१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आरोपीलाई प्रहरीले भगाएको आरोप

रौतहट–  बलात्कार आरोपमा घटनास्थलबाटै पक्राउ एकजनालाई प्रहरीले नै भगाएको आरोप लागेको छ । मंगलबार राति ८ बजे रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ की १२ वर्षीया बालिकालाई जबर्जस्ती गर्ने गरुडा नगरपालिका ९ का २० वर्षीय शेख इब्रानलाई प्रहरीले जोगाउन खोजेको पीडित पक्षको आरोप छ । बालिकालाई उखुबारीमा लगेर लछारपछार गर्दै जबर्जस्ती गरिरहेका बेला स्थानीय बासिन्दाले चारैतिरबाट घेरा हालेर इब्रानलाई नियन्त्रणमा लिएका थिए ।

घटनास्थल पुगेका प्रहरी चौकी बरियारपुरका असई गणेश लामा नेतृत्वको टोलीले उखुघारीबाटै इब्रानसँगै बलात्कृत बालिकालाई नियन्त्रणमा लिएको थियो ।पक्राउ परेका युवकलाई अक्रोशित भीडले प्रहरी नियन्त्रणमै रहेका बेला कुटपिट गरेको थियो । बलात्कृत बालिकालाई सोही रात प्रहरीले आमाको जिम्मा लगाएर युवकलाई मात्रै नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय गरुडाको जिम्मामा रहेका बेला उपचारको बहानामा प्रहरीले उनलाई छाडेको आरोप पीडितका आफन्तले लगाएका छन् । उखुबारीबाट निकालेपछि प्रहरीसामु नै बालिकाकी आमाले पीडकलाई टर्चलाइटले हिर्काएकी थिइन् । टर्चले निधारमाथि चोट लागेर इब्रान घाइते बनेको स्थानीयले बताए ।

युवक घाइते अवस्थामा फेला परेको प्रहरीको दाबी छ ।  घटनास्थलमा रहेको आरोपित इब्रानको ट्याक्टर बरियारपुर प्रहरी चौकीको नियन्त्रणमा छ । चौकी कम्पाउन्डमा ५ ट्याक्टर माटो पुर्न लगाएर प्रहरीले अभियुक्त छाडेको आरोप पीडित पक्षको छ । बलात्कारको शिकार बनेकी दाबी गरिएको बालिकाको काकाले दिएको घटनासम्बन्धी उजुरी इलाका प्रहरी कार्यालय गरुडाले दर्ता गर्न मानेको छैन ।

बरियारपुर प्रहरी चौकीमा भने पीडितकै विरुद्ध पीडक पक्षद्वारा ज्यान मार्ने उद्योग र लुटपिटको उजुरी दर्ता गराइएको छ । यसले बलात्कृतमाथि थप बलात्कार भएको गम्हरियाका समजसेवी एवं कांग्रेसका स्थानीय नेता शेख ग्यासुद्दिनले बताए । गढीमाई नगरपालिकाका मेयर श्याम यादवको पहलमा बिहीबार साँझ पीडित पक्षको उजुरी इप्रका गरुडाले लिएको हो ।  

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले केटाकेटीबीच पहिलादेखि नै प्रेम सम्बन्ध रहेकाले दुवैलाई नियन्त्रणमा लिइएको बताए । घटनाका बेला कसैले पनि बलात्कारबारे जानकारी नगराएको र पछि केटाको टाउको फुटेकाले उपचारका लागि छाडिएको बताए । केटा पक्षले उजुरी दिएपछि बल्ल केटी पक्षले बलात्कारको घटना भएको भनी उजुरी दिन आएको बताउँदै उनले त्यसपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको बताए ।

पीडित पक्षबाट जाहेरी आएपछि बलात्कारको आरोप लागेका युवक फरार भएका छन् । प्रहरीले उनको खोजी भइरहेको बताएको छ । पीडित पक्षको जाहेरी आउनासाथ प्रहरीले जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गरी घटनाको अनुसन्धान थालेको छ ।रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बालिका बलात्कृत भएको खबर प्राप्त हुनासाथ पीडितको स्वास्थ्य परीक्षण गराएर आवश्यक अनुसन्धान सुरु गरिसकेको बताए ।
 

प्रकाशित: ५ फाल्गुन २०७४ ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App