१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अल्लो उद्योग सञ्चालन

पर्वत – यहाँको एक विकट गाउँमा अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग सञ्चालनमा आएको छ । पोखरा विश्वविद्यालय र दक्षिण कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेषकको पहलमा पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित घुरुंगामा नयाँ प्रविधिसहितको यस्तो उद्योग खोलिएको छ।

अल्लोको लोक्तालाई पकाउँदा, कुट्दा र धागो निकाल्दा समय र लागत समेत अत्यधिक पर्न थालेपछि लघु उद्यमीका लागि नयाँ प्रविधि भित्र्याएको पोखरा विश्वविद्यालयका उपप्राध्यापक अजय थापाले बताए । लघु उद्यमीका लागि थोरै समयमै धेरै उत्पादन लिन सकियोस् भन्ने उद्देश्यले थापाले उक्त प्रविधिको अन्वेषण गरेका हुन् । झण्डै २० लाखको लागतमा उद्योग खोल्न सफल भएको उनले बताए।

अन्वेषक थापाका अनुसार परम्परागत रूपमा हुँदै आएको अल्लो प्रशोधनलाई कसरी सस्तो, छिटो र व्यावसायिक बनाउन सकिन्छ भनेर अनुसन्धान गर्ने क्रममा नयाँ प्रविधिको विकास गरिएको हो र यसले ग्रामीण क्षेत्रका लघु उद्यमीलाई फाइदा पुग्नेछ। 

नयाँ प्रविधिले अल्लोको भुवा प्रशोधनमा ठूलो मद्दत मिलेको र यो उद्योगबाट छोटो समयमा धेरै र गुणस्तरीय भुवा उत्पादन लिन सकिने स्थानीय उद्यमी रनमाया पुनको विश्वास छ।

नयाँ प्रविधिमा अल्लोको लोक्ता पकाउने, कुट्ने र पखाल्ने आधुनिक प्रविधि छ । परम्परागत रूपमा प्रशोधन गर्दा शारीरिक श्रम र समयसमेत बढेकाले नाफा कमाउन कठिन हुँदै आएको थियो । पहिले १० जनाले गर्ने काम अहिले एक जनाबाटै सम्भव भएको पुनले बताए । ‘नयाँ प्रविधि हाम्रा लागि बरदान नै भएको छ,’ उनले भने । पहिले अल्लोको भुवा निकाल्न लोक्ता खरानी पानीमा पकाउने, खोलामा लगेर कुट्ने र पखाल्ने गर्नुपथ्र्यो।

लघु उद्यमका क्षेत्रमा लामो समय काम गरेका तुलसी सुवेदीले अन्वेषकलाई गाउँमा पु¥याएका थिए । अहिले प्रविधिको सफल परीक्षणपछि आफ्नो उद्देश्य पूरा भएको सुवेदीले बताए । नयाँ प्रविधिसहित सञ्चालनमा आएको भुमेप्रसाद डल्लु सामुदायिक अल्लो प्रशोधन उद्योग यसै सातादेखि सुरु भएको छ।  (रासस)

प्रकाशित: ८ फाल्गुन २०७४ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App