एउटै इन्जिनका भरमा उडान

बुधबार, ०९ फागुन २०७४, ०६ : ४८ सुशील भट्टराई  | @sushbhattarai

काठमाडौं – निजी आन्तरिक वायुसेवा कम्पनी सीता एयरको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान साढे १० बजे पर्यटकीय गन्तव्य लुक्लाका लागि उड्यो।

कलसाइन ‘९एन–एजेएच’ भएको ‘डोर्नियर–२२८’ सिरिजको उक्त जहाजमा १२ यात्रु थिए । सीता एयरका इन्जिनियरले सबै प्राविधिक जाँच गरेपछि उडेको उक्त जहाजलाई वरिष्ठ क्याप्टेन रविन गौचनले कमान्ड गरेका थिए । चालकदलमा को–पाइलट सुभाष पन्थी र एयरहोस्टेस समीक्षा खड्का थिए ।

अठार सिटको उक्त जहाज काठमाडौंबाट उडेको २० मिनेट भएको थियो । त्यसैबेला जहाजको ‘प्रेसर प्यारामिटर’ (जहाज उडिरहेका बेला कुनकुन इन्जिन कस्तो अवस्थामा चलिरहेका छन् भन्ने संकेत गर्ने यन्त्र) ह्वात्तै तल झर्न पुग्यो । प्रेसर प्यारामिटर ह्वात्तै तल झरेपछि चालकदलले एउटा इन्जिन तुरुन्त बन्द गरिहाल्नुपर्छ र बाँकी एक इन्जिनका भरमा सुरक्षित अवतरण गराउनुपर्छ । तर, यो काम असाध्यै चुनौतीपूर्ण र सुझबुझका साथ गर्नुपर्छ ।  चालकदलले  दायाँ इन्जिन बन्द गरेर जहाज काठमाडौंतिर फर्कायो । उडानमा लामो अनुभव संगालेको चालकदलले बाँकी एउटा इन्जिनका भरमा जहाजलाई बीच बाटोबाटै फर्काएर काठमाडौंमै सकुशल अवतरण गरायो । र, सम्भावित दुर्घटना टर्यो ।

‘डेढ दशकभन्दा बढी समयदेखि जहाज उडाइरहेका वरिष्ठ क्याप्टेन गौचनको कमान्डमा चालकदलले एउटामात्र इन्जिनका भरमा जहाजलाई सकुशल काठमाडौंमा अवतरण गरायो,’ सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले नागरिकसँग भने, ‘चालकदलले यात्रुलाई आत्तिन नदिईकन कुशलतापूर्वक जहाज अवतरण गरायो, सबै बधाईका पात्र हुन् ।’

आचार्यका अनुसार काठमाडौंबाट उडेको २० मिनेटमा जहाज लगभग फाप्लु नजिक पुगेको थियो । काठमाडौंबाट लुक्लाको उडान अवधि ३० मिनेट हो । लुक्ला विमानस्थल पुग्न १० मिनेट बाँकी हुँदा उक्त प्राविधिक समस्या उत्पन्न भएको थियो ।  एउटामात्र इन्जिनको भरमा लुक्लामै अवतरण गर्न प्राविधिक हिसाबले अत्यन्त जोखिमपूर्ण हुने भएकाले चालकदलले जहाजलाई काठमाडौं नै फर्काउने निर्णय गरेको थियो ।

प्राविधिक समस्या उत्पन्न भएपछि बीच बाटोबाटै फर्काइएको जहाजलाई त्रिभुवन विमानस्थलमा बिहान ११ः१० बजे सकुशल अवतरण गराइएको थियो । यस्तो अवस्थामा अन्य विमानस्थलमा अवतरण गराउँदा सुविधा र सुरक्षामा सम्झौता गर्नुपर्ने भएकाले काठमाडौं नै फर्किने निर्णय चालकदलले गरेको थियो ।
गौचनले १६ वर्षदेखि सीता एयरका जहाज उडाइरहेका छन् । सीता एयर सन् २००२ मा स्थापना भएको हो । सीतामा प्रवेश गर्नुअघि गौचनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका जहाज उडाउँथे ।  

काठमाडौंबाट उक्त जहाजले ‘भिजुअल फ्लाइट रुल’ (भिएफआर) उडान गरेको थियो । यो भनेको यान्त्रिक सहायताबिना आँखाले हेरेर गरिने उडान हो । मंगलबार सीताको यो दोस्रो उडान थियो । पहिलो उडान बिहान साढे ६ बजे लुक्लाकै लागि भएको थियो । जुन जहाजको इन्जिनमा गडबडी आयो, त्यही जहाज काठमाडौं फर्किएपछि तुम्लिङटार जाने तालिका थियो । तर, उताको मौसम खराब हुनु र जहाज बिग्रिनु एकैपटक भएपछि उडान रद्द भयो ।

‘सही तालिम उपलब्ध गराइयो भने चालकदलले एउटा इन्जिन चलाएर पनि जहाज र यात्रुलाई सुरक्षित अवतरण गराउन सक्छन् भन्ने यो गतिलो उदाहरण हो,’ आचार्यले भने, ‘हामीले आकस्मिक प्राविधिक तालिम चालकदललाई वर्षमा दुईपटक उपलब्ध गराउँदै आएको छौं ।’

काठमाडौंमा सफल आकस्मिक अवतरण गरेपछि सीताको उक्त जहाज ‘ग्राउन्डेड’ भएको छ । त्यसमा अर्को इन्जिन जडान गरेपछि नियमित उडानमा फर्किने कम्पनीले जनाएको छ । मंगलबार बिग्रिएको इन्जिनलाई थप परीक्षण गर्न डेनमार्क पठाइने भएको छ ।सीतासँग रहेका सबै चारवटा डोर्नियर एउटामात्र इन्जिन चलाएर पनि अवतरण गराउन सक्ने प्रमाणित जहाज हुन् । यस्ता जहाज एउटामात्र इन्जिनका भरमा आरामसँग तीनदेखि चार घन्टासम्म उड्न सक्छन् । तर, यसका लागि जहाजमा पर्याप्त इन्धन हुनुपर्छ ।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad