१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

प्रधानमन्त्रीको पहिलो महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पहिलो महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा धुर्मुस–सुन्तलीसँगको भेटमा प्रधानमन्त्रीले  आफ्नो पहिलो महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई दिने घोषणा गरेका हुन्।

भूकम्पपछि आएको मानवीय विपत्तिलाई राहत दिन धुर्मुस सुन्तलीले चलाएको अभियान प्रशंसनीय रहेको भन्दै प्रधानमन्त्रीले सो अभियानले देशैभरि सकारात्मक सन्देश गएको बताए। ‘अभियानले एउटा संस्कारकै रुपमा विकास गर्दैछ,’ प्रधानमन्त्रीले भने, ‘तपाइँहरुको अभियानमा मसँगै छु। अहिले तत्कालका लागि मेरो पहिलो महिनाको व्यक्तिगत तलव तपाइँहरुको फाउण्डेसनलाई सहयोग गर्नेछु ।’

भेटमा प्रधानमन्त्रीले धुर्मुस–सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे।‘तपाइँहरुको नेतृत्वमा निर्माण भएको नमुना बस्तीको सडक निर्माण लगायतका क्षेत्रमा सरकारले सहयोग गर्नेछ,’ प्रधानमन्त्रीले भने,‘कुनै समस्या र सहयोग चाहिए भन्नुहोला, सरकार सधैं खुला हृदयले सहयोग गर्न तयार छ।’ प्रधानमन्त्रीले आफू अहिले केही गरेर देखाउने सोचमा रहेको भन्दै सरकार र नागरिक मिलेर पूनर्निर्माणलाई उत्साहवद्र्धक बनाउने बताए।

भेटमा धुर्मुस–सुन्तलीले आफूहरुलाई सरकारले सरसफाई दुत नियुक्त गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका लागि पर्याप्त अधिकार नभएको, पूनर्निर्माणले तिब्रता नपाएको भन्दै नयाँ सरकारले यसमा संवेदनशील भएर काम गर्ने आशा लिएको बताएका थिए।

 

प्रकाशित: १ भाद्र २०७३ ०४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App