१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभामा एमाले समानुपातिक सांसद : नेता पत्नीदेखि उद्योगीसम्म

अाइतबार बसेकाे एमाले स्थायी कमिटीकाे बैठक । तस्बिर : नागरिक

काठमाडौं – एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ चार पुरुषसहित ४१ जनाको नाम टुंगो लगाएको छ । 

पार्टी मुख्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटी बैठकले टुंगो लगाएको नामावली सूचीका केहीले पहिले पनि समानुपातिकतर्फ अवसर प्राप्त गरिसकेका छन्। 

४१ जनामा नेता पत्नीदेखि विद्यार्थी नेतृ र उद्योगीसम्म छन् । एमालेले पार्टीमा काम गर्दागर्दै जीवन गुमाएका नेताका पत्नीलाई पनि समानुपातिक सांसद बनाएको छ। 

उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा थापा, शंकर पोख्रेलकी पत्नी सुजिता शाक्य, एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठकी पत्नी विना श्रेष्ठ, केन्द्रीय सदस्य रघुवीर महासेठकी पत्नी जुली महतो पनि समानुपातिक सांसदको सूचीमा छन् । थापा भ्रातृ संगठन अखिल नेपाल महिला संघकी नेतृ तथा शाक्य, श्रेष्ठ र महतो पार्टी केन्द्रीय सदस्य हुन् । नेता  गौतम बर्दियाबाट प्रतिनधिसभा सदस्य निर्वाचनमा पराजित भएका थिए भने पोख्ररेल प्रदेश नम्बर पाँचको मुख्यमन्त्री बन्ने तयारीमा छन् । कृष्णगोपालले काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने महतोले धनुषा–४ बाट चुनाव जितेका छन्। 

समानुपातिक सांसदमा दोहोरिनेमा थममाया थापा, राधा ज्ञवाली, विन्दा पाण्डे, रामप्रित पासवान, शान्ता चौधरी, गंगा चौधरी र शान्तिमाया पाख्रिन छन् । उनीहरु पहिलो संविधानसभामा सदस्य बनेका थिए । गंगा पहिलो र दोस्रो संविधानसभामा जातीय दलबाट संविधानसभामा पुगेकी थिइन् । गत कात्तिकमा उनी एमाले पसेकी हुन्। 

यसपटक पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद सूचीमा परेका मोहन बानियाँले दोस्रो संविधानसभामा प्रत्यक्षबाट चुनाव जितेका थिए  । त्यसैगरी स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने यसअघि तीनपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले २०४८, २०५१ र २०५६ मा चुनाव जितेका थिए। आदिवासी जानजाति कोटाबाट समानुपातिक सांसद सूचीमा परेका विजय सुब्बा पनि पूर्वसांसद हुन्। 

अनेरास्ववियुकी पूर्वअध्यक्ष रामकुमार झाँक्री र वर्तमान अध्यक्ष नवीना लामा पनि आदिवासी जनजातितर्फबाट सांसद बनेका छन्। 

पहिलो संविधानसभा सदस्य पाख्रिन माओवादी द्वन्द्वपीडित हुन् । द्वन्द्वको समयमा दोलखा जिल्लास्तरका नेता रहेका उनका पतिको हत्या माओवादी कार्यकर्ताले गरेका थिए ।  त्यसैगरी माओवादीले हत्या गरेका यदु गौतमकी पत्नी तीर्था गौतमले पनि दोस्रोपटक सांसद बन्ने अवसर प्राप्त गरेकी छिन् । उनले २०५६ सालमा रुकुमबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्। 

एमाले तत्कालीन अध्यक्ष मदन भण्डारीसँगै दासढुंगा दुर्घटनामा परी ज्यान गुमाएका पार्टी संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी मायादेवी न्यौपाने पनि समानुपातिक सांसदको सूचीमा छिन् । न्यौपानेलाई अवसर नदिएको भन्दै पार्टीभित्र आलोचना हुँदै आएको थियो। 

प्रकाशित: २९ माघ २०७४ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App