१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

डेउडा, ५३ बोका र पार्की

हेमन्त विवश

जिन्दगीका मोडैपिच्छे हिँड्न सिकाएकै हुन्छ समयले । बोकिरहेकै हुन्छ हरेक मानिसले आ–आफ्नो विगत । सुसेली रहेकै हुन्छ, विगतका तिनै भाकालाई आफ्नै तरिकाले । विगतका तिनै घटना, परिघटना र आवाजले बेलाबखत हल्लाइरहेकै हुन्छन्, भूकम्पका पराकम्पनलेझैँ ।

जिन्दगीरूपी यात्रामा कोही ऊर्जापूर्वक हिँडोस् वा सुस्त गतिले, उल्लासपूर्वक हिँडोस् वा पीडाका कुटुरा बोकेर, आखिर बुढेसकालको लय त्यही याद त हुँदोरहेछ । विगतका तिनै यादका कुटुरा फुकाल्नु त रहेछ जिन्दगी । दुःख पीडाका पनि के नै कुरा रहे र ? जन्मदेखि मृत्युसम्म केही न केही दुःख भोगेकै हुन्छन् सबैले । कुरो कम÷बेसीको हो । दुःखकष्ट खेप्दै जाँदा बानी नै परिसक्दो रहेछ । त्यसैले त डोटी बाँझ ककानीका कटवाले भन्छन्, ‘म अचेल दुःखलाई दुःख माण्णैन । सबै पचाइबर हो कि मनै यसोइ हो त्यो पन थाहा छैन ।’
पुसको महिना निकै नै जाडो थियो ।

बिहानपखको घाम ताप्दै कुरा गर्ने क्रममा उनको चाहनाअनुसार साहुजी मानबहादुर खड्कालाई अलिकति ‘बिजुली पानी’ (स्थानीय रक्सी) दिन अनुरोध गरेँ । क्षणभरमै निकै नै रोमाञ्चित हुन गयो माहोल । बिस्तारैबिस्तारै खुल्न थालेका थिए उनी । उनलाई विगतका घटना सम्झिन सजिलो होस भनेर प्रसंग कोट्याइरहेका थिए, सालगाउँका भीमबहादुर खड्का । उमेरले ८० नाघिसकेका उनी विगतका कुरा सम्झन कहिलेकाहीँ आधी ग्लाससम्म पिउँछन् । त्यो पनि कसैले प्रेमपूर्वक दिएमा । पुराना दिनका डेउडाका नायक–नायिका र लोकगीतका ती शृंखलाको प्रसंग उठ्नु हुँदैन, उनको मुहारमा छुट्टै चमक भेटिन्छ । ती नायक–नायिका अथवा उनीसँग सवालजवाफ गर्ने ड्यौडियाहरू र त्यो समयको स्मृति मधुर अनि प्रिय बनेर आइरहेको हुन्छ बेलाबखत ।

उनको न्वारनको नाम गोपाल पार्की हो । डोटी बाँझका युवानेता गोविन्द खड्काका अनुसार गाउँघरका मान्छेले मात्र नभएर, त्यो क्षेत्रका सबैले उनलाई कटवाले भनेरै बोलाउँछन् । बुवाबाजेकै पालादेखि गाउँघरबाट कर उठाएर मुखियाकहाँ पुर्याउने कार्य गर्ने भएकाले उनका बुवालाई कटवाले भनिन्थ्यो । बुवाको स्वर्गारोहणपछि त्यो जिम्मेवारी उनीमा सर्यो । उनलाई कटवाले भनियो । उसो त पेसाले उनी फलामका हतियार र सुनका गहना बनाउनेमा पर्छन् । तर, बढीजसो डेउडा गीतका शब्दलाई नै जिन्दगीका धारिला हतियार र सुन्दर गहना बनाए उनले । १८ वर्षकै उमेरदेखि डेउडा खेलमा सवालजवाफ गर्न थालेका उनी चौकी क्षेत्रकै नाम चलेका गीतांगे हुन् ।

डोटी जिल्लाको बीचबाट बगेकी छन्, सेती नदी । त्यही सेतीको पारिपट्टिको भू–भागलाई चौकी र वारिको भू–भागलाई पस्से भनिन्छ । त्यसै चौकी क्षेत्रबाट उदाएका थिए, डेउडा सम्राट चल्ले साई पनि । त्यतैका हुन् लाले बैदार र लङ्गरी खड्का पनि । कुराकानी गर्ने क्रममा बेलाबखत ती नामहरू सम्झिरहन्थे । उतिबेला उनी दुई–तीन दिनको बाटो हिँडेर बझाङ बाजुरासम्म पनि पुग्थे, डेउडा खेल्न । उताका नाम चलेका गीतांगेहरू पनि आउँथे रे चौकी क्षेत्रमा ।

विगतमा पाइलकी जाँतमा डेउडा खेल खेलेको प्रसंग उठान मात्र के गरेका थिए, भीमबहादुर खड्काले गोपालको मुहारको चमक नै छुट्टै देखियो । पाइल भन्ने गाउँमा देवीको मन्दिर छ । त्यही गाउँमा मनाइने जात्रा भएको हुँदा उक्त जात्रालाई पाइलकी जाँत वा जात्रा भनिन्छ, जहाँ रमिता हेर्न निकै टाढाटाढाबाट आउँछन् मान्छेहरू । उनले कैयौँपल्ट डेउडा खेले उक्त जात्रामा । निकै नै पेचिला र मर्मस्पर्शी सवालजवाफ हुन्थे । हजारौँ श्रोता र दर्शकलाई मनोरञ्जन दिइन्थ्यो । त्यो विगत कम्ता मजाको थिएन । क्षणभरमै विगत सम्झेर उनले भावुक मुद्रामा भन्न थाले, ‘अचेलकालाई डेउडाको मर्म थाहा छैन ।’

डेउडा गीत एउटै गोलबद्ध घेरामा खेलिने भए पनि दुई समूह हुन्छन् । दुवै समूहमा एक–एकजना प्रतिनिधि ड्यौडिया हुन्छन् । विगतमा ती दुवै प्रतिनिधि पात्रको शिरमा सेतो पगडी बाँध्न लगाइन्थ्यो र छाता ओढाइन्थ्यो । त्यो चलन हिजोआज निकै नै कम मात्रामा देख्न पाइन्छ । जुन उनीहरूको प्रतिभाप्रतिको सम्मान हो । साथै आमदर्शकले चिन्ने संकेत पनि हो । विवाहको दिन दुलाहालाई छाता ओढाएझैँ ओढाइन्छ डेउडियाले छाता । यो छाता ओढ्ने–ओढाउने परम्परालाई मनन गर्दा खेलको आकर्षक पात्र अथवा डेउडा खेलका दुलाहाकै रूपमा लिन सकिन्छ ।

डेउडाका विषयमा वा डेउडाको परिभाषा दिँदा डोटेली संस्कृतिका क्षेत्रमा कलम चलाएका साहित्यकार डा. डिपी भण्डारी र चलाइरहेकामध्ये देवकान्त पन्त, शिवराज श्रेष्ठ मल्ल डा. जयराज पन्त, पद्मराज जोशी प्रभात, भक्तबहादुर बलायर, मनिराज जोशी खेमराज पनेरु, मुक्तिनाथ शर्मा, बद्री शर्मा बिनाडी, गिरिराज जोशी, दिव्यश्वरी जोशी कृष्ण पनेरु वञ्चित लगायत कैयौँ स्रष्टासँग सहमति जनाएको ठानिन्छ । यद्यपि उनले ती कसैको पनि न नाम सुनेका छन्, न त तिनका कृति नै अध्ययन गर्न सक्छन् । ‘त्यै डेढ पैतलीमा खेलिने रे एकपटकमा डेढ पंक्ति गाइने भया हुनाले डेउडा भणिएको हो,’  उनले सहज ढंगले भनिदिए । वर्तुलाकार समूहमा प्रश्नोत्तर शैलीमा पहिले देव्रे खुट्टा अघि सारेर, डेढ पैतलीको पदचापमा सन्तुलन मिलाएर समूहमा लयबद्ध ढंगले गाइने र खेलिने (नृत्यसहितको) गीत नै डेउडा हो । जसका शब्दशब्दमा जिन्दगी र जगत्का आयाम र आलाप भेटिन्छन् ।

१९९४ मा बुवा मन्नो पार्की र आमा मन्धरी पार्कीका पुत्ररत्नका रूपमा जन्मेका गोपाल पार्कीले तीन वर्षको उमेरमा बुवा गुमाए भने पाँच वर्षको उमेरमा आमा । कालो अक्षर भैँसीबराबर भनेझैँ छ उनलाई । डेउडा खेलमा सवालजवाफ गर्ने क्रममा उनले कतै हार खाएनन् । कुनै डेउडियाले उनलाई हराउन सकेन । कुनै कुनै ठाउँमा डेउडा खेल्दा जितेपछि स्याबासीस्वरूप बोका मिल्थ्यो, जित्ने समूहलाई । यसरी खाइएका बोकाको संख्या पनि ५३ पुगेछ । पछिल्लो समय भने केही नगद पनि पाए, डेउडा खेलेर । केही वर्षअगाडि नैपालमा समेत डेउडा खेल्न बोलाएको कुरा सुनाउँछन् उनी ।

उहिले उहिलेका सुदूरपश्चिमेलीहरू काठमाडौंलाई नैपाल भन्थे । उनको उमेरका केही बूढापाकाहरू अहिले पनि नैपाल नै भन्छन् काठमाडौंलाई । उनले कति ठाउँमा र कतिपटक डेउडा खेल खेले कुनै हिसाब नै छैन । कहाँ कति ओजपूर्ण गीतहरू रचना गरे, त्यसको पनि कतै लेखाजोखा छैन । तर, ३० वर्षको उमेरमा डोटी असद्वालामा भएको सवालजवाफ भने बिर्सन खोज्दा पनि बिर्सिन नसक्ने गरी अमिट रूपले बसेछ उनको मानसपटलमा । २०२४ फाल्गुन शिवरात्रिका दिन निकै नै भव्य र सभ्य ढंगले खेल जमेको रहेछ । गोपालसँग सवालजवाफ गर्ने हेतुले देखापरिछन्, एक महिला । जस्को नाम रहेछ धौली । उनी उतै गर्खा साइलकी थिइन् । साइल गर्खा डोटी र बझाङको सिमानामा पर्छ ।

कालो चोलो गजीको गुन्यु र सेतो पछ्यौरीले सजिलै संकेत गथ्र्यो रे उनी विधवा हुन् भन्ने । कसैले प्रयोग गरेको रहेछ उनलाई । त्यही भएर उनले गोपाललाई गीतमार्फत निकै नै होच्याएर प्रस्तुत हुन थालिछन् । यसरी होच्याउने क्रममा केही अश्लील शब्द समेत प्रयोग गर्न पछि परिनछन् । तँ बजालको हलो जोत्ने हली त होस्, तेरो के नै हैसियत छ र भन्ने आसयको गीतले कञ्चट तताए छ गोपाल पार्कीको । अति भएपछि रिसको झोँकमा गोपालले पनि भनिदिए–

भनेको मान्दैन मान्नी हेर यो मुर्खेनी,
पोइ मरेकी बाले राणी पोइ भएइ पुर्खेनी ।
बल्ल त्यसको प्रतिउत्तर निकै भावपूर्ण ढंगमा आए छ :
कटकट गहुँ काटल्लै पटपट बानल्लै,
पोइ मरेका गैला दुःख जोइ मरे जानल्लै ।
यसरी एकदिन एकरातसम्म लगातार डेउडा खेल चलेछ । श्रोताहरू पनि ठूलो संख्यामा उपस्थित रहेछन् । जित गोपालकै भएछ ।

धौलीसँग सवालजवाफ भएको मितिले ठिक ६ महिनापछाडि गोपालकी श्रीमतीले धर्ती छाडिछन् । पाँच महिनाकी छोरीभित्र च्याहाच्याहा गरिरहिन् । आमाको काखको खोजी गरिरहिन् । आमाको दूधको खोजी गरिरहिन् । तीन वर्षको छोरोलाई काखमा राखेर आँगनमा लासको अगाडि गोपाल भक्कानिइरहे । गोपालले गहभरि आँसु टल्काएर भने, ‘मैलाई पाप लाग्यो कि ठानेँ । राणी स्वाइनीलाई जिस्क्याउनु हुनैन भणन्थे । मैलै डेउडा खेल्ला धौलीको चित्त दुखाए छु । त्येइ पाप लाग्यो ।’

यो भन्दा अगाडि पनि एउटा घटना घटिसकेको रहेछ, उनको जिन्दगीमा । नौ रातसम्म लगातार डेउडा खेल्दा एउटी महिलाले गीतमार्फत ‘तिम्रो बन्छु’ भनिछन् । उनीसँग निकै नै सवाल–जवाफ भएछन् । सवाल–जवाफका क्रममा ‘तिम्रै बन्छु’ भन्नु सामान्य कुरा थियो । तर, डेउडा खेल सिद्धिएर घर फर्किंदा उनी पछि लागेर घरमै पुगिछन् । केही समय उनी गोपालसँगै बसिछन् । तर, त्यो सम्बन्ध धेरै दिन टिकेनछ । उनी जुन बाटो आइन्, त्यही बाटो फर्किन् । संयोग पनि कस्तो उनी फर्केको पनि ठीक ६ महिना मात्रै बितेको रहेछ । गोपालले आँगनमा श्रीमतीको लास कुर्दै गर्दा उनलाई सम्झेछन् ।

विगतका यी घटना सम्झिँदै गर्दा गहभरि आँसु टल्काएर भावुक मुद्रामा दार्शनिक पाराले भन्न थाले, ‘संसारमा सुख कैलाई छ रे ? सबै खी दुःखै छन् । के खोज्ज आया हौँ भिटाएका केइ छैनौ । केई नभिटाएर इसाइ जाने हौँ । आब क्याखिलाई चिन्ता लिनु ।’पछि उनले अर्को बिहे गरे । छोराछोरी नातिनातिना सबै छन् । तर उनी गीतमार्फत नै भन्छन्, यो सब झूटो हो ।
चार चेला पाँच बुहारी नौजना छन् नाति ।
सनिसारको झूटो नाता दुख् सबै ममाथि ।।

उमेर ढल्किँदै जाँदा धेरै कुरा बिर्सिसके छन् । तर, पुराना गीतको सम्झना घनीभूत भएर आउँछ रे मनमा । पारि डाँडातिर एकोहोरो हेरेर बिस्तारै उनले भने, ‘रातको १–२ बजेतिर जब निन खुल्ली छ, तब आउना छन् ती गज्जबका डेउडाका पंक्ति । तेई मध्यरात कइलाई सुणाउनु । आफूलाई लेख्न आउनैन, खै कइलाई लेखिदे भण्णु । आब त उमेर लै रयेइन । चित्त बुझाउनु पड्डे रै छ । यसै हो यो चोला ।’जिन्दगीमा आइपरेको आपतविपत्बारे सोध्दा भन्छन्, ‘आफ्नै सुरमी हिँडिरहेको किरमिल्लो (कमिलो)लाई तर्साइ दिएले ऊ हतारिबर दौडन्छ, सुरक्षित ठाउँतिर । उइलाई पन परानीको माया भएरै भागन्छ भने मान्सलाई त त्रास हुने नै हो ।’

मनमा दुःख पर्दा गोरो अनुहार पनि कालो देखिन्छ । आकाशमा बादल लागेझैँ मनमा खिन्नता छाउँछ । मनमा हर्षले डेरा जमाउँदा कालो मुहार पनि गोरो अनि सुन्दर देखिन्छ । झरीपछिको आकाश खुलेझैँ मन चंगा हुन्छ । त्यो हर्ष र चंगा डेउडा खेल्दा पाइन्थ्यो ।

निकै नै चुनौतीपूर्ण सवालहरू आउँदा पाइन्थ्यो । त्यही चुनौतीपूर्ण सवालले जन्माउँथ्यो मर्मस्पर्शी जवाफ पनि । उनी भन्छन्, ‘डेउडाको खेलमा पस्दा नाम चलेका डेउडियाहरूसँग सवाल–जवाफ गर्दा उनुहार नै फरक हुन्थ्यो र उमंगको सीमा नै हुँदैनथ्यो ।’ त्यो समयमा उनको उमेरका अधिकांश युवा भारतमा दरवानी गर्न जान्थे । लाहुरे बनेर फर्कन्थे । तर उनी कहिल्यै गएनन्, दरवानी गर्न । दुई–तीनपटक गए तर डेउडा गीतप्रतिको लगावले गर्दा  महिना दिनमै फर्किए । उनले बझाङ थलाराका शोभान ओली, झिरु, बिसुदेखि डोटीका तिमुरे ओली, जग्गो थापा, पठान बोहरा, किरपाल सुनार, किथ्थे सुनार लगायत कैयौँ डेउडियासँग डेउडा खेल खेले ।

पढ्न पाएका भए उनी पनि यो देशका चर्चित कविको पंक्तिमा दर्ज हुँदा हुन् । कैयौँ संग्रहहरू प्रकाशित गर्दा हुन् । दुर्भाग्य त्यो हुन सकेन । स्रष्टामा हुनुपर्ने स्वाभिमानी र इमानदारीपन छ उनमा । यो पंक्तिकारले चल्ले साइको भनेर कतिपय ठाउँमा ‘कोट’ गरेको गीतलाई धेरैले गोपाल पार्कीको गीत हो भने, आखिर त्यो गीत ती दुवैको नभएर पठान बोहराको रहेछ ।

उनले इमानदारिताका साथ बताए । माने तिरुवाले हरि थापाको पक्ष लिएर घोचपेच गर्दै गीत भने छन् :
म कैल्यै बिर्सने छैन झलना लाएका,
थापा काजी बोलाएका तमी आफैँ आएका ।
त्यसको उत्तरमा भनेका हुन् रे पठान बोहराले :
कति खाएका कति भोकै यइ जाँतका पाहुना,
बत्तीलाई सल्काउनुपर्दो सूर्य आफैँ आउना ।

यहाँका अधिकांश गीतांगेहरू डेउडा गीतमा व्यंग्य प्रहार गर्न र शब्द चयनदेखि विम्ब विधानका साथै उपमा अलंकारको प्रयोग गर्न समेत पोख्त मानिन्छन् । डेउडाभित्र छुट्टै किसिमको दर्शन पाइन्छ । कतै जीवन र जगत्का प्रसंग उठ्छन् भने कतै प्रेमपूर्ण सवाल–जवाफ हुन्छन् । विभिन्न विषय र प्रसंगमा नृत्यसहितको डेउडा–गीत खेल्दै, गाउँदै, गर्दाको त्यो परिवेश निकै नै मोहक लाग्छ र दिन रात बितेको पत्तै हुँदैन ।
हाम्रो वैभव, पुर्खाको समृद्धिबारे हाम्रो समाज र जातिको कला–संस्कृतिले छर्लंग पारेकै छ ।लोक–संस्कृतिको अपार भण्डारका रूपमा चिनिएकामध्ये तथा सुदूरपश्चिमको प्रभाव क्षेत्र कुमाउँ गडवालसम्म मानिन्छ ।

युगौँदेखि एक पिँढीबाट अर्को पिँढीमा सर्दै गइरहेको यो दुर्लभ संस्कृतिबारे जिज्ञासा राख्दा उनी भन्छन्, ‘बल्ल (गोरु) पाल्नु नि भक्ति हो, प्रेमपूर्वक पाल्यो भने हृष्टपुष्ट हुन्छ खेती लाउन सजिलो हुन्छ । भैँसी पाल्नु नि भक्ति हो, प्रेमपूर्वक पाल्यो भने दूध दिन्छ ।

जसरी रगतबाट छानिएर दूध निस्कन्छ त्यस्तै कुरा पनि छानेर गर्नुपर्छ । म त्यस्तो सिपालु ड्यौडिया त हैन । डेउडा गीतप्रतिको मेरो भक्ति हो । जहाँ जुन क्षेत्रमा लागे पन प्रेमपूर्वक लाग्नुपर्छ ।’उनले मनन गरेको त्यो भक्तिको अर्थ नै साधना हो । उनी जीवनभर डेउडा गीतको साधनामा तल्लीन रहे । गाउँगाउँ डुलेर डेउडाखेल खेले । आफ्नै मस्तीको जिन्दगी बाँचे । अहिले पनि कसैले पुराना दिनका डेउडाका कुरा सुनायो याद दिलायो भने मख्ख पर्छन् ।

हिजोआज उनी बारम्बार सम्झन्छन्, सय वर्षअघि नै दिवंगत भइसकेका लंगरी खड्का र उनको गीत । जुन कुरा निकै रोचक ढंगले सुनाएका थिए उनले । लंगरी खड्का नयाँ वर्षमा घरबाट निस्किएर एकैचोटि श्रावणमा घर फर्कने अनि पुनः दसैँ–तिहारपछि निस्किने र एकैचोटि माघ–फागुनतिर घर आउने हुँदा बडाहाकिमले उनको नाम लंगरी राखिदिए ।

त्यसै नामले चिनिए पनि । उनको असली नाम कसैलाई थाहा छैन । उनी गाउँ डुल्दै डेउडा खेल्दै गर्ने चारैतिर नाम चलेका ड्यौडिया थिए रे । राणाशासनको त्यो समयमा सेती नदी तर्न पाटका मोटा रसी तयार पारिन्थ्यो । तिनै रसीको सहाराले नदी पार गर्नुपथ्र्यो । यसरी नदी पार गर्नुलाई झंलो तर्नु भनिन्थ्यो । रसी ल्याउन गाउँगाउँमा उर्दी जारी हुन्थ्यो । राजाका पुलिस गाउँगाउँ पुगेर पाट जम्मा गर्थे । एकपल्ट वनमा पाट लिन जाँदा लंगरी खड्काले गीत भने जुन उनको जिन्दगीकै अन्तिम गीत बन्यो ।

राजाले दुनियाँ लायो झमला पाटकी,
बाँची गया घर आउला मरी गे घाटखी ।

घटना सुन्दा कतै मर्ने आभास भएर गीत रचना गरे जस्तो लाग्छ तर त्यो कुरा कसलाई के थाहा । अरु जेसुकै भए नि लंगरी खड्काले पाट ल्याएर फर्किंदा बाटैमा प्राण त्यागे । त्यो गीत कालजयी बन्यो । गोपाल पनि मर्ने बेला वर्षौंसम्म सबैको ओठमा झुन्डिने जीवन र जगत्सँग सम्बन्धित डेउडा गीतका कालजयी दुई पंक्ति छाडेर जान पाए हुन्थ्यो भन्ने चाहन्छन् । डेउडा गीतमा सवालजवाफ गर्दागर्दै मर्न चाहन्छन्, उनको अन्तिम धोको नै यति छ ।

प्रकाशित: २७ माघ २०७४ ०२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App