१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पकेट क्षेत्रमै थन्कियो आलु

जुम्ला – यहाँको पातारासी गाउँपालिकालाई आलुको पकेट क्षेत्र निर्धारण गरिएको छ । अन्य क्षेत्रभन्दा पातारासी गाउँपालिकामा पर्ने साविकका चारवटा गाविसले आलु खेतीलाई बढि प्रथापमकता दिने र उत्पादन पनि धेरै गर्ने भएकाले त्यस क्षेत्रलाई आलुको पकेट क्षेत्र मानिन्छ।

पातारासीका स्थानीय अन्य खेतीभन्दा आलुखेतीतर्फ निकै आकर्षित पनि छन् । पातारासी गाउँपालिका छुमचौर गाउँका करिब ५० घरधुरी कम्तीमा पाँच क्विन्टलभन्दा बढी आलु उत्पादन गरेका छन्। कडा परिश्रम गरी केही कमाउने आशले उत्पादन गरिएको आलुले बजार नपाएपछि यहाँका आलु कृषक निकै चिन्तित भएका छन् । मचौरका ताराबहादुर बोहोराले यो वर्ष सात क्विन्टल आलु फलाएका छन् । तर बजार अभावले अहिले एक क्विन्टल पनि बिक्री हुन सकेको छैन।

कहिलेकाही पैसाको अभाव हुँदा उनकी श्रीमती बिहानको कठ्यांग्रिदो जाडोमा सदरमुकाममा आलु बिक्री गर्न जान्छिन् । तरपनि बजारमा लिएर पनि कुनै दिन जसरी लिएर आए त्यसरी नै फिर्ता हुनुपरेको लालसरी बोहोराको अनुभव छ।

‘बिक्री भएपनि होटलवालाले सस्तो लिने गर्छन्,’ उनले भनिन्, ‘आलुको पकेट क्षेत्र पातारासीलाई भनिएपनि बजारीकरणको समस्या ज्युकोत्यु छ । ताराबहादुरका परिवार उदाहरण मात्र हुन् । यहाँ आलु बोकेर सदरमुकाम आउनेहरुको त दैनिक भीड लाग्छ । त्यस्तै लक्ष्मी विष्टको घरमा पनि चार क्विन्टल आलु छ।

सबै घरमै थन्किएको छ । आलु धेरै भएपछि राख्ने ठाउँको व्यवस्थापन गर्न निकै समस्या भएको विष्टको भनाइ छ । तरकारी, नास्ताको रुपमा सधैं खादा आलुले पनि असर गरेका कारण अहिले खान छाडेको उनले बताइन । बजारमा पनि बिक्री नहुँदा आलु कुहिने सम्भावना रहेको छ । बजारीको अवस्थालाई मध्यनजर नगरी आलुका लागि पकेट क्षेत्र निर्धारण गर्दा को प्रभाव कृषकलाई परेको छ।

दैनिक सदरमुकाम आलुका बोरा बोकेर आउने महिलाहरु कहिले पनि आफूले तोकेको मूल्य पाउँदैनन् । बजारमा प्रतिकेजी आलु २० रुपैयाँमा बिक्री भइरहेको छ । उस्तै परे कहिले फिर्ता गर्नु भन्दा १५ रुपैयाँ केजीमा पनि बच्ने गर्छन् । अधिकांश किसानको आलु घरमै थन्किएको छ।

सरोकारवाला रमिते
जुम्लाको उत्पादित कृषि उपजको बजारीकरणमा देखिएको समस्या समाधान गर्न यहाँका सरोकारवाला निकाय जिम्मेवार देखिँदैनन् । स्थानीय सरकार आएपछि स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा पहल हुने स्थानीयको आशा थियो । तर अहिलेसम्म कुनै गाउँपालिकामा संकलन केन्द्र राख्न सकिएको छैन।

पटकपटक बजारीकरणको समस्या देखाउँदै समाधानको बाटो खोज्न तथा संकलन केन्द्र राख्न ध्यानकर्षण गरेपनि सरोकारवालाहरु मौन देखिएका छन् । यता जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामदत्त रावल, सम्बन्धित स्थानीय तहले बजारीकरणको पहल गर्ने बताउँछन् । बजारमा आएको तरकारी व्यवस्थापन गर्न निमार्ण गरिएको संकलन केन्द्रलाई प्रभावकारी रुपमा सञ्चलान गर्न आफू लाग्ने उनको आश्वासन छ।

जुम्लाका सातवटै गाउँकाका विभिन्न क्षेत्रलाई स्याउ, आलु, तरकारी, सिमी, ओखर लगायत अन्य विषयमा पकेट क्षेत्र निर्धारण गरेपनि बजारीकरणको समस्या नहट्दा उत्पादित वस्तुले बजार पाएको छैन।
 

प्रकाशित: ८ फाल्गुन २०७४ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App