१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेविसंघ निर्वाचन प्रक्रिया सुरु, पौडेल पक्ष नाराबाजीमा

काठमाडौं— रामचन्द्र पौडेल पक्षको चुनाब हुन नदिने चेतावनीबीच नेपाल विद्यार्थी संघको निर्वाचन प्रक्रिया सुरु भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजेदेखि उम्मेद्वारी दर्ता प्रक्रिया सुरु भएको हो।

महाधिवेशनको विपक्षमा रहेको पौडेल समूहले पार्टी केन्द्रीय कार्यालय परिसरमा नाराबाजी गरिरहेको छ। स्थिति भड्किन सक्ने खतरालाई ध्यानमा राख्दै प्रहरी उपस्थिति बढाइएको छ।

बिहान ८ बजेदेखि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्न थालेका छन्। उम्मेदवारी दिनेहरुको लाइन लागेको छ।

महाधिवेशनमा तीन समूहबीच प्रतिस्पर्धाको स्थिति थियो। संस्थापन पक्षको समूह, रामचन्द्र पौडेलको समूह र तेस्रो धारको रुपमा उदाएको कृष्णप्रसाद सिटौलाको समूहबीच प्रतिस्पर्धा। पहिलो स्थानमा देखिएको संस्थापन समूह र तेस्रो स्थानमा देखिएको सिटौला समूहबीच चुनाबी गठबन्धन हुने देखिएपछि पौडेल समूहले विवाद झिकेर महाधिवेशनको विरोध गर्दै आएको छ।

संस्थापन पक्षले फर्जी प्रतिनिधि बनाएर नेतृत्व कब्जा गर्न खोजेको पौडेल पक्षको आरोप छ। महाधिवेशन गराउने जिम्मेवारी पाएको निर्देशक समितिका संयोजक डा.प्रकाश शरण महतले चुनाब नरोकिने बताउँदै आएका छन्।

स्रोतका अनुसार पौडेल समूहको मागअनुसार महाधिवेशन प्रतिनिधि घटाएर भए पनि चुनाब गराउने तयारी भइरहेको छ। संस्थापन पक्षले मिलाउने प्रयास गरिरहेका कारण उनीहरुका प्रत्यासी सानेपास्थित उम्मेदवार दर्ता गर्ने स्थानमा देखिएका छैनन्।

'उपत्यका र कूल सिलिङमै बढी भएको भए त्यसलाई घटाउन सकिन्छ तर चुनाब रोक्नु हुँदैन’, एक पूर्व नेविसंघ अध्यक्षले नागरिकन्युजसँग भने, 'पार्टी नेतृत्व जाबो विद्यार्थी चुनाब गराउन नसक्ने भनेर टिप्पणी हुन थालिसकेको छ। नेविसंघ नेता भनेर मलाई नै लाज लाग्ने स्थिति अइसक्यो। यस्तो अवस्थामा चुनाब नै लोकतान्त्रिक विधि हो यसलाई अपनाउनुको विकल्प छैन।'

नेविसंघको ११ औं महाधिवेशन साउन २३ गते भृकुटीमण्डपमा सुरु भएको थियो। शनिबार राति महाधिवेशन निर्देशक समितिले प्रतिनिधि सूची सार्वजनिक गर्दै निर्वाचनमा जाने बताएको थियो। मंगलबार सहमति जनाएअनुसार समितिले सूची सार्वजनिक गरेको थियो। सो सूचिप्रति पौडेल समूहले आपत्ति जनाएको हो।

नेविसंघमा पहिलैदेखि प्रतिनिधि भागबन्डाको राजनीतिमा चल्दै आएको छ। भागबण्डामा आफू कमजोर भएको महसुस गरेपछि पौडेल समूहले महाधिवेशनको विरोधमा उत्रिएको हो। एउटा पक्षले पूर्ण रुपमा चुनाबको विरोध गरेपछि ९ वर्षपछि सुरु भएको नेविसंघ महाधिवेशनले नेतृत्व चयन गर्छ वा गर्दैन भनेर यकिन हुन सक्ने अवस्था छैन।

प्रकाशित: ३१ श्रावण २०७३ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App