१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मेलम्ची आयोजना अन्तिम चरणमा

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथान सुरुङ । तत्कालका लागि यहींबाट ‘कफर्ड ड्याम’ बनाएर पानी सुरुङ प्रवेश गराइनेछ। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक – अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ । जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना असारभित्रै पूरा हुने देखिएको छ।

‘बाँकी दुई सय ६० मिटर खनेपछि साढे २७ किलोमिटर लामो सुरुङमार्ग ब्रेक थ्रु हुनेछ,’ आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले भने, ‘फागुन (मार्च दोस्रो साता) भित्र मुहानस्थल अम्बाथान–सुन्दरीजल सुरुङमार्ग जोड्न प्रतिबद्ध छौं ।’ सुरुङका तीनमध्ये दुई खण्ड ब्रेक थ्रु भइसकेका छन् । बीचको सिन्धु–ग्याल्थुम खण्ड ब्रेक थु्र गर्न अहिले तीव्र गतिमा काम भइरहेको छ।

‘अब दुई सय ६० मिटर खनेपछि साढे २७ किलोमिटर लामो सुरुङमार्ग ब्रेक थ्रु हुनेछ । फागुनभित्र मुहानस्थल अम्बाथान–सुन्दरीजल सुरुङमार्ग जोड्न प्रतिबद्ध छौं । असारभित्रै उपत्यकावासीले मेलम्ची पानी पाउँछन्।’

७.७ किमि लामो सुरुङमार्ग रहने यो खण्डमा ५.१ किमि सुरुङको काम सकिएको छ । निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी सिएमसी, कन्सल्ट्यान्ट र आयोजनाका अधिकारीबीचको बैठकले एक महिनाभित्रै सुरुङमार्ग ब्रेक थ्रु गर्ने साझा संकल्प गरेको उपकार्यकारी निर्देशक थापाले बताए ।
सबैभन्दा लामो सुन्दरीजल–सिन्धु खण्ड गत वर्ष पुसमा सुरुङमार्गले जोडिएको थियो । गत पुस १४ गते ८.२ किमि लामो ग्याल्थुम–अम्बाथान खण्ड ब्रेक थ्रु भएको थियो । यो दोस्रो लामो खण्ड हो । आयोजनाका अनुसार ठेकेदार कम्पनी सिएमसीले दैनिक आठ मिटरसम्म सुरुङ खनिरहेको छ । उसले यही दरलाई मात्र निरन्तरता दिए अबको ३२ दिनमै सुरुङ ब्रेक थ्रु हुनेछ।

‘ठेकेदारले दैनिक १२ मिटरसम्म पु¥याउने बाचा गरेकाले बाँकी सुरुङको काम सक्न त्यति दिन पनि नलाग्ने ठानेका छौं,’ थापाले भने । आयोजनाका अधिकारीहरुका अनुसार सुरुङमार्ग बन्दैमा मेलम्ची काठमाडौं पुग्दैन । निर्मित सुरुङ ढलान र मुहानस्थल (इन्टेक) मा ड्राइभर्सन च्यानल निर्माण गरेपछि मात्र पानी आपूर्ति सम्भव हुन्छ । सुरुङ ढलानलाई त्यति समय नलाग्ने देखिए पनि ड्राइभर्सन च्यानल बनाउन ६ महिना समय लाग्न सक्ने अधिकारी बताउँछन् । ढलान सकेपछि ड्राइभर्सन च्यानलको सट्टा तत्कालका लागि अस्थायी संरचना बनाएर पानी सुन्दरीजल खसाल्ने तयारीमा आयोजना छ ।
ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता तीन महिना थपेर असार (जुन) सम्म पु¥याइएको दाबी आयोजनाका अधिकारीले गरेका छन् । ठेकेदारसँगको सम्झौता फागुन (मार्च) मा सकिँदैछ । उक्त अवधिमा सुरुङ सम्पन्न हुने देखिए पनि ढलान गर्न नभ्याउने भएपछि उसकै आग्रहमा समय थपिएको आयोजनाको भनाइ छ।

‘सबै काम सकेर थपिएको समयभित्र सुन्दरीजलमा पानी खसाल्छौं,’ उपकार्यकारी निर्देशक थापाले भने, ‘असारभित्रै उपत्यकावासीले मेलम्ची पानी पाउँछन् ।’ उनका अनुसार अहिले बाँकी सुरुङ खन्ने र ढलान गर्ने काम सँगसँगै भइरहेको छ । सिन्धुबाट सुन्दरीजल र ग्याल्थुमबाट अम्बाथानतिर साढे तीन किमि सुरुङ ढलान भइसकेको छ । दुईतिरबाट मात्र काम गर्दा एकै दिन ७६ मिटरसम्म सुरुङ ढलान भएकाले यसमा धेरै समय नलाग्ने आयोजनाको निष्कर्ष छ ।
‘सुरुङ ब्रेक थ्रु गरेपछि तीन खण्डका सातै ठाउँबाट ढलानमा तीव्रता दिनेछौं,’ थापाले भने । मुहानस्थल अम्बाथानमा स्थायी च्यानल बनाउन समय लाग्ने भएकाले तत्कालका लागि अस्थायी प्रकृतिको ‘कफर्ड ड्याम’ बनाएर पानी सुरुङमा प्रवेश गराउने उनले बताए । थापाले भने, ‘इन्टेकमा स्थायी संरचना बन्दै गर्छ, त्यतिन्जेल कफर्ड ड्यामबाट पानी आपूर्ति भइरहन्छ।’

सुन्दरीजलमा मेलम्चीबाट आउने १७ करोडमध्ये साढे आठ करोेड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ । बाँकी साढे आठ करोड लिटर क्षमताको अर्को प्रशोधन केन्द्र निर्माण भइरहेको छ । त्यहाँ आयोजनाको मुख्य दाता एसियाली विकास बैंक (एडिबी) को सहयोगमा काम भइरहेको हो।

‘मेलम्चीको पानी सुन्दरीजल ओह्रालेपछि आयोजनाको कार्यभार पूरा हुन्छ,’ कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने, ‘त्यसपछि राजधानीवासीका घरघरमा पानी बाँड्न थोक वितरण प्रणालीमा जिम्मेवारी सर्छ ।’ संरचना तयार भइसकेकाले सुन्दरीजलमा मेलम्ची खस्नासाथ उपत्यकावासीले पानी पाउने उनले बताए।

सन् २००७ मा सम्पन्न गर्ने गरी सन् २००१ बाट आयोजनाको काम थालिएको थियो । दातासँग समयमै ऋण सम्झौता गर्न नसकेको, आयोजना पुनर्संरचना गर्नुपरेको र सुरुङ निर्माणमा भएको ढिलाइले आयोजना पछाडि धकेलिँदै आएको हो । ‘अब मेलम्चीको पानी मुखैमा आइसकेको छ,’ कार्यकारी निर्देशक देवकोटा भन्छन्, ‘यति हुनु भनेको बहुप्रतीक्षित र बहुचर्चित आयोजना सम्पन्न हुनु बराबर हो।’

चार वर्षमा सक्ने गरी निर्माण थालिएको साढे २७ किमि सुरुङ सात वर्षमा सम्पन्न हुने चरणमा पुगेको छ । चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे १५ ब्युरोले सन् २०१३ मा सुरुङमार्ग सक्ने कबोल गर्दै सन् २००९ मा ठेक्का सकारेको थियो । सोही वर्षको अप्रिल २१ देखि काम सुरु गरेको चाइना रेल्वेले तीन वर्षमा साढे ६ किमि सुरुङ खनेर सन् २०१२ मा एकतर्फी रुपमा ठेक्का तोडेको थियो।

सरकारले सन् २०१२ सेप्टेम्बरमा चिनियाँसँगको ठेक्का रद्द गर्दै आयोजना सक्ने लक्ष्य तेस्रोपटक संशोधन गरी सन् २०१६ मा पु¥यायो । ठेक्का तोडिएपछि झन्डै एक वर्ष सुरुङ निर्माण कार्य रोकियो । बाँकी २१ किमि सुरुङ खन्न नयाँ ठेकेदार कम्पनीका रुपमा इटालियन सिएमसीले सन् २०१३ मा ठेक्का लिएको थियो । ३६ महिनामा काम सक्ने बाचा गरेको सिएमसीले पनि चार वर्षभन्दा बढी समय गुजार्दै सुरुङमार्गलाई अन्तिम चरणमा पु¥याएको हो।



 

प्रकाशित: १ फाल्गुन २०७४ ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App