१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सैनिक महाविद्यालयलाई उपाधि

काठमाडौं– आयोजक वीरेन्द्र सैनिक महाविद्यालय (एसएएमबी )ले आइतबार राजन मेमोरियल स्कुललाई ४६ रनले पराजित गर्दै ११औं प्रधान सेनापति अन्तरविद्यालय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।भक्तपुरस्थित एसएएमबीको क्रिकेट मैदानमा भएको खेलमा १ सय ७३ रनको लक्ष्य पछ्याएको राजन मेमोरियलले १७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय २६ रन मात्र जोड्न सक्यो।

राजन मेमोरियलका सुशन कार्कीले ७४ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । ६० बल खेलेका सुशनले ९ चौका प्रहार गरे । त्यस्तै अनुप नेपालले १५ रन जोडे । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।एसएएमबीका विकल्प पाण्डेले ३ र क्रिस कार्कीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको एसएएमबीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७२ रनको योगफल खडा गरेको थियो।एसएएमबीका निश्चल तमाङले ७० र जबाफजंग मल्लले ४० रनको योगदान दिए । ५० बल खेलेका निश्चलले १० चौका प्रहार गर्दा ४४ बलको सामना गरेका जबाफले २ चौका प्रहार गरे । त्यस्तै आशिक खड्काले २५ रन जोडे ।राजन मेमोरियलका सुशन र निरोज खड्काले समान एक÷एक विकेट लिए।

राजन मेमोरियलका अनुप नेपाल प्रतियोगितको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा एसएएमबीका क्षितिजजंग शाही उत्कृष्ट बलर, जेम्सका आयस भट्टराई उत्कृष्ट ब्याट्सम्यान, एसएएमबीका निश्चिल तामाङ उत्कृष्ट फिल्डर तथा राजन मेमोरियलका सुजन तामाङ उदीयमान खेलाडी घोषित भए ।माघ २८ गतेबाट चलेको प्रतियोगितामा १८ विद्यालयको सहभागिता थियो ।

 

प्रकाशित: १४ फाल्गुन २०७४ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App