१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाउँ सफा गर्नेलाई फुटबल

खोटाङ– ‘सुन्दर र सफा गाउँ’ निर्माणका लागि खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीले फोहोर संकलकलाई ३० थान फुटबल वितरण गरेको छ । १५ वडा रहेको नगरपालिकाले थालेको सरसफाइ अभियान सफल पार्नका लागि वडा कार्यालय खार्मीले पाँच किलो फोहोर संकलन गर्ने संकलक÷समूहलाई एक थानका दरले ३० वटा फुटबल वितरण गरेको हो।

३० वटा फुटबल वितरण गर्दासम्ममा वडाका सबै पुराना फोहोर व्यवस्थापन भएको वडाध्यक्ष रामचन्द्र राईले बताए । वडाका बाटाघाटा, गल्ली, सार्वजनिक स्थल, सडक, विद्यालय, घरआसपासमा जथाभावी मिल्काइएका प्लास्टिकका फोहोर व्यवस्थापनका लागि वडा कार्यालयले पाँच किलो फोहोर संकलकलाई प्रोत्साहनस्वरूप फुटबल प्रदान गर्ने रणनीति अपनाएको थियो।

नसड्ने फोहोर उठाउनका लागि वडा कार्यालयले गत पुस पहिलो सातादेखि पाँच किलो फोहोर संकलकलाई फुटबल दिन थालेको हो । सिंगो नगरपालिकाभित्र सरसफाइ अभियान सुरु भएकै दिन पारेर वडा कार्यालयले पुस ५ गते फोहोर संकलन गर्न फुटबल दिने रचनात्मक रणनीति अपनाउने निर्णय गरेको थियो । ‘फोहोर संकलन गर्नेलाई ३० वटा फुटवल वितरण गर्यौं,’ वडाध्यक्ष राईले भने, ‘आगामी दिनमा नयाँ फोहोर उठाउनका लागि भने कापी, डटपेनजस्ता शैक्षिक सामग्री वितरण गर्ने तयारी गरेका छौं।’

पाँच किलो फोहोर संकलन गरेबापत एक थान फुटबल प्राप्त हुने भएपछि सबैभन्दा वडाका केटाकेटी फोहोर संकलनमा उत्रिएका थिए । बोरामा संकलन गरेर ल्याइएका फोहोर हरेक टोलमा जलाउने व्यवस्था मिलाइएको थियो । गाउँको स्वच्छता र खेलकुद विकासका लागि वडा कार्यालयको सरसफाइ उपाय प्रभावकारी देखिएको स्थानीय राजन भट्टराईले बताए । ‘पहिला हरेक घरआसपासमा जताततै प्लास्टिकका फोहोर देखिन्थ्यो,’ उनले भने, ‘फोहोर संकलन गरेबापत फुटबल दिन थालिएपछि छोटो समयमै गाउँ सफा बनेको छ।’

पुरानो फोहोर हटाइसकिएपछि पनि सरसफाइ अभियानलाई निरन्तरता दिँदै प्रत्येक घरमा फोहोर संकलन गर्ने टोकरी राख्ने व्यवस्था मिलाउने र जथाभावी फोहोर मिल्काउनमा कडाइ गर्ने तयारी गरिएको वडासचिव चित्र सुवेदीले बताए । ‘वर्षौँदेखि यत्रतत्र छरिएका प्लास्टिकका फोहोर संकलन गर्न सजिलो थिएन,’ सुवेदीले भने, ‘गाउँ सरसफाइका लागि वडावासीलाई उत्साहित बनाउन पाँच किलो फोहोर उठाएबापत एउटा फुटबल दिने अभियान चलाएका हौं ।’

प्रकाशित: १५ फाल्गुन २०७४ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App