१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

निर्वाचन हुनेमा शेर्पाको शंका

काठमाडौं– विद्रोही पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएका कर्माछिरिङ शेर्पाले आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन समयमै हुनेमा शंका व्यक्त गरेका छन्।

निर्वाचन समिति र अपिल कमिटीको कामकारबाहीप्रति प्रश्न उठाउँदै शेर्पाले निर्वाचन तोकिएको समयमै हुनेमा शंका गरेका हुन् । ‘निर्वाचन आचारसंहिता कार्यसमिति र साधारणसभाबाट पारित हुनुपर्ने हो । जुन अहिलेसम्म भएको छैन,’ शेर्पाले थपे, ‘निर्वाचनका महत्वपूर्ण कामहरू भएका छैनन् । गर्नुपर्ने धेरै काम नगरेर, पछि विवाद सिर्जना गर्ने वा मुद्दा गरेर भए पनि आफू हार्ने अवस्था आयो भने चुनाव नगर्ने उनीहरूको षड्यन्त्र देखिन्छ । किनकि अपिल कमिटीले अहिलेसम्म नियुक्तिको पत्र पाएको छैन ।’

चैत १४ गते हुने चुनावामा शेर्पाले वरिष्ठ उपाध्यक्ष मणि कुँवरविरुद्ध प्रतिस्पर्धा गर्दै छन् । कुँवरलाई अध्यक्ष नरेन्द्र श्रेष्ठ तथा कोषाध्यक्ष विराटजंग शाही, केन्द्रीय सदस्यद्वय रमेश रायमाझी र गणेश चन्दलगायतले सहयोग गरेका छन् । शेर्पालाई यसअघि संस्थापन पक्षमा रहेका मानार्थ अध्यक्ष टासी घले, उपाध्यक्ष वीरबहादुर खड्का, सिइओ इन्द्रमान तुलाधर, प्रशिक्षक उपेन्द्रमान श्रेष्ठलगायतले सहयोग गरेका छन्। निर्वाचन कमिटीले फागुन ४ गते मनोनयन दर्ताका लागि समय सीमा तोकेको थियो । मनोनयनको समयसीमा सकिँदा १ अध्यक्षका लागि २ तथा ४ उपाध्यक्षका लागि ११, खुला सदस्यका ११ पदका लागि ३५ तथा १ महिला सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षका ११ मध्ये ६ जना शेर्पा पक्षका छन् । पद बाडफाँडमा कुरा मिलाउन नसकेको भन्ने प्रश्नमा शेर्पाले उम्मेद्वारी फिर्ता लिने समय सकिँदासम्म कुरा मिल्ने बताए।

‘निर्वाचन कमिटीले चैत ४ गतेसम्मका लागि उम्मेद्वारीमाथि दाबी विरोधको समय दिएको छ । त्यतिबेलासम्म हामी कसले उम्मेद्वारी फिर्ता लिने भनेर टुंगो लगाउँछौं,’ आफ्नो जित निश्चित रहेको दाबी गर्दै शेर्पाले थपे, ‘अबको नेतृत्व विधि र विधानअनुसार चल्नेछ ।  हामी एकलभन्दा सामूहिक नेतृत्वमा चल्नेछौं ।’
एन्फा निर्वाचनमा ७७ भोट छ । ४५ जिल्ला, १४ ‘ए’ डिभिजन लिगको क्लब, ‘बी’ डिभिजनबाट ९, ‘सी’ डिभिजनबाट ५ भोट रहेका छन् । खेलाडी, प्रशिक्षक, रेफ्री र महिला संघबाट १÷१ गरी ४ भोट छ । शेर्पाले पारदर्शिता, तल्लो तहमा फुटबलको विकास गर्ने, क्लबहरूको सुविधा बढाउने कुरा दोहर्याए ।

 

प्रकाशित: १४ फाल्गुन २०७४ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App