१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अप्रमाणित औषधि धमाधम भित्रँदै

तस्विरः अवैध रुपमा नेपाल भित्र्याइएका औषधि बरामद गर्दै सशस्त्र प्रहरी ।

झापा – मानव तस्करलाई धन्दा चलाउन सजिलो बहाना बनेका भारतीय नेटवर्किङ व्यापार अब नेपालमा अवैध रुपमा औषधि भित्र्याउने माध्यम पनि बनेका छन् । लागुऔषधदेखि मानव तस्करीसम्मको धन्दा चल्दै आएको पूर्वी सीमा नाकाबाट पछिल्लो समयमा औषधिको अवैध कारोबार पनि फष्टाएको छ ।

 प्रहरीका अनुसार पूर्वका विभिन्न नाका हुँदै भित्रिरहेका ती  कम्पनीका औषधिको नेपालमा कुनै परीक्षण वा विक्री अनुमति भने छैन । भारतमा सञ्चालित नेटवर्किङ कारोबारमार्फत अवैध रुपमा ती औषधिहरु नेपाल भित्रिरहेका हुन्  । खाना पचाउने, वजन घटाउने–बढाउने, यौन शक्तिबद्र्धक तथा अन्य धेरै खाले दीर्घरोग ठीक पार्ने औषधि भन्दै नेपाल भित्र्याउनेहरुले गाउँ–गाउँमा प्रभाव विस्तार गरेका छन् । त्यस्ता औषधि पनि कुना–कुना पुर्याइरहेका छन् । आफू सदस्य बनेको ठाउँमा थप सदस्य थप्दा फाइदा हुने लोभले आकर्षित धेरै नेपाली यसको सदस्य बनेको पनि पाइएको छ । यस्ता कारोबार  तस्करी धन्दाका बहुआयामिक क्षेत्रमा ‘सहयोगी’ बनेका छन् ।

भारतमा सञ्चालनमा रहेका कम्पनीमा जागिर लगाइदिने, ती कम्पनीको सदस्य बनाइदिने भन्दै महिलालाई सीमा कटाउने तस्करले अन्ततः उनीहरुलाई विभिन्न मुलुक पुर्याउँदै आएका छन् । ‘विभिन्न नेटवर्किङ व्यापारका सदस्य बनेका नेपालीले औषधि भन्दै दिनहुँ ठूलो परिमाणमा औषधि नेपाल ल्याउने गरेका छन्’, काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी टंकप्रसाद भट्टराईले भने ‘ती औषधि खानयोग्य हुन् कि होइनन् पुष्टि पनि छैन । विक्री अनुमति पनि छ कि छैन थाहा छैन । तर, ल्याउने क्रम भने जारी छ ।’

शुरु–शुरुमा प्रहरीले यतातिर ध्यान नदिए पनि पछिल्लो समयमा भने त्यस्ता औषधि खोजी–खोजी रोक्न थालेको छ । केही वर्षअघिसम्म फाट्टफुट्ट रुपमा हुने औषधिको  धन्दा पछिल्लो समय काँकडभिट्टा नाकाबाट निक्कै मौलाएको छ । कारोबारीहरुले यसलाई ‘फुड सप्लिमेन्ट’को नाम दिएर  धन्दा चलाइरहेको प्रहरीको भनाई छ । जानकारहरुका अनुसार ओरियण्स, इम्पोरियम, क्वालिटी जस्ता दर्जनौं नेटवर्किङ व्यवसायको सदस्य बनेको भन्ने अनि त्यसैको उत्पादन भन्दै अऔषधि नेपाल भित्र्याउने क्रम बढेको हो ।

यो कारोबारको अन्तर्य बुझेका मानव तस्करले तिनै धन्दाका अफिस हिँडेको नाममा विदेशिनेहरु धेरै छन् । नेपालबाट भारत जाँदा महिला तस्करीको वहाना बनाउने, भारतबाट नेपाल आउनेहरुले भने कहिँकतै परीक्षण नै नभएको औषधि ल्याउने माध्यम बनाउने धन्दा प्रहरीका लागि टाउको दुखाईको विषय बनेको छ।
सशस्त्र प्रहरी बल नेपाल राजस्व एवम् भन्सार सुरक्षा गुल्म काँकडभिट्टले कात्तिक २० गते यता ३१ लाख ९५ हजार ८ सय ४६ रुपैयाँका अवैध सामान पक्राउ गरी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा  बुझाएको छ । सशस्त्र प्रहरीले पक्राउ गरेको चारवटा प्रमुख सामान मध्ये औषधि दोस्रो स्थानमा छ ।

गुल्मपति सशस्त्र प्रहरीका डिएसपी  दिनेश बस्नेतका अनुसार तीन महिनामा ७ लाख ३ हजार १ सय ९२ रुपैयाँ मूल्य बराबरका औषधि पक्राउ गरी भन्सार बुझाइएको हो । बस्नेतका अनुसार मंसिर महिनामा २ लाख ६६ हजार ४ सय, पुसमा २ लाख ३१ हजार २ सय ९२ र माघमा २ लाख ५ हजार ५ सयका त्यस्ता औषधि पक्राउ गरी भन्सार बुझाइएको छ । औषधिको तुलनामा उक्त महिनामा अन्य मालसामानको परिमाण न्यून छ ।

जटिल प्रकारको रोग निको पार्ने भन्दै त्यस्ता संस्थाका प्रतिनिधिहरुले  धन्दा चलाइरहेका छन् ।  प्रहरीले पक्राउ गरेका सबै औषधि ओरियन्स कम्पनीको भएको प्रहरीको भनाइ छ । ती क्मपनीले नेपाल पठाउने ती औषधिलाई ‘फुड सप्लिमेन्ट’ भन्ने गरेका छन् । नेपालको प्रहरीले समेत ओरियन्स कम्पनिको ‘फुड सप्लिमेन्ट’ बरामद गरेको प्रतिवेदन तयार गर्ने गरेको छ । मंसिर महिनापछि यो नाका हुँदै ओरियन्स कम्पनिका औषधि बिभिन्न बहानामा भित्रिने क्रम बढ्दो रहेको प्रहरीले जनाएको छ । यसका लागि प्रहरीले चेक जाँचमा समेत कडाई गर्न थालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

भारतीय नेटवर्किङ धन्दा मानव तस्करीको बहाना बनेको यसअघि नै प्रमाणित भइसकेको छ । यस्ता व्यापारसँग कुनै साइनो सम्बन्ध नै नभएकाहरुलेसमेत  तिनै कम्पनीको फर्जी कागजात र प्रमाण देखाएर नेपाली महिलाको तस्करी गरिरहेका छन् । तर, आफूलाई अवैध बाटो हुँदै विदेश पठाउन लागेको, त्यसरी विदेश पुग्दा अनेक अफ्ठयारो भोग्नुपर्ने जोखिमबारे बेखबर महिला भने तस्करको प्रलोभनमा फँस्दै आएका छन् । भारतीय बाटो हुँदै अवैध रुपमा विदेशिएका झापाकै धेरै महिला वषौंदेखि बेखबर छन् ।

विदेशमा अनेक यातना सहन बाध्य रहेकाहरु पनि फर्कन सकेका छैनन् । नेपाली महिला विदेश पठाउँदै कमिशन लिन पल्केको गिरोहले भने यो धन्दालाई नयाँ–नयाँ बहानामा अघि बढाइरहेको छ । मानव तस्करीको संगठित अपराध चलाइरहेकाहरुसम्म प्रहरी पुग्न नसक्दा यो क्रम रोकिनुभन्दा तीव्र बनिरहेको छ । ‘अब यसमा औषधिको धन्दा पनि थपिनु थप चिन्ताको विषय बनेको छ’, सामाजिक अभियन्ता गोविन्द न्यौपाने भन्छन् ‘ठगिन आफै त्यहाँ पुग्ने नेपालीलाई रोक्ने उपाय जरुरी देखिएको छ ।’

 

प्रकाशित: १ फाल्गुन २०७४ ०३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App