१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

खप्तडका मिठा अनुभूति

हरिहर पौडेल
हाम्रो गाइड बनेका लक्ष्मण भाईले ‘अब धेरै छैन त्यही रुखको टुप्पानिर हो पुग्नुपर्ने’ भन्दा रमाइलो भयो । त्यस्ता रुख धेरै छाडिए तर गन्तब्य आएन । कात्तिक अन्त्यतिर पदयात्री जान रोकिने सिजन परेछ । हामी ४ जना र गाइड बाहेक अरु बाटामा कोही भेटिएनन्।

बाटाभरी फूल्ने अनगिन्ति फूल करिब करिब सुकि सकेका । खप्तडको  विशेषता भनेकै अन्त नपाइने वनस्पती फूलवारी पनि रहेछ । लक्ष्मण भाईले रोक्दारोक्दै जितेन्द्र र म पटकपटक फूलहरुको झाडीमा लुकामारी खेल्यौं, तीनै वनस्पतिको असरले होला टाउको नराम्रोसंग दुख्यो हाम्रो।  

सिजनमा मात्र होटल खुल्छन् । होटलवाला हामीलाई २ बजेसम्म कुरेर हिँडेछन् । त्यसैले हामी निकुञ्जकै आवास गृहमा बस्यौं।

१८ कार्तिक (०६९) को साँझ जाने कि नजाने दोमनलाई चिरेर व्यवस्थापन गर्न अग्रसर भयो कमल, मेरो उत्साह र कमलको व्यवस्थापनले हामीलाई पु¥याएकै हो जहाँ पृथ्वीमा छु भन्ने भ्रम रहन्छ ‘खप्तड’ । १९ कात्तिक धनगढीवाट विहान हिँड्दा पनि रमेशलाई हामी पुगौंला भन्ने कल्पनासम्म थिएन । अत्तरिया आए पछि आफन्त कहाँ गएर जाडोका लागि ज्याकेट र स्लिपिंग ब्याग जोहो कमलले नै ग¥यो । विहान १० बजे अत्तरीयावाट रमेश (चालक) को हँकाईले हामीलाई बाटोमा खाना र चिया पछि डोटी पु¥यायो । सांझ सिलगडीको होटलमा बस्यौं।

सबेरै चौखुट्टीमा चिया खाँदै बाटो सोध्न रोकियौं । तँ चिता म पु¥याउँछु भने झैं भेट भए एक प्रहरी निरिक्षक जसले हामीलाई जानकारी मात्र दिएनन्, हाम्रो अतिथि सत्कार र खप्तडसम्म जाने आउने व्यवस्थापन नै गरिदिए । अनि हामी लाग्यौं साँफेवगर ।
सशस्त्र प्रहरी बलको आतिथ्य सत्कारसहित १० बजे नै खाना खाएर र केही टाउजर र गलबन्दी किनेर हिँडियो खप्तड तर्फ । हामीलाई पथप्रदर्शक चाहिन्छ भनेर उहाँहरुले नै तल्ली नैनीका (अछामको गाउँ) लक्ष्मण भाईलाई बाटोमै भेट्ने चाँजो मिलाई दिएका । करिव ७ किलोमिटर जति गाडीमा हिँडेपछि १५ मिनेट कुर्दा उनीसंग भेट भयो।

बेलैमा साविकका गाविस अध्यक्ष समेत रहेका ६८ वर्षे अर्जुन राणाको नैनीस्थित घरमा बास बस्ने र भोली जाने निधो गरिएको रहेछ । एउटा भाले काटेर राम्रोसंग सत्कार गरे राणाजीले।

भिरालो परेको मुस्किलले घर बनाउन मिल्ने ठाउँ नैनी । त्यहीवाट नै खप्तड राष्ट्रिय निकुन्ज शुरु हुने रहेछ । बाटो (सडक) खप्तड पु¥याउने लक्ष्य लिएका राणाकहाँ नै धेरै सरकारी र काठमाडुबाट गएका पाहुना लाग्ने रहेछन् । ठूला मान्छे उनकोमा बास बसेको, विकासका लागि सहयोग गर्छु भनेका र पछि बिर्सेको भनेर बेलीबिस्तार पनि राम्रैसंग लगाए उनले।

भाले वासेको आवाजसंगै उठेर लक्ष्मण भाइको अगुवाईमा हामी उकालो लाग्यौं । करिव १ घण्टा उकालो पछि नै पानीको श्रोत बाटोमा पाइने रहेनछ । करिब साढे ९ बजेतिर नै भोकले हुइटु पा¥यो । बाटो खर्च कुखुराको मासु र रोटी राणाले नै पठाएका थिए । खुब मीठो भयो । बोकेका दुई दुई बोतल पानी पु¥याएर पिउनु पर्ने । कतै बाटोको निशान त कतैकतै झाडी झाडी हिँड्नु पर्ने । बाटोमा थुप्रै गोठ भेटिए तर सुनसान । रमेश हिँड्नमा अलि कमजोर रहेछन् बाटोमा ‘म जान सक्दिन भनेर झण्डै रोएका’ । नैनीका बासिन्दाको खप्तड पुग्न जम्मा १ बिहानको बाटो रे।

बल्ल बल्ल लामो सास तान्दै पुगियो गन्तव्यमा अपरान्ह साँढे ४ बजे । लखतरान ज्यान टाकुरामा पुगे पछि यसै रमाउने रहेछ । ४ जिल्ला (डोटी, अछाम, बाजुरा र बझांग) को संगम बनेको खप्तड खप्तडै रहेछ । चारवटै जिल्लाका विभिन्न स्थानवाट जान सकिने भएकाले यही बाटो (रुट) उत्तम हो भन्न नसकिने । स्थानीय आफ्नो गाउँको रुटलाई प्राथमिकतामा राखेर कुरा गर्छन् ।
चिल्ला पाटन, गुजुमुज्ज पाटन सँगैका वनहरु । कुनै उत्कृष्ट कालीगढले फूर्सदमा कुँदेको अनुपम सुन्दरता । सानो टाकुरामा राष्ट्रिय निकुञ्ज कार्यालय, तल नेपाली सेनाको सानो टुकडी । अर्कोतिर पर्यटकका लागि सामान्य होटल । त्यहाँ पुग्ने जो कोही पनि प्राकृतिक मेल पनि यस्तो हुँदो रहेछ भनेर अचम्म नपर्ने कमै होलान् । जब खप्तडको शिरमा पुगेर पल्टँदा पृथ्वीमा छु भन्ने भ्रम पालिएको जस्तो पो लाग्यो।

बढ्दो चिसो, सिरसिरे हावा, साँझमा एकैछिन पनि बाहिर बस्न नसकिने । होटल  सिजनमा मात्रै खुल्ने, बस्नलाई नेपाली सेना वा राष्ट्रिय निकुञ्ज कार्यालयमा बस्नु पर्ने । हामी आउने खबर गरेका त थियौं होटलमा तर २ बजेसम्म कुरेछन् अनि हिँडेछन् होटल चलाउने एक भाई । निकुञ्जकै आवास गृहमा बस्ने निधो गरियो । निकुञ्जका कर्मचारीले मीठो दाल, भात र साग खुवाए । वीचमा आगो बालेर बस्ने र छेउमै लहरै सुत्ने व्यवस्था गरियो । हामीसंग सिल्पिङ ब्याग त थिए तर जाडो धेरै हुनाले नेपाली सेनाको क्याम्पवाट थप सिल्पिङ ब्याग आयो । तैपनि कतावाट हो हावा छिरेर रातभर सतायो चिसोले।

बिहान पानी छुनै नसकिने चिसो । बल्ल नित्य कर्म सकेर बाहिर निस्कँदा त पृथ्वीमा छु भन्ने भ्रम पो भयो त । पानी जमेको, जमेको पानीमा घामका किरण पर्दा टलल टल्कने । पानी नजमेका ठाउँमा घामका किरणले शीतका थोपालाई इन्द्रेणी बनाएका । खप्तड बाबाको कुटी माथि जंगलमा रहेछ । तल त्रिवेणीधाम जहाँ मेला समेत लाग्छ।

खप्तड बाबाको कुटी वन वीचमा रहेछ । उहाँले  प्रयोग गरेका सामान पनि देख्न पाइयो । पानीका लागि २ मिनेट जति तल कुवा रहेछ । त्यहाँ बसेर बाबाले विचार विज्ञान सहितका किताब लेख्नु भएको थियो।

पहाडको टाकुरामा बनेका समथर उपत्यकाहरुको गठजोडले कसलाई पो लोभ्याउँदैन र ! पानी, जमिन र जंगल । जमेको पानी फुटाएर कमल भित्र छि¥यो आफ्नो मुडुलो टाउको समेत । बाहिर निस्कँदा आछ्छु । बल्लबल्ल स्नान गरियो त्रिवेणी धाममा । पूर्व आधा घण्टा लाग्ने खप्तड ताल चराका लागि उत्तम वासस्थान रहेछ । क्षितिजमा देखिने बडीमालिका, रामारोशन लगायतका मनोरम पहाड आऊ भनेर जिस्क्याए जस्ता।

घुमघाम सकेर पुनः हामी फर्कियौं राष्ट्रिय निकुञ्जमै । कार्यालयका कर्मचारीको पेइंग गेष्ट बनेर खाना पछि लागियो महादेवथानतिर । कहिले मैदानको बाटो, कहिले जंगलको लगातार हिँडेपछि महादेव थान पुगियो । महादेव थानमा केही समय विश्राम पछि हामी ठाडो खरखरे ओह्रालो झरियो । बाटामा फेरि रमेश नै हिँड्न नसक्ने । बाटोमा एक बथान बँदेल भेटिए।

सांझ ८ बजे पुगियो एउटा गाउँमा । जहाँ जता पनि पानी नै पानी । त्यहाँवाट करिव १ घण्टा तेर्सो हिँडाइमा पुगिने रहेछ नैनी । साथमा लक्ष्मण भाई भएकाले समस्या परेन । राणाजीको आतिथ्य बाहेक अर्को उपाय पनि त थिएन!  

छाउपडी सुनेका थियौं, त्यो पहिलोपटक देख्यौं पनि, जंगलको पुछारमा साना २ वटा गोठ रहेछन् । एक जना नानी रहिछन् जति सोधे पनि केही बोलिनन् । विकास भनेको बाटो र सुविधा मात्र कहाँ हो र ? चेतना पनि त विकास र सभ्यताकै चरण हो नि ।
विहानै अर्जुन राणा र लक्ष्मण भाईसंग विदा भएर हामी साँफेबगर खाना खान पुग्ने भनि  कस्सियौं । बल्ल २ बजे पुगियो साँफेबगर । कति आतिथ्य लिनु भनेर हामी होटलमा खाना खाएर साँफेबगर वरपरका ठाउँ समेत सुमसुम्यायौं । रमाइलो ठाउँ रहेछ, सुदूर पश्चिम पहाडको एउटा केन्द्र । त्यसपछि रमेश (चालक) जी को लगातारको हकाईमा धनगढी सरर।

बुद्ध एयरको प्लेन चढ्न जाने बेला जुत्ता हेरेको त निकै फोहोर भएछ । म त बाथरुमकै चप्पल लगाएर आएँ । जितेन्द्र म पनि चप्पल लगाएरै जान्छु भन्दै थियो, भेटिएन । जुत्ताको फोहर त सफा गरियो । मनका अनुभव, भावनाहरु, यी आँखाले देखेका अनुपम स्वरुपहरुको चर्चा गरेर पनि सफा पार्न सकिएको छैन।
 

प्रकाशित: २७ माघ २०७४ ०५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App