१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘सरकारी नीति उद्योगमैत्री भएन

नेपाल रिपब्लिक मिडियाले आइतबार विराटनगरमा आयोजना गरेको राउन्ड टेबलका सहभागी । तस्बिर : चुमन बस्नेत-नागरिक

विनोद सुवेदी-चुमन बस्नेत
विराटनगर – प्रदेश १ का उद्योगी–व्यवसायीले सरकारी नीति र बर्तमान ऐन–कानुन उद्योगमैत्री नभएको गुनासो गरेका छन् । मुलुक संघीय संरचनामा गएकोले अब बन्ने प्रदेश सरकारले उद्योगको लागि लगानीमैत्री वतावरण बनाउनुपर्ने बताए ।

प्रदेश नं १ मा उद्योग, कृषि, जलविद्युत्, पर्यटन, शिक्षा, स्वास्थ्यको सम्भावना रहेको बताए । सरकारको व्यवहार र नीति उद्योग–व्यवसायलाई मास्ने खालको रहेको आरोप लगाए । मुलुककै आर्थिक मेरुदण्ड मानिएको पूर्वी नेपालको उद्योग–व्यवसाय क्षेत्रको समस्यालाई सरकारले गम्भीरतापूर्वक नलिएको उनीहरुको भनाइ छ ।

नेपाल रिपब्लिक मिडियाले आइतबार विराटनगरको ह्यारिसन होटलमा आयोजना गरेको ‘प्रदेश १ को सम्भावना’ विषयक अन्तक्र्रियामा सहभागी स्थानीय उद्योगी–व्यवसायीले दुनियाँले लोभलाग्दो प्रगति गरिरहेको बेला नेपालमा भने उद्योग–व्यवसायलाई पछाडि धकेल्ने काम मात्र भइरहेको बताए । ‘उद्योग–व्यवसायको क्षेत्रमा सरकारी नीति नै प्रस्ट भएन,’ मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले भने, ‘अहिले कै अवस्था हेर्ने हो भन्ने बैंक ब्याज चुलिएको छ, बैंकमा पैसाको अभाव छ । तर, त्यसलाई नियन्त्रण गर्न सरकारले खासै चासो देखाएको छैन ।’

उद्योगपति सारडाका अनुसार बैंक ब्याजको समस्या र बिजुलीको अभावले उद्योग–व्यवसाय क्षेत्र अगाडि बढ्न सकेको छैन । ‘आर्थिक क्षेत्रमा अहिले भूकम्पका कम्पनहरु जारी छ,’ उनले भने, ‘हामी अभाव, त्रास र सरकारको गलत सोचका कारण समस्या भोगिरहेका छौं ।’ बैंकको अनियन्त्रित ब्याजले पनि उद्योग–व्यवसायमा असर परिरहेको उनको भनाइ छ । ‘बैंकले सुतीसुती कमाइरहेका छन्, हामी उद्योगी–व्यवसायी त्रासमा छौं,’ उनले भने, ‘औद्योगिक क्षेत्रले घोषणा गर्दैमा उद्योग स्थापना हुँदैन, त्यसको लागि सरकारले वातावरण पनि बनाइदिनुपर्छ ।’

प्रदेश १ मा उद्योग, कृषि, जलविद्युत् र पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेको चर्चा गर्दै उद्योगपति सारडाले कोसीमा हाइड्याम बनाएर सिँचाइको सुविधा बढाउनुपर्ने बताए । ‘विराटनगरले आफ्नो बारेमा मात्र सोच्दैन, देशको बारेमा पनि सोच्छ,’ उनले भने, ‘त्यसैले प्रदेश १ को साधन–स्रोतलाई व्यवस्थित गर्दा देशको आर्थिक मेरुदण्ड मजबुत हुन्छ ।’ उनले कर तिर्नेहरुको वर्गीकरण गरेर सरकारले सम्मानका लागि कार्ड उपलब्ध गराउनुपर्ने माग गरे । ‘तर नेपालमा कर तिर्नेलाई राम्रो दृष्टिले हेरिँदैन, यो सोचमा परिवर्तन हुनु जरुरी छ ।’

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले सातवटै प्रदेशमा बढी सम्भावना बोकेको प्रदेश नम्बर १ नै रहेको दाबी गरे । उनले प्राकृतिक स्रोत–साधनको अलावा प्रदेश १ उद्योग–व्यवसायको क्षेत्रमा पनि अग्रणी रहेको बताए । प्रदेश १ लाई अन्तर्राष्ट्रिय व्यापारको ट्रान्जिट बनाउन रानी–किमाथान्का सडकलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उनले सुझाव दिए । ‘चीन, भारत, बंगलादेश र भुटानको व्यापार र सम्पर्कका लागि यो सडक ट्रान्जिट बन्न सक्छ,’ उद्योगपति राउतले भने, ‘यति धेरै महत्वको सडकको ट्र्याक खोल्न खोज्दा ठाउँ–ठाउँमा स्थानीयले अवरोध गरिरहेका छन्, सरकार खासै गम्भीर देखिदैन ।’

सरकारको कर नीतिमा एकरुपता नरहेको भन्दै उनले स्थानीय निकाय, प्रदेश सरकार र संघीय सरकारबीच करकै विषयमा झमेला हुने सम्भावना रहेको बताए । ‘व्यापार घाटा बढ्दो छ, ऊर्जा उत्पादनमा सरकारले ध्यान दिए पेट्रोलियम पदार्थ  खपत कम गरेर व्यापार घाटा कम गर्न सकिन्छ,’ उद्योगपति राउतले भने, ‘प्रदेश १ मा कृषि क्षेत्रमा ठूलो सम्भावना छ, कृषि उपजको बजारमा सरकारले ध्यान दिनु जरुरी छ ।’
मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले राजनीति परिवर्तन हुँदा राजतन्त्रदेखि गणतन्त्रसम्म नाम मात्र परिवर्तन भएको नीति र सिस्टम पुरानै रहेको बताए । उनले नेपालमा बजारको ठूलो सम्भावना रहे पनि सरकारी नीति–नियमले प्रगतिउन्मुख नरहेको बताए । ‘राम्रो नीति बनायो भने नेपाललाई पाँच वर्षमै विकसित बनाउन सकिन्छ,’ उद्योगपति मुन्दडाले भने, ‘सरकारले ठोस निर्णय गरेर देशलाई समृद्ध बनाउनुपर्छ ।’ अर्का उद्योगपति अभिनाश बोहराले नेपालको चिन्ताको विषय नै व्यापार घाटा रहेको बताए । उनले सरकार र सरकारी निकाय उत्तरदायी नरहेको बताए ।

‘यसरी देश र प्रदेश समृद्ध हुन सक्दैन,’ बोहराले भने, ‘आर्थिक विकासका लागि भौतिक पूर्वाधारमा सरकारले ध्यान दिनु जरुरी छ ।’युवा उद्योगपति अनिल सारडाले उद्योग–व्यवसायको क्षेत्रमा दुनियाँले लोभलाग्दो प्रगति गरिरहेको बेला नेपाल भने अलमलमै रहेको बताए । ‘उद्योग–व्यवसायको क्षेत्रमा हामी यत्तिकै ढिलो भइसकेका छौं, अब स्पिड बढाउनुको विकल्प छैन,’ उनले भने, ‘यतिबिध्न समस्या झेल्दै नेपालमा उद्योग–व्यवसाय सञ्चालन गरिरहेकालाई पुज्दा हुन्छ ।’ उद्योग संगठन मोरङका बरिष्ठ उपाध्यक्ष भीम घिमिरेले प्रदेश १ मा कृषिलाई आधुनिकीकरण मात्रै गरे कृषिमा परनिर्भरता हट्ने बताए । ‘सरकारको नीति स्पष्ट नहुँदा उद्योग–व्यवसायको क्षेत्रमा लगानी गर्न डराइरहेका छन्,’ घिमिरेले भने, ‘उद्योगी–व्यवसायीलाई हेर्ने सरकार र कर्मचारीको गलत सोच हटाउनुपर्छ ।’  

 उद्योगपति भोलेश्वर (भोला) दुलालले बैंकिङ क्षेत्रको समस्याका कारण उद्योग–व्यवसाय क्षेत्र समस्याग्रस्त भएको बताए । ‘उद्योग–व्यवसाय क्षेत्रको समस्या घामजस्तै छर्लंग छ,’ दुलालले भने, ‘हामीलाई सरकारले निरीह बनाइदिएको छ, उद्योग–व्यवसायको क्षेत्रका लागि सरकारको सोच र नीति राम्रो भएन ।’ युवा उद्योगपति सुभाष आचार्य, सन्तोष चौधरी, बैंकर मणि अज्र्याल, शालिग्राम भण्डारीले उद्योग–व्यवसाय र बैकिङ क्षेत्रमा प्रदेश १ अब्बल रहेको बताउँदै यी क्षेत्रको समस्या समाधानका लागि संघीय र प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए ।


 

प्रकाशित: २९ माघ २०७४ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App