१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश ६ मा शाही बने सभामुख

सुर्खेत – सशस्त्र द्वन्द्वका क्रममा दैलेखका राजबहादुर शाहीले तत्कालिन विद्रोही नेकपा माओवादीबाट ठूलो सास्ती व्यहोरे। तीन पटक अपहरणमा परे। मानसिक मात्रै होइन्, शारीरिक यातना पनि पाए। द्वन्द्वकै कारण उनको परिवार विस्थापित भयो। दैलेखको तोलीजैसी–७ छडाथानमा रहेको पुख्र्यौली घर अहिले पनि खाली छ।

तिनै शाही माओवादीको समर्थनमा ६ नम्वर प्रदेशको पहिलो सभामुख बनेका छन्। द्वन्द्वका बेला पाएका पीडा र भोगेको यातनालाई उनी ‘समयको खेल’ बताउँछन्। ‘राजनीतिमा कोही पनि स्थायी सत्रु र मित्र हुँदैन्’ उनले भने, ‘द्वन्द्वका जसले यातना र थातथलो छोड्ने बनायो, आज उसैको समर्थनमा सभामुख निर्वाचित भएँ।’

दैलेख क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित शाहीको प्रस्तावक एमाले पोलिष्ब्यूरो सदस्य एवम् सांसद प्रकाश ज्वाला थिए भने समर्थकमा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही। उनी द्वन्द्वका बेला पाएका पीडा र भोगेको यातनाका बारेमा धेरै बोल्न चाहँदैनन्। तीन–तीन पटक अपहरणमा परेर बाँचेका शाही नयाँ परिस्थिति अनुसार अघि बढ्नुपर्ने बताउँछन्।

‘पुराना घाउ कोट्याएर बस्न थाल्यो भने फेरि द्वन्द्व निम्तिन्छ, नयाँ परिस्थिति अनुसार अघाडि बढ्नुपर्छ’ सभामुख भइसकेपछि उनले नागरिकसँग भने, ‘सबै एकजुट भएर अगाडि बढ्न सकेको खण्डमा मात्रै प्रदेश र समग्र देशको विकास गर्न सकिन्छ।’ उनले आफूले सबै दलहरुलाई मिलाएर अघि बढ्ने बताए। ‘प्रदेशको विकास र समृद्धिका लागि दलहबीच एकता र सहकार्यको खाँचो छ,’ उनले भने, ‘सभामुखको हैसियतले त्यो भूमिकामा म रहन्छु।’

सोमबार बसेको संसदको दोस्रो बैठकले शाहीले सभामुख निर्वाचित गरेको हो। शाहीले सोमबार अपराह्न ४ बजे पदभार ग्रहण गरेका छन्।

प्रकाशित: २९ माघ २०७४ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App