१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सीप र रोजगारीका कुरा

अर्को मुलुकमा गएर हेर्‍यो पूर्वाधार पर्याप्त छ, सुशासन छ, शान्तिसुरक्षा छ अनि मुलुकमा फर्केर हेर्दा निराशाजनक अवस्था देखापर्छ । प्रत्येक पटकको सरकारले प्राविधिक शिक्षा, सीप विकासका कुरा गर्छन् । तर कार्यान्वयन कता हो कता टाढाको विषय बन्छ । यस्तै नयाँ निर्णय भएको छ । सरकारले सीप नसिकेका नेपालीलाई विदेशमा रोजगारीका लागि अनुमति नदिने नीति अवलम्बन गर्ने बताएको छ । यसो हेर्दा किन थप झन्झट दिन लागेको होला भन्ने लाग्छ तर विश्वबजारमा सीप बिक्ने र जसले सीप जानेको छ उसको आम्दानी अपेक्षाकृत राम्रो देखिएको छ, त्यसैले सकेसम्म सीप सिकाएरै पठाऊँ । 

नेपालको अर्थतन्त्रमा विदेशी रोजगारीमा जानेको आम्दानीले राम्रो भूमिका खेलेको छ । अर्थतन्त्रको १८ प्रतिशत अंश विप्रेषणले लिएको छ तर यता केही समयदेखि वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै गएकाले भविष्यमा विपे्रषणलाई भरपर्दो आधार मान्न नसकिने हुन सक्छ । त्यसो त वैदेशिक रोजगारीको विश्वव्यापी ट्रेन्ड खस्किरहेको अवस्थामा नेपाल मात्र अछुतो रहन सक्ने कुरा होइन । त्यसैले तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उल्लेख्य कमी आएको देखाउँछ । जसअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा रोजगारीका लागि जानेको संख्या गतवर्षको तुलनामा १५ हजारभन्दा कम रहेको छ । मलेसिया जानेको संख्या अघिल्लो महिना १२ हजार थियो भने माघमा ८ हजार ७ सयमा झरेको छ । तर युएई जानेको संख्या बढेको देखिन्छ ।

०५०/०५१ देखि बीस वर्षको तथ्यांक हेर्दा युनाइटेड अरब इमिरेट्स ( त्यसको एक भाग दुबई) जानेहरूको संख्या ५ लाख २७ हजार २१३ देखिएको छ र त्यसपछि पनि बढ्दो संख्यामा छ । दुबई किन आकर्षणको केन्द्र बन्यो त ? सर्वप्रथम दुबई पूर्वाधार बढ्दै गएको, व्यवस्थित र सुरक्षित क्षेत्र हो । हामी (म र नेपाल वायुसेवा निगमका वरिष्ठ अधिकृत डोलराज पाण्डेय) घुम्दै केरीफोर मलमा पुग्याैँ । त्यहाँको कस्मेटिक पसलमा पसेर नेपालीमा कुरा गर्न थाल्दा त्यहाँ काम गर्ने केटीले तपाईंहरू नेपाली हुनुहुँदो रहेछ मेरो घर पनि पुतली सडक हो भनेर कुराकानी थालिन् । उत्सुकतापूर्वक हामीले उनलाई विभिन्न प्रश्न गर्‍यौँ, उनको जवाफ थियो यहाँ हिन्दी, उर्दु र अंगे्रजी जुनसुकै भाषा जाने पनि काम चलाउन सकिन्छ । तर अरेबियनहरू स्थानीय भाषामा बोलून् भन्ने चाहन्छन् । भाषा नजान्दैमा समस्या हुने होइन, आम्दानीमा फरक पर्छ ।

यदि नेपालमा अरेबिक भाषाको सामान्य बोलीचाली मात्र सिकाएर पठाउन सके पनि सामान्यतः मासिक एक लाख रुपियाँ कमाउन सकिन्छ । त्यहाँका साहुजीहरू ३ हजार दिराम (लगभग ९० हजार नेपाली) मासिक पारिश्रमिक दिन कुनै अफ्ठेरो मान्दैनन् । अर्कोतर्फ नेपालीहरू त्यहाँ बस्दाबस्दै आफ्नै व्यवसाय पनि सञ्चालन गर्न थालेका छन् । महिलाहरूले दुबईमा अरू खाडी मुलुकमा जस्तो यौन शोषण, शारीरिक पीडा र मानसिक पीडा सहनु पर्दैन भन्ने धारणा त्यहाँ कार्यरत नेपालीले राखेका थिए । तर नेपालीहरूको बसाइँ अझै कष्टकर नै छ । दुबईको उच्च जीवन स्तरको सन्दर्भमा सामान्य नेपालीले महँगा कोठा छुट्टै भाडामा लिएर बस्न नसक्ने हुँदा एक प्रकारले गेस्टहाउसका रूपमा सामूहिक निवास बनाएर बसेका छन् । बाहिरबाट गएको व्यक्तिले उनीहरू बस्ने ठाउँमा जान खोजे पनि बाहिर भेट्ने, चिया खाने आग्रह गर्छन् बस्ने ठाउँमा लैजादैनन् । दुई पैसा कमाएर नेपाल पठाउने उद्देश्य लिएर गएका नेपाली खर्चिलो बन्न नसक्ने अवस्थामा यो मितव्ययितालाई स्वाभाविक मान्नुपर्छ । 

प्रत्येक मलहरूमा नेपाली केटाकेटी बग्रेल्ती भेटिन्छन्– बिक्रेताका रूपमा । तर सवारी चलाउनेमा भारतीय र बंगलादेशी भेटिन्छन् । उनीहरूको आम्दानी नेपालीको तुलनामा बढी छ । कुरा के भने सीप सिकेर जानेले बढी आम्दानी गर्ने कुरा दुबईमा स्पष्ट देखिन्छ ।

युएईले पेट्रोलियम कारोबारले मात्र दीर्घकालीन आर्थिक व्यवस्था गर्न गाह्रो पर्छ भनेर आफूलाई परिवर्तन गर्न थालेको छ। पर्यटकीय आधार विस्तार गरेर विश्वमा आफूलाई पर्यटकीय नगरीका रूपमा लैजाने प्रक्रिया दुबईमा थालिसकिएको छ। 
नेपाल सरकारले घरेलु कामदारका रूपमा गएका महिला शोषणमा परे भनेर स्वीकृति नदिने नीति लिएको छ । तर सबै कुरालाई एउटै तुलोमा जोखेर हुँदैन । साउदी अरेबियामा नारीको शोषण जुन मात्रामा हुने गरेको छ, त्यो दुबईमा छैन जुन कुरा त्यहाँ काम गर्ने महिलाहरू नै बताउँछन् । तर त्यहाँ सीप सिकेर जानेहरूले अझ राम्रो काम पाउँछन् । गाडी चलाउन मात्र जानेको छ भने पनि तुलनात्मक रूपमा राम्रो कमाइ हुन्थ्यो । दुबईको विकास व्यवस्थापन र व्यवहार हेरेर फर्किंदा यहाँ दिक्दारीको अनुभव हुन्छ । अर्काको बालीनाली राम्रो देखेर भित्र्याउन जानु त भएन ?

प्रकाशित: १६ फाल्गुन २०७४ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App