१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

बालबालिकाको उड्की–मुड्की

काठमाडौं – मोक्षदा स्कुलको मञ्जरी थिएटरमा उड्की–मुड्की नाटक मञ्चन सुरु भएको छ । रंगकर्मी सुरेश चन्दद्वारा निर्देशित उड्की–मुड्कीमा मोक्षदा स्कुलमा अध्ययनरत कक्षा ३ देखि ६ सम्मका छात्रछात्राको अभिनय रहेको छ।

स्पेस नाट्य संस्था र मञ्जरी थिएटरद्वारा संयुक्त रूपमा शुक्रबार मञ्चन गरिएको नाटकको पहिलो सोमा काठमाडौं क्षेत्र नं. ४ का सांसद गगन थापा, विभिन्न स्कुलका प्रिन्सिपल, पत्रकार, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो।

उड्की–मुड्कीले एउटा स्कुलको कक्षाकोठाभित्रको संसारलाई रंगमञ्चमा उतारेको छ । विद्यार्थीका छुकछुके बानी, झिनामसिना झैझगडा, बालसुलभ बद्मासीलाई नाटकले विषय बनाएको छ । बालबालिकालाई गाली नगरी, नरिसाई माया गरेरै पनि सिकाउन, बुझाउन र अनुशासनमा राख्न सकिन्छ भन्ने पक्षलाई नाटककी शिक्षिकामार्फत उजागर गर्ने कोसिस गरिएको छ । नाटकमा विद्यार्थीको उटुंग्याहा रमाइला क्रियाकलाप देख्दा दर्शक पेट मिचीमिची हाँस्छन् । जब नाटकमा विद्यार्थीले जुम्लाकी एक महिलाको द्वन्द्वकालीन व्यथा सुनाउँछन्, त्यतिखेर दर्शकहरू विगतको राजनीतिक द्वन्द्वका बाछिटाहरू सम्झेर भावुक हुन्छन्।

शिक्षिकाको भूमिकामा अभिनय गरिरहेकी कक्षा ६ की छात्रा उपहार लिम्बूले आफ्नो भूमिकाप्रति न्याय गरेकी छिन् । नाटक हेर्दै गर्दा उनी ६ कक्षा पढ्दै गरेकी सानी बालिका हुन् जस्तो लाग्दैन।

त्यसैगरी चुलबुले विद्यार्थीको भूमिकामा देखिने आकृति तिमल्सेना एक फरक भूमिकामा जुम्लाकी महिलाको कथाव्यथा सुनाएर दर्शकलाई भावुक बनाउन सफल भएकी छिन् । त्यसैगरी तारा लामा, खुसी हमाल, सामना श्रेष्ठ, संगीत श्रेष्ठ, आर्यन चन्द, अधीश चन्द, समृद्धि दाहाल, भवेश पौडेल, प्रिन्स वाग्लेलगायतले पनि उड्की–मुड्कीमा जमेर अभिनय गरेका छन् । लगभग एक घन्टा १५ मिनेट लामो नाटक हेर्दै जाँदा बिचबिचमा आउने देउडादेखि विभिन्न नेपाली तथा अंग्रेजी गीत संगीतले दर्शकलाई मन्त्रमुग्ध बनाउँछन्।
सांसद गगन थापाले नाटक हेर्दै गर्दा आफूलाई आफ्नो स्कुलका दिनको सम्झना आएको बताए । ‘उड्की–मुड्की हेर्दै गर्दा मैले मेरो स्कुलका दिन सम्झिरहेँ,’ थापाले भने, ‘नाटकले कतिखेर हँसायो र कतिखेर रुवायो पत्तै भएन।’

गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोख्रेलले नाटक आफूले सोचेभन्दा निकै राम्रो भएको बताए । ‘ससाना भाइबहिनीहरूको नाटक भनेको सुन्दा सामान्य कुनै नाटक होला भन्ने सोचेर आएको थिएँ,’ यहाँ नआएको भए निकै ठूलो अवसर गुम्ने रहेछ।’

निर्देशक चन्दले आफूले विगतमा गुरुकुलमा बस्दा सिकेको ज्ञान अहिले स्कुले भाइबहिनीलाई बाँड्ने जमर्को गरेको बताए । उनले आगामी दिनमा पनि यसैगरी बालबालिकाका विभिन्न कथाव्यथा लिएर मञ्जरी थिएटरमा आइरहने वाचा पनि गरे । शुक्रबार सुरु भएको नाटक उड्की–मुड्की यही १९ फागुन, शनिबारसम्म हरेक दिन ४ः३० बजे मञ्चन हुने पनि उनले जानकारी दिए।
 

प्रकाशित: ८ फाल्गुन २०७४ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App