१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

राजमार्गमै तरकारी बजार

सर्लाहीको लालबन्दीस्थित राजमार्गमा काठमाडौं लगायत विभिन्न सहरमा पठाउन गोलभेंडा प्याकिङ गरिँदै । तस्बिर : टंक क्षेत्री

सर्लाही – मुलुकमै प्रख्यात लालबन्दीस्थित तरकारी बजार पूर्व–पश्चिम राजमार्गमै लाग्ने गरेको छ । बिहान झिसमिसेदेखि मध्यान्हसम्म तरकारी बोकेका सवारी साधन तथा थुपारिएका तरकारीले राजमार्ग क्षेत्र भरिभराउ हुने गरेको छ । दैनिक हजारौं सवारी साधन गुड्ने यो राजमार्गमा तरकारी बजार लाग्दा आवागमनमा निकै समस्या आइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

हरेक दिन बिहान लालबन्दी बजारस्थित पूर्व–पश्चिम राजमार्ग नै अतिक्रमण गरेर किसान र ब्यापारीबीच तरकारी किनबेच हुने गरेकाले उक्त राजमार्ग हुँदै गुड्ने लामो तथा छोटो दूरीका सवारी साधन, मोटरसाइकल, साइकल तथा पैदलयात्रु समस्यामा पर्ने गरेका छन् । बिहान ६ बजेदेखि झन्डै ६ घन्टा लालबन्दीका तरकारी बजार लाग्ने ठाउँको पूर्व–पश्चिम राजमार्ग किसानले बिक्रीका लागि राखिएका तरकारीले भरिएको हुन्छ। 

तरकारी बजारका कारण बिहानभर लालबन्दीमा ट्राफिक व्यवस्थापन गर्नै समस्या 

सानले बिक्रीका लागि ल्याएका तरकारी बोकेका साइकल, टायर गाढा एवं विभिन्न सवारी साधन राजमार्गमा अव्यवस्थित ढंगले राखिएका हुन्छन् । राजमार्गको दुवैतिर तरकारी किनबेच गर्नेहरुको भीडले यातायातमा समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव निरीक्षक केसरमान बस्नेतले जानकारी दिए । ‘तरकारी बजारका कारण बिहानभर लालबन्दीमा ट्राफिक व्यवस्थापन गर्नै समस्या भइरहेको छ,’ बस्तेतले भने, ‘अन्यत्र सार्नका लागि नगरपालिका कार्यालयसहित सरोकारवाला निकायलाई जानकारी गराएका छौं।

 तरकारी किनबेच गर्नेहरुको अतिक्रमणबाट सडक अत्यन्त साँघुरो बन्ने गरेकाले लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गमा बढी सवारी दुर्घटना हुने गरेको र सर्वसाधारणको ज्यानसमेत जाने गरेको ट्राफिक प्रहरीले जनाएको छ । ‘आवागमन सहज बनाउन दैनिक बिहानभर तरकारी बजारमा नै दुईजना ट्राफिक प्रहरी खटाउनु परिरहेको छ,’ उनले भने।

लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले राजमार्गमै लाग्ने गरेको तरकारी बजार सार्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘राजमार्गमै बजार लाग्दा लालबन्दी अव्यवस्थित मात्र नभई यहाँको स्वरुप नै बिग्रिएको छ,’ उनले भने, ‘डुमडुमे खोला किनार राजमार्गभन्दा केही दक्षिण तरकारी बजारका लागि भौतिक संरचना निर्माण भइरहेको छ, २० दिनभित्र सारिसक्छौं ।’

सर्लाही बाहेक महोत्तरी र सिन्धुली जिल्लाका किसानले समेत तरकारी बिक्री गर्न लालबन्दी बजार ल्याउने भएकाले हरेक बिहान लालबन्दी बजारमा अत्यन्त भीडभाड हुने गरेको छ। 

मंसिरयता दैनिक गोलभेंडा एक सय मेट्रिक टनभन्दा बढी तथा भान्टा, सिमीलगायत अन्य तरकारी १५ मेट्रिक टनभन्दा बढी लालबन्दी बजारमा संकलन भएर काठमाडौंसहित मुलुकका विभिन्न प्रमुख सहर निकासी हुने गरेको छ । 

 

प्रकाशित: २८ माघ २०७४ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App