१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सभापति देउवाको आलोचना

नेपाली काँग्रेसकाे सानेपामा अाइतबार बसेकाे बैठकमा सभापति शेरबहादुर देउवालगायत नेताहरू । तस्बिर : नागरिक

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले गुटको मात्र भरणपोषण गरेर पार्टीलाई कमजोर बनाएको आरोप लगाएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा लिखित धारणा राख्दै पौडेलले पार्टीको आन्तरिक शक्ति अत्यन्त कमजोर भएकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय भएको बताए।

पौडेलले पार्टीका भ्रातृ संगठनहरुसमेत लथालिंग बन्न पुगेको बताएका छन् । ‘हो, तपाईंको आफ्नो गुट मजबुत बन्यो होला तर विचरा काग्रेस झन्झन् दुर्बल भयो,’ पौडेलले भने, ‘दुःख पाएका निष्ठावान् कार्यकर्ता उपेक्षित र कुण्ठित भए । सुदूरपश्चिमदेखि पूर्वसम्म तपाईंको जयजयकार गर्नेबाहेक अरु मर्माहत भएका छन्।’

टिकट वितरणमा भएको मनोमानीले गर्दा योगदान भएका, सक्षम र लोकप्रिय कार्यकर्ताले उम्मेदवार बन्न नपाएको उनले बताए । नेता पौडेलले निर्वाचन पराजको नैतिक जिम्मेवारी लिन सभापतिलाई आग्रह गरेका छन् । ‘स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचनमा यत्ति लज्जाजनक परिणामका लागि सभापतिले कुनै नैतिक जिम्मेवारी लिनुपर्दैन भने अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसकेको बुझ्नुपर्ने हुन्छ,’ उनले भने, ‘केन्द्र र सातै प्रदेशमा कांग्रेसको भूमिका प्रतिपक्षको भएको छ ।’

स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचनमा लज्जाजनक परिणामका लागि सभापतिले कुनै नैतिक जिम्मेवारी लिनु पर्दैन भने अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसकेको बुझ्नुपर्ने हुन्छ ।
रामचन्द्र पौडेल

दोहर्‍याईतेहर्‍याई पद ओगट्ने काममा नलाग्न आग्रह गर्दै पौडेलले संसदीय दलको नेता अरु कसैलाई बन्न पनि भनेका छन् । ‘आफ्नो स्वार्थका लागि पार्टी र प्रजातन्त्रलाई जोखिममा राख्ने हैन, पार्टी, प्रजातन्त्र र राष्ट्रका लागि आफूलाई जोखिममा राख्ने नै निष्ठावान् व्यक्ति हो,’ उनले भने, ‘केन्द्रीय समितिका निर्णयलाई उपहास तुल्याउने र उल्ट्याउने काम बारम्बार भएको छ । अनि कसरी पार्टीमा संस्थागत विकास हुन्छ ?’

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले निर्वाचन पराजयको कारण वाम गठबन्धन मात्र नभएको दाबी गरेका छन् । युवा केन्द्रीय सदस्यहरुले सुरु गरेको ‘सशक्त विचार र सुदृढ संगठन निर्माण अभियान’लाई पार्टीकै अजेन्डा बनाउन जोशीले बैठकमा प्रस्ताव पेस गरेका छन् । जोशीले हरेक आन्दोलनको नेतृत्व गरेको कांग्रेसलाई जनताले किन पत्याएनन् भन्ने प्रश्न गरेका छन्।

अख्तियार प्रमुख, प्रधानन्यायाधीश, राजदूत नियुक्ति जस्ता विषयमा जनतासमक्ष स्पष्ट रुपमा प्रस्तुत हुन नसक्नुलाई पार्टी पराजयको कारण भएको जोशीले बताए । उनले विपक्षीको रणनीति पहिचान गर्न नसक्नु र भ्रमको सामना गर्न नसक्नु नेतृत्वको कमजोरी भएको आंैल्याए  । संघीय तथा प्रदेश स्तरमा छाया सरकार तथा स्थानीय तहमा न्यायपूर्ण शासन व्यवस्था र सुशासनको प्रत्याभूति गराउन निगरानी समूह गठन गर्नुपर्नेमा जोड दिँदै जोशीले विधानको सर्वोपरिता र समयोचित संशोधन हुनुपर्ने प्रस्ताव राखेका छन् । 

बैठकमा रामशरण महत, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, धनराज गुरुङसहितका नेताले पनि नेतृत्वको आलोचना गरेका थिए। 

यसैबीच कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पार्टीमा हाबी हुँदै गएको गुटबन्दी अन्त्य गर्न नेतृत्वलाई आग्रह गरेको छ । केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय पुगेका सभापति देउवासहितका नेताहरुलाई त्यसतर्फ ध्यान खिच्न धर्नामा बसेका संघका नेताहरुले पार्टीलाई गुटबाट मुक्त गरेर विधि र विधानअनुसार अघि बढाउन आग्रह गरेका छन् । ‘अब पार्टीलाई गुट होइन, त्यसबाट मुक्त गराएर विधि र विधानअनुसार चलाउनुपर्छ,’ संघका नेता दीपक भट्टराईले भने, ‘व्यक्तिको होइन सबैजना पार्टीको मान्छे (कार्यकर्ता) हुनुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो।’  

निर्वाचन समिति गठन 
कांग्रेसले संसदीय दलको नेता छनोटका लागि पार्टी केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । केन्द्रीय सदस्यद्वय भीष्मराज आङ्दम्वे र नवीन्द्रराज जोशी सदस्य रहेको समितिले संसदीय दलको नेता र कार्यसमिति चयनका लागि कार्यक्रम तय गर्नेछ । प्रतिनिधि र राष्ट्रियसभा संसदीय दलको बैठकले फागुन १६ गतेअघि नै दलको नेता चयन गर्ने निष्कर्ष निकाले पनि केन्द्रीय समिति बैठकले सांसदको शपथपछि मात्र नेता चयन गर्ने निष्कर्ष निकालेको हो । ‘सांसदहरुको शपथपछि मात्र दलको नेता छनोट हुन्छ,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘शपथपछि अविलम्ब दलको नेता सर्वसहमतिबाट वा प्रक्रियाबाट चयन हुन्छ ।’
फागुन २१ गते संघीय संसद्को बैठक बस्ने भएपछि संसद् सचिवालयले २० गते शपथ गराउने भएको छ । कांग्रेसले २१ गते संसद् बैठकअघि नै दलको नेता चयन गरेर पहिलो बैठकमा सहभागी हुने आन्तरिक तयारी छ । ६३ सांसद रहेको कांग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने सम्भावना छ । 
बैठकले ‘नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधित तथा परिमार्जन सहित, २०७४)’ लाई अनुमोदन गरेको छ । त्यसअघि शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदहरुको संयुक्त बैठकले विधान पारित गरेको थियो ।

राष्ट्रपतिबाट संविधानको ठाडो उल्लंघन 
नेपाली कांग्रेसले संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभाका तीन सदस्य मनोनयनका लागि मन्त्रिपरिषद्को सिफारिस स्वीकृत नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ठाडो उल्लंघन गरेको ठहर गरेको छ । निर्वाचन प्रयोजनका लागि गठित सरकारले सबै तहको निर्वाचन सम्पन्न गरेर संविधानको धारा ८६ को उपधारा (२) को (क) अनुसार राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गर्दा राष्ट्रपतिबाट उल्लंघन गर्ने काम भएको कांग्रेस बैठकले ठहर गरेको हो। 

‘राष्ट्रियसभामा निर्वाचन प्रक्रियाबाट ५६ जनाको चयन गरिसक्दा सोही धारा र उपधारा (ख) बमोजिम ३ जनाको मनोनयनलाई सिफारिस गर्नु व्यावहारिक र संवैधानिक कदम थियो । यसर्थ, बैठकले राष्ट्रपतिको कदमलाई असंवैधानिक ठहर गर्दै घोर भत्र्सना गरेको गरेको छ,’ कांग्रेसले भनेको छ, ‘संविधानको धारा ८६ को उपधारा (२) को (ख) बमोजिम राष्ट्रियसभामा ३ सदस्य मनोनयनका लागि कांग्रेसको नेतृत्वमा रहेको सरकारले गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत नगर्नु संविधानको धारा ६६ को उपधारा (२) को ठाडो उल्लंघन भएको छ।’

प्रकाशित: १४ फाल्गुन २०७४ ०१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App