेरणा मिल्ने पियाजोनीले बताए। 'इटालियन फुटबलमा समलिंगी छैनन् भन्ने कुरा विश्वसनीय छैन। अबको कदम फुटबलमा पनि डरको पर्खाल भत्काउनुपर्छ। फुटबलमा त्यो सफलता पाउन सकियो भने त्यसले धेरै ठूलो अर्थ राख्छ। दसौं लाख बालबालिका फुटबल खेल्छन्। फुटबलबाटै यो अभियानलाई सहयोग पुग्यो भने समावेशी वातावरण निर्माणका लागि ठूलो योगदान हुनेछ,' उनले भने।

प्रकाशित: २ भाद्र २०७३ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App