१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नुवाकोट दमकल सेवाविहीन

नुवाकोट -  नुवाकोट जिल्ला दमकल सेवाविहीन भएको छ ।यहाँ रहेका बाह्र स्थानीयमध्ये विदुर नगरपालिकाको दमकल बिग्रिएपछि जिल्ला नै दमकल सेवाविहीन भएको हो । दुई नगरपालिका र १० गाउँपालिका रहेको यहाँ कुनै पनि स्थानीयतहमा दमकल सेवा नहुँदा अहिलेको हिउँदयाम तथा सुक्खायाममा आगलागी भएमा ठूलो क्षति पुग्ने जोखिम देखिएको छ ।

विसं २०५६ मा चीन सरकारबाट अनुदान प्राप्त भएको बिदुर नगरपालिकाको दमकल ट्यांकी चुहिने भएर ‘बिग्रिएकाले ममर्त नभएसम्मका लागि सेवा दिन नसक्ने’ सूचना निकालेर थन्क्याएपछि सिंगो जिल्ला नै दमकल सेवाको सुविधा पाउनबाट बञ्चित भएको हो ।

शुक्रबारदेखि बिदुर नपाले सूचनामार्फत मर्मत नभएसम्मका लागि दमकल सेवा अवरुद्ध रहेको सूचना जारी गरेको हो । बिदुर नगरपालिका प्रमुख सञ्जु पण्डितका अनुसार दमकलबाट पानी चुहिएर काम गर्न छाडेपछि ममर्तका लागि पठाउन लागिएको छ । “प्राविधिक अध्ययनमा मर्मतका लागि रु १० लाख लाग्ने अनुमान गरिएको छ”, प्रमुख पण्डितले भन्नुभयो, “मर्मत खर्चको अभाव र कम्तीमा एक महिना समय लाग्ने देखिएकाले के गर्ने अन्योलमा छौँ ।”

विदुर नगरपालिकाको दमकलले नुवाकोटसहित रसुवामा समेत सेवा पुर्याउँदै आएको थियो । राज्य पुनःसंरचनाले स्थानीय तहको केन्द्र रहेको स्थान, भूकम्पपछि सर्वसाधारण एकीकृत बस्ती निर्माणतर्फ लागेकाले बढ्दै गएको बजारीकरण र घनाबस्तीले आगलागीको जोखिम बढ्दै गएको छ । यो वर्षको मंसिरदेखि माघ अन्तिम सातासम्म जिल्लामा सात स्थानमा आगलागी हुँदा एक जनाले ज्यान गुमाएका छन् ।

अहिलेको सुक्खायामममा डढेलो, आगलागीलगायतमा एम्बुलेन्स सेवाको भूमिका अति आवश्यक भए पनि सिंगो जिल्ला नै दमकल सेवाविहीन भएको छ । रासस
 

प्रकाशित: २७ माघ २०७४ ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App