१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनाव सक्ने जिम्मेवारी पूरा गरें : देउवा

प्रधानमन्त्रीबाट राजीनामा दिनुअघि राष्ट्रका नाममा सम्बाेधन गर्दै शेरबहादुर देउवा । तस्बिर : नागरिक

काठमाडौं – सत्ताबाट बाहिरिँदै गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले तीन तहको निर्वाचन सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गरेको दाबी गरेका छन् । पदबाट राजीनामा दिनुअघि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले नयाँ संविधानअनुसार स्थानीय, प्रदेश, प्रतिनिधि र राष्ट्रियसभा निर्वाचन सम्पन्न गरेर संविधानसभाबाट जारी नयाँ संविधान कार्यान्वयन गरेको बताएका हुन्। 

‘संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्ने मेरो जिम्मेवारी पूरा भएको छ,’ देउवाले सम्बोधनका क्रममा भने, ‘हामी नयाँ संघीय सरकार निर्माण गर्ने चरणमा पुगेका छौं।’ 

देउवाले सरकारको नेतृत्वमा नरहे पनि जनताको सुखदुःखमा आफ्नो नेतृत्वको पार्टी र आफू सधैँ सक्रिय रहने प्रतिबद्धता जनाए । ‘नेपालको सबैभन्दा पुरानो र जनताको प्रिय पार्टी नेपाली कांग्रेसको सभापतिको हैसियतमा समावेशी राजनीति र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउँदै समृद्ध नेपाल निर्माणका लागि अब मेरो बाँकी जीवन समर्पित रहनेछ,’ देउवाले भने, ‘नेपाललाई समृद्ध मुलुक बनाउने अभियानमा हाम्रो निष्ठापूर्ण प्रतिबद्धता रहनेछ ।’ 
लोकतन्त्रलाई आस्था नभई साधनका रुपमा मात्र बुझ्ने, राष्ट्रिय एकताबारे संकुचित र हलुका टिप्पणी गर्ने, कुनै भेगका जनताले अधिकारको कुरा गर्दा तिनलाई राष्ट्रविरोधी देख्ने, समृद्धिको गहनतालाई अविश्वसनीय नारामा कैद गर्ने राजनीतिक अवसरवादको जमाना अब सकिनुपर्नेमा उनले जोड दिएका छन् । ‘विविध जातजाति, भाषाभाषी, क्षेत्र, धर्म र समुदायबीचको सम्वन्धलाई एउटै मालामा गाँसेर हामी राष्ट्रियतालाई थप मजबुत बनाउन चाहन्छांै,’ देउवाले भने, ‘मौलिक अधिकार, सामाजिक न्याय र आर्थिक प्रगति लोकतान्त्रिक व्यवस्थाभित्र नै सम्भव हुन्छ र अहिंसा लोकतान्त्रिक पद्धतिको अभिन्न अंग हो भन्ने नेपाली कांग्रेसको मान्यता विभिन्न वाद र पथ अगाल्ने सबैका लागि स्वीकार्य बाटो बनेको छ।’

आफू र आफ्नो नेतृत्व सरकारले धैर्य नगरेको भए मुलुकको संक्रमणकाल अझै लम्बिन सक्ने जिकिर पनि देउवाले गरे । ‘संविधानप्रति असन्तुष्ट दललाई राजनीतिक मूलधारमा ल्याउने अनवरत प्रयत्न नगरेको भए संक्रमणकाल टुंगिने थिएन,’ उनले भने, ‘बल प्रयोग गरेर निर्वाचन गरेको भए प्राविधिक रुपमा संक्रमण त सकिने थियो होला तर मुलुक फेरि हिंसा र अस्थिरताको दुश्चक्रमा फस्ने थियो।’ 

देउवाले आफ्नो नेतृत्वको सरकारले संविधान सर्वस्वीकार्य बनाउँदै सबै क्षेत्र, भेग र समुदायलाई त्यसको मूल प्रवाहमा ल्याउने प्रयास गरेको दाबी गरेका छन् । ‘म चाहन्थें काठमाडौंले मात्रै होइन तराई–मधेस, हिमाल–पहाडले पनि संविधानमा आफ्नो प्रतिबिम्ब देखोस् । समग्र राष्ट्रले नै राजनीतिक संक्रमण सकिएको र आर्थिक समृद्धिको युगमा मुलुक प्रवेश गरेको अनुभूत गरोस्,’ उनले भने।

जनताको आशाअनुसार विकासलाई गति दिन नसकेको स्वीकार गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवका द्रुतमार्ग, बूढीगण्डकी आयोजना, मेलम्ची खानेपानी आयोजना, अन्तर्देशीय प्रसारण लाइन विस्तारमा समेत निकै प्रगति हासिल भएको उल्लेख गरे । ‘मेरो सरकार निर्माण भएदेखि नै निर्वाचनमा लागिराख्नुपर्ने र यससम्बन्धी आचारसंहिता पालना गरिरहनुपर्ने भएकाले पनि विकास निर्माण कार्यलाई चाहेजति तीव्र गतिमा अघि बढाउन सकिएन,’ उनले भने, ‘तैपनि ठूला पूर्वाधार निर्माणमा सरकारले उल्लेख्य प्रगति गरेको छ।’ 

अरुण तेस्रो र माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, भेरी बबई डाइभर्सन, हुलाकी मार्ग र पोखरा क्षेत्रीय विमानस्थललगायतका राष्ट्रिय गौरवका आयोजनामा राम्रो प्रगति भएको जनाएका छन्।

भूकम्पपछिको पुनर्निर्माण अभियानले गति लिएको र बाढीले तराईमधेशका जनतालाई तत्काल उद्धार र राहत दिँदै सरकारले दीर्घकालीन योजना ल्याएकोे जिकिर देउवाले गरेका छन् । ‘बाढीपछिको पुनरुत्थान अनुदानसहित संस्थागत रुपमै अघि बढाउन पुनर्निर्माण प्राधिकरणमा विशेष एकाइ गठन गरिएको छ,’ उनले भने।

जनताको हितलाई ध्यानमा राखेर मित्रराष्ट्रसँगको परराष्ट्र नीति अवलम्बन गरिएको दाबी गर्दै देउवाले राष्ट्रिय स्वार्थ र जनताको सर्वोत्तम हितलाई केन्द्रबिन्दुमा राखी परराष्ट्र नीति सञ्चालन भएको जनाए । ‘छिमेकी मुलुक भारत र चीन तथा अन्य मित्रराष्ट्रहरुसँग पञ्चशीलको सिद्धान्तमा आधारित रही सम्बन्ध सुदृढ गर्ने र सहयोगको क्षेत्र विस्तार गर्ने हाम्रो प्रतिबद्धता हो,’ देउवाले भने, ‘हाम्रा दुई विशाल छिमेकी भारत र चीनसँगको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धलाई मेरो कार्यकालमा थप विश्वसनीय र सम्मानमा आधारित बनाइएको छ।’

दिगो शान्ति, सहमति र एकतालाई कायमै राख्दै नयाँ बन्ने सरकारले राष्ट्रको सर्वोपरी हितमा काम गर्ने विश्वास पनि देउवाले व्यक्त गरेका छन् । 

प्रकाशित: ४ फाल्गुन २०७४ ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App