१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पाश्वर्वगायनमा महिला र आइटम

 प्रकाश सायमी

  आमा नामक नेपाली चलचित्र नेपालको पहिलो चलचित्र हो, यसअघि बनेका कुनै पनि नेपाली चलचित्रको हामीसित इतिहास छैन ।नेपाली चलचित्रको इतिहास प्रामाणिक आधारमा आधा शताब्दी चानचुन पूरा भयो, प्रथम नेपाली चलचित्र आमालाई पहिलो मानेर हेर्दा ।

राष्ट्रिय निर्देशन मन्त्रालय प्रचार–प्रसार डिभिजनले मुम्बईबाट झिकाएका निर्देशक हिरासिंह खत्रीले आमा चलचित्रका निम्ति संगीतकार नातिकाजी र शिवशंकरलाई संयुक्त रूपमा संगीत गराए ।संगीतकारद्वयको संगीतमा पाश्र्व गायिकाका रूपमा तारादेवी छानिएकी थिइन् ।

आमामा गीत गाउने तारादेवीदेखि अहिलेको प्रदर्शनाधीन चलचित्र शेरबहादुरकी पाश्र्वगायिका मीना पोखेरल निरौलासम्मको आरेखलाई हेर्दा नेपाली चलचित्रका निम्ति धेरै गायिका आए, गए तर विविधताका हिसाबले हेर्दा अहिलेसम्म तारादेवीपछि आएका धेरै गायिकामा नायिका सुहाउँदो स्वरभन्दा संगीतकारको संगीतकारिताको आधारमा धेरै गायिका टिके ।

अहिले पछिल्लो पुस्तामा आएर धेरै गायिका नायिकाको चरित्रमा गाइने गीतभन्दा आइटम गीतमा बढी केन्द्रित देखिन्छन् । यो परिस्थितिमा आइटम गीतदेखि लिएर नायिकाको चरित्रमुखी गीतसम्म गाउने गायिकामा सुकमित गुरुङ, विमला राई, रिमा गुरुङ, देविका प्रधानबाहेक अरु देखिएका छैनन् ।

चलचित्रमा गायन

चलचित्रमा गरिने संगीतलाई पश्चिमिया चलचित्र समाजले ‘टेम्पोररी म्युजिक’ भन्छन् ।
टेम्पोररी म्युजिकमा संगीतकारले दुई प्रकारका संगीत गर्छन्– पाश्र्वसंगीत र पृष्ठ संगीत । यी दुवै संगीतका लागि एउटै संगीतकार वा फरक–फरक संगीतकार पनि हुन सक्छन्, तर नेपालमा पृष्ठ संगीतको काम अझै विस्तृतिमा हुन सकेको छैन ।

पृष्ठ संगीतमा अम्बर गुरुङ, रञ्जित गजमेर, मनोहरि सिंहले केही परिवर्तनकारी काम गर्न खोजेका भए पनि खर्चका हिसाबले त्यो काम त्यति फलदायी भएन । पाश्र्वसंगीतमा नेपाली चलचित्रमा तीस र चालीसको दशकका केही संगीतकारले केही मननकारी काम अवश्य गरेका छन् । जसमध्ये नातिकाजी–गोपाल योञ्जनको सिन्दुर, नातिकाजी–शिवशंकरको मनको बाँध, अम्बर गुरुङको जीवनरेखा, शान्ति ठटालको परालको आगो, रञ्जित गजमेरको कुसुमे रुमाल, सम्झना र साइनो, मनोहरि सिंहको सन्तान र कन्यादान अनि गोपाल योञ्जनको कान्छी विशेष पर्छन् । त्यसपछिको लहरमा शम्भुजित बासकोटा, शक्तिवल्लभ, भुपेन्द्र रायमाझी, जीवन अधिकारी रामेश श्रेष्ठ, युजिन लामा आदिले आफ्नो सकारात्मक भूमिका देखाए ।

संगीतकार नातिकाजी–शिवशंकरले संगीत गरेका सिनेमामा नारी स्वरमा तारादेवीको प्रधानता रह्यो भने गोपाल योञ्जनको संगीतमा अरुणा लामाको स्वरको प्रधानता रह्यो । गायिका तारादेवी, अम्बर गुरुङ, चन्द्रराज शर्माको संगीतमा पनि प्रमुखता रह्यो ।तारादेवीपछि दीपा गहतराज एक विशेष गायिकाका रूपमा नेपाली चलचित्रमा आइन् । उनले विशेषतः रञ्जित गजमेर, मनोहरि सिंह, अनि युजिन लामाका संगीतमा गाइन् ।

नेपाली चलचित्रकी सफल नायिका तृप्ति नाडकरका निम्ति सबभन्दा बढी स्वर उनकै प्रयोग भएको पाइन्छ । संगीतकार रञ्जित गजमेरले दीपा गहतराजबाहेक आशा भोसले, साधना सरमग, निर्मला गजमेर अनि उनकै छोरी भारती गजमेरको आवाज प्रयोग गरेको देखिन्छ । तर, गायकीका हिसाबले भारतको बलिउडमै पाश्र्वगायनमा लता मंगेशकरभन्दा उच्च ख्यातिमा रहेकी आशा भोसले नेपाली चलचित्रमा सबभन्दा बढी विविधता दिने गायिकामा चिनिन्छन् ।

नेपाली चलचित्रमा पहिलो मुजुरा गीत गाउने गायिका पनि आशा भोसले हुन्, जसले निजी क्षेत्रको पहिलो नेपाली चलचित्र माइतीघरमा सन् १९६५ मा जयदेवको संगीतमा ‘म प्यार बेचिदिन्छु’ गाइसकेकी थिइन् ।
आशा भोसलेले सुरु गरेको फरक शैलीको मुजुरा गीतपछि गायिका मीरा राणाले सन् १९६९ मा परिवर्तन फिल्मका लागि क्याब्रे गीत गाइसकेकी थिइन् ।

परिवर्तन चलचित्रमा भी बलसाराको संगीतमा क्याब्रे गाइसकेकी मीरा राणाले त्यसको दश वर्षपछि शाही नेपाल चलचित्र संस्थानबाट निर्मित मनको बाँध चलचित्रमा नातिकाजी र शिवशंकरको संगीतमा मेरो मुटुको माझमा बोलको अर्को क्याब्रे गीत गाएर मीरा राणाले आफ्नो गायकीको विविधता दिएकी थिइन् ।
गायकीका हिसाबले नेपाली चलचित्रमा मीरा राणाको गीत आइटम नभनिए पनि आइटम शैलीका गीत गाउने नेपाली चलचित्रकी प्रथम गायिका उनी नै हुन् भन्दा फरक नपर्ला ।

नेपाली चलचित्रमा आशा भोसलेपछि उनले बनाएकैे बाटोमा मीरा राणा देखापरिन् । मीरा राणाको बाटो पछ्याउँदै पछि गायिका विमला राई र सुकमित गुरुङ देखापरे । यी दुवै गायिकाले नायिकाका निम्ति पनि, आइटम प्रकारका गीतमा पनि आफ्नो उपस्थिति दिए ।चलचित्र कान्छीको ‘सिंग साथी सिंग’मा सुकमितको गायकी र जाली रुमालमा विमला राईको ‘मेरो आँखा राम्रो’ बोलको गीतले नायिकालाई नै फरक शैलीमा पर्दामा प्रस्तुत गरिएको भान हुन्छ ।

तारादेवी, मीरा राणाको गायनपछि नेपाली चलचित्रको पर्दा गायनमा गोपाल योञ्जनको संगीतमा अर्की गायिका देखापरिन्, तारा थापा ।ताराले चलचित्र ‘बदलिँदो आकाश’मा नायिका सुषमा शाहीका निम्ति पाश्र्व गायनमा भव्य छाप छाडिन् । उनले आदर्श नारी चलचित्रमा नायिका अंशुमाला शाहीका निम्ति पनि सुमधुर गीत गाइन् । तारा थापाले नायिकाका निम्ति गाइने पाश्र्व गीतबाहेक अन्य शैलीका गीत गाइनन् ।
नेपाली सिनेमा निर्माणका क्रममा व्यावसायिकताको पुट दिन चलचित्रमा हास्य गीतको प्रयोग चालीसको दशकमा सुरु भइसकेको थियो, त्यसमध्ये चलचित्र सिन्दुरमा सुषमा श्रेष्ठ, ‘जीवनरेखा’मा तारादेवी, ‘वासुदेव’ र ‘कसुमे रुमाल’मा भारती गजमेरको आवाज प्रख्य रूपमा आइसकेको थियो, तर यी गीतलाई ‘आइटम सङ’ भन्न मिल्दैनथ्यो ।

चलचित्रमा आइटम गीत

नेपालमा गायकीका हिसाबले वा प्रस्तुतिका हिसाबले गाउने धेरै प्रकारका गीत भए पनि चलचित्रमा गाउने गीत अहिलेसम्म दुई धारका देखिए– चरित्रअनुसार गायन र कथा भावअनुसार गीत । यी दुई धारबाहेक अब तेस्रो फरक धार देखियो, चलचित्रलाई दर्शकसम्म पुर्याउन कथा र विषयवस्तुभन्दा पर एउटा अर्को विम्ब बोकेको गीत, आइटम सङ ।

नेपाली चलचित्रमा आइटम सङको प्रयोग गोपाल योञ्जन वा शम्भुजित बाँसकोटाले कतै–कतै चालीसको दशकमै गर्न खोजेको भए पनि ती गीत कथा वा चलचित्रको विषयवस्तुसँग समाहित भएर आएकाले तिनलाई यथार्थतः आइटम गीत नै भन्न मिलेन । यद्यपि ‘मायाप्रीति’ चलचित्रमा गोपाल योञ्जनले प्रयोग गरेको रत्यौली गीतलाई पनि आइटम गीत भन्न नमिल्ला तर सन्दर्भ त्यससित जोडिँदा त्यसले हाम्रो आफ्नै किसिमको इतिहासको अर्थ राख्ला ।

आइटम गीतको प्रयोग र परम्परा भारतमा पनि ‘पिया तु अब तो आ जा, दम मारो दम’ प्रयोगमा आएको धेरै वर्षपछि मात्र सुरु भएको मानिन्छ, सन् ९० को दशकपछि ।दक्षिणी भारतीय मूलका संगीतकार एआर रहमानको आगमनसँगै हिन्दी चलचित्रमा आइटम गीतको प्रयोग भएको देखिन्छ ।

मणि रत्नम् निर्देशित फिल्म ‘बम्बे’मा ‘हम्मा–हम्मा’ बोलको गीत पहिलो आइटम गीत मानिन्छ । ‘हम्मा–हम्मा’पछि एआर रहमानकै ‘मुककाला मुकाबुला’ आइटम गीतको रूपमा देखापर्यो ।पहिले बंगाली फिल्म गीत–संगीतलाई पछ्याउँदै गरेको बलिउड सिने उद्योगले अचानक आइटम गीतको मामिलामा पछि दक्षिणी भारतीय संगीतकारहरूलाई पछ्याउन थाल्यो ।

भारतीय सार्थक सिनेमाका एक अभियन्ता शायर एवं फिल्मकार गुलजारले पनि ‘बन्टी और बब्ली’ फिल्ममा ‘कजरारे कजरारे’ बोलको आइटम गीत लेखे । उनै गुलजारले पछि विशाल भारद्वाज निर्देशित ओम्कारा फिल्ममा बिँडी जलाई दे, नमक इस्कजस्ता गीत लेखेर आइटम गीतमा आफ्नो अग्रता देखाए, यसलाई बजारशास्त्रअनुसार माग र भर्पाइको नमुना मान्न सकिन्छ ।

आज बलिउडमा बन्ने प्रायः सिनेमामा आइटम गीतका निम्ति आशा भोसले, सुनिधि चौहान, रेखा भारद्वाज, कनिका कपुर आदिको प्रयोग भइरहेको पाइन्छ ।यसैको प्रत्यक्ष प्रभाव नेपाली चलचित्रमा पनि देखापरिआएको छ । नेपाली चलचित्रमा आइटम गीतलाई उपयुक्त स्वरको खोजी गम्भीर रूपले नदेखिए पनि संगीतकार शम्भुजित बासकोटाले देविका प्रधान, विमला राई, सुकमित गुरुङबाट यो काम प्रशस्त लिएका छन् ।

भारतमा लता मंगेशकरजस्तो गुणी गायिकाले आइटम गीत गाउन हिम्मत नगरेजस्तै अनुराधा पौडवाल, साधना सरगमले पनि त्यो आँट पटक्कै गरेनन् । तर, ती पछि बिक्न पनि छाडे । नेपालमा पनि तारादेवी, अरुणा लामा, तारा थापा, दीपा गहतराजले यो बाटो अपनाउने दुस्साहस गरेनन् । आजको चलचित्रको विपण बढाउन सिनेमा निर्देशक वा निर्माताले यसको माग अपरिहार्य मान्दै आएका छन् ।

नेपाली चलचित्रको पाश्र्व गायनमा आइटम गीतमा स्वर दिने गायिकाका रूपमा सौम्य बराइली, इन्दिरा जोशी, टीका प्रसाईं, मिलन अमात्य, वानिका प्रधान, मीना पोखरेल निरौला आदि देखिएका छन् तर निरन्तरताको हिसाबले अहिले गायिका मीना पोखरेल निरौलाले यो जेनर छाडेकी छैनन् । अहिले उनी वसन्त सापकोटा, कोसिस क्षेत्री, कालीप्रसाद बाँसकोटा, सुरेश अधिकारी, शंकर शर्मा, टंक बुढाथोकी जस्ता यस समयका सशक्त संगीतकारको संगीतमा गाइरहेकी छन् ।

युवा पुस्ताका निर्देशक सम्झना उप्रेती रौनियारले निर्देशन गरेको चलचित्र ‘फागु’मा नायिकाका लागि पाश्र्व गायिकाका निम्ति आएकी मीना पोखरेल निरौलाले अहिले नेपाली चलचित्रमा आइटम गायकीका रूपमा खम्बा गाडेकी छन् । यद्यपि उनको स्वरको सामथ्र्य आधुनिक संगीतमा तारादेवी, अरुणा लामा वा शान्ति ठटाल शैलीका गीतका निम्ति हो भन्ने संगीत पर्यवेक्षकको दाबी छ ।

महको प्रस्तुति ‘शत्रु गते’को ‘रूपै मोहिनी नारान् रूपै मोहिनी’ उनको पछिल्लो समयको हिट गीत मानिन्छ । पुरुषको दबाब रहेको चलचित्रको पाश्र्वगायनमा उनको स्वरका दुई गीत ठमेल बजार र कालेदाइले युट्युब च्यानलमा करोडौँ भ्युअर्स बटुल्यो । अझै उनको आइटम गीतको बजार सेलाएको छैन ।भारतको प्रादेशिक भाषा मणिपुरीमा ‘नोखिधरा’ बोलको गीत गाएर साठीको दशक (सन् १९९८ तिर) मा मणिपुरमै चर्चित भइसकेकी मीना पोखरेल निरौलाले नेपालमा आएर पुनः आफ्नो पृथक् पहिचान बनाउन शून्यबाट सक्रिय सुरु गरिन्, नेपालयको पलेटीमार्फत ।

नेपालयको पलेटीमा उनले अम्बर गुरुङ, शान्ति ठटाल, कर्म योञ्जन, आभासका साथमा तिनै हस्तीको संगीतका गीत एक दशकसम्म गाइन् भने त्यही यात्रामा उनले प्रेमध्वज प्रधान, किरण प्रधान आदिसित पनि युगल गीत गाएर आफ्नो छुट्टै पहिचान बनाइन् ।दश वर्षको अथक् परिश्रमपछि मीनाले आफ्नो धरातलीय यथार्थ छाडेर अलग बाटो चुनिन् ।

आफ्नो गायकीको प्रमुख पक्ष शास्त्रीय गायनको बाटो छाडेर गायिका मीना पोखरेल निरौलाले अहिले आइटम गीतको बाटोमा सफल देखिएकी छन् । अझै पनि उनले आफ्नो स्वरअनुसारको गीत नपाएको उनी गुनासो गर्छिन् । तर, उनको गायकीलाई टिप्पणी गर्दै संगीत समीक्षक एवं पर्यटन प्रवद्र्धक शरद प्रधान भन्छन्, ‘यो कस्तो दुर्घटना ? उनको जीवन बलिउडका हरिहरनको जस्तै भएको छ । हरिहरन कति राम्रो शास्त्रीय गायनको बोध भएका गायक हुन् । पछि उनी लेज्ले लेविससित मिलेर कोलोनियल कजन्स सुरु गरेपछि बल्ल सफल भए । हाम्री मीनाजीको पनि यस्तै हबिगत भयो ।’

यस वर्ष आधुनिक संगीतमा युवा छिन्नलता पुरस्कार जित्न सफल गायिका मीना निरौलाले ‘लैजाऊ घुमाउन ठमेल बजार’का निम्ति वर्षभरि नै सर्वोत्कृष्ट गायिकाको पुरस्कार पाइरहिन् भने ‘कालेदाइ कालेदाइ, चोली अलि छोटो के लाएथेँ, रूपै मोहिनी नारान् रूपै मोहिनी, कान्छी मट्याङजस्ता उनका गीत अहिले हिट लिस्टमा छन् ।

शान्ति ठटालको सम्हालेर राख, अरुणा लामाको म आँखैमा राखिन योग्य कहाँ छुजस्ता गीत मञ्चमा गाएर ख्याति कमाएकी मीना निरौलाले कवि श्रवण मुकारुङको शब्द र आभासको संगीतमा ‘सुन रे सियाराम’, ‘बाबा मलाई नमार’जस्ता गीत गाएर छुट्टै छाप छाडेकी थिइन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना ‘अप्सराको रूप तिमी पनि’ उनको चर्चित गीतमध्ये एक हो ।

मीनाको गायन चर्चा गर्दै गायक–संगीतकार सागर न्यौपानले लेखेका छन्, ‘कस्तो गीतबाट आउनुपर्ने गायिका कस्तो गीतबाट माथि आइरहेकी छन् ? हाम्रो संगीतको दुर्भाग्य ?’संगीतकार न्यौपानेको तीक्तता आफ्नो ठाउँमा सही होला तर गायनको मैदानमा टिक्न वा उद्योगलाई थाम्न अहिले चलचित्रले अपनाएको बाटोमा मीना निरौलाले रोजेको बाटो यसअघि गायिका मीरा राणा वा सुकमित गुरुङले बनाएको बाटोभन्दा फरक होइन ।

अद्यावधि आइटम गीत बनाउने संगीतकारसित मीनाबाहेक अब सुजाता वर्मा, मेलिना राई, वानिका प्रधान आदि पनि देखापरेका छन् । यसअघि यो बागडोर मिलन अमात्य, इन्दिरा जोशीले केही समय नसम्हालेका होइनन् । तर, गायकीका हिसाबले नेपाली सुगम संगीतको मैदानमा भएका निखिता थापा, शिला विष्ट, राधा राई अझै पनि सुगम संगीतको गायनमै व्यस्त छन् ।
 
बजारको माग वा अन्योल
चलचित्र उद्योग वा संगीतको बजार सागसब्जीको बजारजस्तै हो । सागसब्जी नबिकेपछि ओइलाउँछ र पुनः त्यसको मोल तोकिँदैन । यसबारेको फरक प्रसंगमा बलिउडकी चर्चित गायिका आशा भोसलेले आफ्नी दिदी गायिका लता मंगेशकरको उदाहरण दिँदै भनेकी छन्, ‘हाम्रो संगीतको बजार गज्जबको छ । आफ्नो गीत नचलेपछि यहाँ एक दिन लता मंगेशकर पनि घरमा थन्केर बस्नुपर्ने हुन्छ । त्यसैले मैले आफ्नो बाटो बदलेकी हुँ ।’

पत्रकार राजु भारतनसित ‘आशा भोसले अ म्युजिकल बायोग्राफी’मा कुरा गर्दै गायिका भोसलेले भनेको यो कुरा कति मर्मान्तक छ ।आज भारतमा पनि आइटमको लहर कायमै छ । अहिले नेपाली सुगम संगीतमा पनि यो संकट देखापरेको छ । यहाँ जस्ता सिनेमा बन्छन्, त्यस्तै प्रकारका गीत–संगीत बन्दै आइरहेका छन्, मदनकृष्ण हरिवंशको प्रस्तुति ‘शत्रु गते’ होस् वा धिराज राजवंशीको निर्माणमा शेरबहादुर होस्, चलचित्रमा आइटम गीतको प्रधानता कायमै छ ।

गायिका मीनाले अहिले चलचित्रमा नायिका प्रियंका कार्की हुन् वा मेनुका प्रधान, दीपाश्री निरौला हुन् वा आँचल शर्मा, एलिसा राई हुन् वा माला लिम्बूलाई आफ्नो स्वर पैँचो दिइरहेकी छन् ।नेपाली चलचित्रको पाश्र्वगायनको ५० वर्ष लामो इतिहासमा तारादेवीदेखि मीनादेवीसम्मको इतिहास हेर्दा समृद्ध र सम्पृक्त स्वर भएका पाश्र्वगायिकामा बाँच्न चाहनेहरूमा विमला सेन्चुरी, चलचित्र जारमा दावा ग्याल्मो, भुँवरीमा संगीता प्रधान, सुनीता सुब्बा, बलिदानमा लोचन भट्टराई, शिखरमा पवित्रा सुब्बा जस्ता गायिका नआएका होइनन् । तर सुकमित गुरुङ, दावा ग्याल्मोले रेडियोमा बनाएको आफ्नो तरंग सिनेमामा यथावत कायम राख्न नसक्नु वा नपाउनु कसको दोष हो, चलचित्र निर्माण संस्थाको वा चलचित्र निर्देशकको, संगीतकारको वा गायिका स्वयंको ?

नेपाली चलचित्रको पाश्र्वगायनमा भारतीय गायिका लता मंगेशकर, अनुराधा पोडवाल, उषा मंगेशकर, आशा भोसले, अलिशा चिनय, साधना सरगम, अनुपमा देशपाण्डे, कविता कृष्णमूर्ति, ज्योत्सना हार्डिकरको योगदान हाम्रै समकक्षी गायिकाको भन्दा कम छैन । परिवर्तनका नाममा तिनले पनि शुद्धअशुद्ध रूपमा त्यही गीत गाए, जुन चलचित्रको कथा, पटकथाले मागेका थिए ।

नेपाली चलचित्रमा गैरनेपाली (विशेषतः भारतीय) गायिका भित्र्याउनमा संगीतकार जयदेव र रञ्जित गजमेरको अहं भूमिका छ । सम्भवतः त्यतिवेला नेपाली गायिकाको अभाव पनि थियो ।
आजकाल त्यो परिस्थिति देखिएको छैन, नेपाली गायिका पनि अभ्यासी र अभ्याक्रमी देखिँदै आएका छन्।
त्यही समयमा भारतीय मूलका संगीतकार भी बलसारा र सुरेशकुमारले क्रमशः चलचित्र परिवर्तन र जुनीमा नेपाली गायिकाको मुखबोलीलाई नै प्रख्य रूपमा राखे । परिवर्तनमा मीरा राणा अनि जुनीमा सुषमा श्रेष्ठ त्यही समय आएका हुन् ।

नेपालमा विगत तीस वर्षको राजनीतिक परिवर्तनका आधारमा महिलाका समस्या, एजेन्डा र प्रकरणमा धेरै परिवर्तन भए, तर आधा शताब्दी लामो नेपाली चलचित्रको पाश्र्व गायनको युगमा तारादेवीदेखि सुरु भएको त्यो मधुर इतिहास तारादेवी शैलीका गीत गाउने गायिकाले गएर आइटम गीतमा आत्मसमर्पण गर्नुपर्ने बाध्यता देखिँदै छ, यसलाई बजारले मात्र बदल्ने होइन, बजारसँग सम्बन्धित अन्य धारले मुखरित गर्ने हो भन्ने बुझिन्छ ।

नेपाली सुगम संगीतमा गीतै गाएर साधना गरिरहेका वाणीपुत्रीहरू अझै पनि हाशिये (घेराभन्दा बाहिर) मा छन्, इतु जोजिजु, रश्मी अमात्य, सुनीति अधिकारी, जुना प्रसाईं, प्राश्ना शाक्य, बेनुका राई आदि । तिनले पनि आफ्नो बाटो बनाउन आउन धेरै नै त्याग गर्नुपर्ने देखिन्छ ।अहिले नेपाली चलचित्रमा मेलोडीका निम्ति काम गर्ने संगीतकारको सिट खाली छ, यसका निम्ति चलचित्र एउटा माध्यम हो । संगीतमा पुनर्जागरण चाहिन्छ, तर चलचित्र संगीतले अझै पनि मूलबाटोमा फर्किन पाइला खोजिरहेको छ ।


नेपाली चलचित्रको संगीतमा मेलोडीको युग ल्याउने संगीतकार रञ्जित गजमेर, शम्भुजित बासकोटा, शक्तिवल्लभ, सुरेश अधिकारी, वसन्त सापकोटा आदिले नेपाली चलचित्रको पाश्र्वगायनलाई अझ बढी पाश्र्वगायिकाको बाटो सुरक्षित बनाइदिनुपर्ने भएको छ ।नेपाली चलचित्रका लागि आशा भोसलेले ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’, ‘सावने झरीमा’, ‘झझल्को लिएर आएछ सावन’, ‘फेरि आयो त्यो कालो रात’, ‘गैह्री खेतको शिरै हान्यो’ जस्ता मधुर गायन दिइन् । आशा भोसलेको त्यही माइतीघरको गीत कभर भर्सन गाएर आजकी चर्चित गायिका अञ्जु पन्त स्थापित भइन् । बलिउडकी चर्चित गायिका साधना सरगमले ‘सपना भई आँखामा आउने को होला’ नेपाली फिल्मका लागि गाउन सक्छिन् भने त्यस्तो गीत गाउन सक्ने नेपाली गायिका नेपालमा पनि जन्माउनुपर्ने चुनौती अब आएको छ ।

चलचित्रका निम्ति पुरस्कार, महोत्सव वा सेमिनार त अनेक भएका छन् । कलाकार देश–विदेश पनि घुमेका छन् । तर जीवनमा विदेशै नघुमेर पनि गायिका अरुणा लामा वा तारादेवीका गीतले अहिलेका पुस्ताका गायिकालाई विदेशको सयर दिइरहेको छ । यो सौभाग्यका निम्ति नेपाली चलचित्रको पाश्र्वगायनको आधा शताब्दी इतिहास साक्षी छ ।

नेपाली चलचित्रको गीत बन्न पहिले संगीतकार, गीतकारबाहेक गायक–गायिका अनि म्युजिक एरेन्जरले कति मेहनत गर्थे, अहिले नेपाली चलचित्रका गीत म्युजिक एरेन्जरकोमा ‘त्वम् शरणम्’ गर्न पुगेका छन् ।
चलचित्रका गीतले यसरी बाटो बिराउनुमा चलचित्र निर्माता–निर्देशकको पनि त्यत्तिकै दोष छ । बजारको मागअनुसार भनेर साह्रै कमसल खेती गर्न थालिएको सत्य हो तर बजार नै नखोजी यसको निक्र्योल कसरी गरिन्छ ?

नेपाली सिनेमा कान्छीका निम्ति बनेको ‘कान्छी हे कान्छी’जस्ता गीतमा अहिले पनि नाचिन्छ तर नाचमा ताल त त्यही नै छ, अमेरिकाको कोलोराडोमा भए पनि अस्ट्रेलियाको सिड्नीमा भए पनि । ‘मनको बाँध’को ‘फूलको थुँगा बहेर गयो’ होस् वा ‘परालको आगो’को ‘उडी जाउँ भनेर म पन्छी होइन’जस्ता गीतले नेपाली सिनेमालाई चिनाएकै छ । त्यसपछिका गीतले पनि नेपाली सिनेमामा महिला पाश्र्वगायनको गौरवशाली युग सम्झाएकै छ ।अब नेपाली चलचित्रमा महिला पाश्र्व गायनको युगलाई पुनर्जीवित गर्न नातिकाजी, अम्बर गुरुङ, शिवशंकर, गोपालयोञ्जन छैनन् तर तिनले माया गरेर बनाइदिएको बाटो अब राजमार्ग भइसकेको छ ।
 

प्रकाशित: २७ माघ २०७४ ०१:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App