१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदीय दलको नेता छान्न सकस

धनगढी- प्रदेश सभामा संसदीय दलको नेता छान्न दलहरुलाई सकस भएको छ। प्रदेश ७ मा एमाले र नेपाली कांग्रेसमा संसदीय दलको नेता बन्न एक भन्दा बढी दावेदार देखिएका छन्। प्रदेश सभाको पहिलो बैठक अघि नै सबै दलको संसदीय दलको बैठक बसेपनि कसैले पनि संसदीय दलको नेता छान्न सकेनन्। संसदीय दलको नेता छान्न नसकेपछि  प्रदेश सभाको पहिलो बैठकमा आफ्नो दलका तर्फबाट बोल्ने नेताको नाम टुंगो लगाउँदै संसदीय दलका बैठक सम्पन्न भएका थिए।

 एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले संसदीय दलको नेतामा दावी भएका सदस्य मध्य प्रदेश सभाको पहिलो बैठकमा मन्तव्य दिन लगाएका थिए। एमालेका तर्फबाट पार्टीका केन्द्रिय सदस्य तथा बाजुराका प्रदेश सभा सदस्य प्रकाश शाहले मन्तव्य राखेका थिए। कांग्रेसबाट डोटीका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले मन्तव्य राखेका थिए। माओवादी केन्द्रवाट पोलिटव्युरो सदस्य डोटीका प्रदेश सभा सदस्य त्रिलोचन भट्टले मन्तव्य राखेका थिए। राजपाबाट कैलालीका प्रदेश सभा सदस्य मालमती रानाले मन्तव्य राखेकी थिइन्। उनीहरुलाई नै प्रदेश सभामा संसदीय दलको नेताका दाबेदारको रुपमा हेरिएको छ।

एमालेमा ३ जना दावेदार

प्रदेश ७ मा नेकपा एमालेका केन्द्रिय सदस्य बाजुराका प्रदेश सभा सदस्य प्रकाश शाह र कैलाली एमालेका अध्यक्ष दिर्घ सोडारी मुख्य दावेदारको रुपमा रहेका छन्। यसैगरी डडेल्धुराका पठानसिंह बोहराको नाम पनि चर्चामा रहेको छ।

प्रदेश सभा सदस्य प्रकाश शाहले आफु मुख्यमन्त्रीको दावेदार रहेकोमा पार्टीको भागमा नपरेकाले अब संसदीय दलको नेता बनेर सरकारमा जाने बताएका छन्। ‘पार्टीको सिनियर पदमा म भएकाले स्वभाविक रुपमा संसदीय दलको नेता म बन्नु पर्छ भन्ने हो’ उनले भने,‘पार्टी नेतृत्व, प्रदेश सभा सदस्य सबैले उचित मुल्यांकन र निर्णय गरेर मलाई संसदीय दलको नेता बनाउने बिश्वास लिएको छु।’ प्रदेश संयोजक भीम रावलले संसदीय दलको नेता सर्वसम्मत बनाउने उनको विश्वास छ। ‘विधी, पद्धती र मर्यादालाई कडाई साथ लागु गर्ने प्रदेश संयोजकको निर्देशनमा संसदीय दलको नेता सर्वसम्मत बन्ने बिश्वास छ’ उनले भने। ‘मेरो चाहाना, स्वभाव र विकट जिल्ला बाजुराका वासिन्दाको चाहाना अनुसार म संसदीय दलको नेता बनेर सरकारमा जान चाहान्छु’ उनले भने । सर्वसम्मत अर्को व्यक्ती बन्ने अवस्था आए र प्रदेश संयोजकको निर्देशन मानेर आफु चुनाव भने नलड्ने उनको भनाई छ।

यसैगरी एमाले कैलालीका अध्यक्ष तथा प्रदेश सभा सदस्य दिर्घ सोडारीले संसदीय दलको नेतामा दावी गरेका छन्। सवैभन्दा बढी निर्वाचन क्षेत्र भएको ठूलो जिल्लाको कैलालीको पार्टीको अध्यक्ष भएको हैसियतले स्वभाविक रुपमा आफ्नो संसदीय दलको नेतामा दावी हुने उनको भनाई छ।  ‘मेरो संसदीय दलको नेताको लागी दावी छ’उनले भने। संसदीय दलको नेता बन्न १३ प्रदेश सभा सदस्यको समर्थन चाहिने उल्लेख गर्दै ७ सदस्य कैलालीकै भएकाले अन्य ६ सदस्यको समर्थन पाउनासाथ आफु संसदीय दलको नेता बन्न सक्ने उनको भनाई छ। कम चर्चामा रहेका डडेल्धुरा पठान सिंह वोहरालाई संसदीय दलको नेता बनाउन पनि पार्टी अध्यक्ष केपी ओली समर्थक केही नेताले लविङ थालेको श्रोतले बताएको छ। पार्टीले दिएको जुनसुकै जिम्मेवारी सम्हाल्न आफु तयार भएको उनको भनाई छ।

एमालेमा संसदीय दलका लागी समहती नभए चुनाव गरेर टुंग्याइने बुझीएको छ।

नेपाली कांग्रेसमा ४ जना दावेदार

नेपाली कांग्रेसमा पनि संसदीय दलको नेतामा डोटीका प्रदेश सभा सदस्य भरत बहादुर खड्का र कैलालीका डा. रणबहादुर रावल मुख्य दावेदारको रुपमा देखिएका छन्। यसैगरी डडेल्धुराका प्रदेश भा सदस्य गोविन्द वोहरा र कर्ण मल्ल पनि संसदीय दलको नेताका लागी दावेदार छन। आफ्नो नाममा सर्वसम्मत नभएर चुनाव लड्ने मनस्थितीमा दावेदारहरु देखिएका छन। ‘संसदीय दलको नेता सवै कुराले मेरो नाममा सहमती हुनुपर्ने हो। ’प्रदेश सभा सदस्य भरत खड्काले भने, ‘साथी भाईहरुसंग सल्लाह गरिरहेको छु।’ सहमती भएन भने प्रजातान्तिक प्रक्रिया अनुरुप टुंग्याइने उनको भनाई छ। उनी यस अघिका संविधान सभा सदस्य पनि हुन। यसैगरी प्रदेश सभा सदस्य डा रणबहादुर रावलले सवै साथीहरुले तपाई संसदीय दलको नेता बन्नुपर्छ भनेर भनिरहेको उल्लेख गर्दै आफ्नो नाममा सहमती जुट्ने बिश्वास गरे । ‘सर्वसम्मती होस भन्ने चाहाना छ, साथीभाई सहयोग र समर्थन छ’ उनले भने, ‘मेरो जोडदार दावी रहन्छ ।’ यसैगरी डडेल्धुराका प्रदेश सभा सदस्य गोविन्द वोहराले संसदीय दलको नेतामा आफ्नो जोडदार दावी रहेको बताए। आफ्नो नाममा सर्वसम्मत नभए चुनाव लड्ने तयार रहेको उनको भनाई छ। प्रदेश सभा सदस्य कर्ण मल्लले पनि दावी गरेका छन। नेपाली कांग्रेसमा १२ प्रदेश सभा सदस्य छन्।

माओवादी केन्द्रमा त्रिलोचन भट्ट

माओवादी केन्द्रमा यस अघि मुख्यमन्त्री केन्द्रिय समितीले टुंगो लगाउने भनिएकोले प्रदेश कार्यालयको बैठकले त्रिलोचन भट्टको नाम संसदीय दलको नेता र मुख्यमन्त्रीका लागी केन्द्रिय कार्यालयमा सिफारिस गरेको थियो । प्रदेश सभाको पहिलो बैठक अघि बसेको माओवादी केन्द्रको प्रदेशसभा सदस्यहरुको बैठकमा पनि प्रदेश कार्यालयले त्रिलोचन भट्टलाई संसदीय दलको नेता र मुख्यमन्त्री बनाउन गरेको निर्णयको समर्थन गरेको थियो । समर्थनमा १२ प्रदेश शभा सदस्य देखिएका थिए । विरभान चौधरी र सन्तोषधामी बैठकबाट बाहिरिएका थिए।

 

प्रकाशित: २४ माघ २०७४ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App