जुम्ला – विहान ७ बजेतिर कुकुरले लखेट्दै गरेको जंगली रतुवा स्थानीयले बचाएका छन्। चन्दननाथ नगरपालिका २ भण्डारीवाडाका स्थानीयले रतुवाको उद्धार गरेर जिल्ला वन कार्यालय जुम्लामा बुझाएका हुन।
संरक्षणको अभावमा दुर्लभ मानिएको रतुवा पछिल्लो समयमा जंगल छाडेर गाउँतिर झर्न थालेका छन्। ‘विहान सात बजेतिर गाउँका कुकुरले रतुवालाई लखेट्दै थिए, स्थानीयले देखेपछि कुकुरलाई हटाएर रतुवाको उद्धार गर्यौ,’ स्थानीय महेन्द्र आचार्यले भने। कुकुरले लखेट्दा रतुवाको मुखबाट रगत बगेको र एउटा खुट्टा भाँचिएको छ।
स्थानीयले जिल्ला प्रहरी कार्यालय र जिल्ला वन कार्यालय जुम्लालाई जानकारी गराएपछि घाइते रतुवालाई वन कार्यालयमा ल्याएका थिए। रतुवा धेरै नै चोट लागेर घाइते भएकोले पूर्ण रुपमा उपचार गरेर रारा राष्ट्रिय निकुञ्जमा लगेर छाड्नको लागि स्थानीयले आग्रह गरेका छन्।
हिउँदको समयमा खानाको अभाव र हिउँ पर्ने भएकोले बस्ने ठाँउ नहुने भएकोले जुम्लामा वर्षेनी रतुवा गाउँ पस्ने गरेको जिल्ला वन कार्यालयका वन रक्षक गगन बहादुर बुढथापाले बताए। उनका अनुसार रतुवालाई निरन्तर पशु चिकित्सकको निगरानी रहने छ। स्थानीय अगुवा, प्रहरी, वनका कर्मचारी र पशु प्राविधिकको रोहवरमा रतुवाको उपचार भईरहेको छ।
प्रकाशित: २६ माघ २०७४ १२:३५ शुक्रबार