१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

'क्लासिक'लाई डि-सिने अवार्ड

काठमाडौं- पोखरामा शनिबार सम्पन्न आठौं डि–सिने अवार्ड समारोहमा 'क्लासिक' उत्कृष्ट फिल्म ठहरिएको छ। सुवास गिरीको निर्माण र दिनेश राउतको निर्देशन रहेको यस फिल्मबाट आर्यन सिग्देल र नम्रता श्रेष्ठ पनि क्रमशः उत्कृष्ट अभिनेता तथा उत्कृष्ट अभिनेत्री घोषित भएका छन्।

सोही फिल्मबाट सुरेन्द्र पौडलले सम्पादन र युवराज चौलागाईंले पुरुष गायनमा अवार्ड जितेका छन्। उत्कृष्ट फिल्मको दौडमा 'क्लासिक'सँगै 'पशुपति प्रसाद', 'कबड्डी कबड्डी', 'ड्रिम्स'र 'प्रेमगीत' थिए। 

छायाँछवि क्रियसनले गर्दै आएको अवार्डमा यसपटक 'क्लासिक'पछि 'प्रेमगीत', 'वडा नम्बर ६' र 'पशुपति प्रसाद'को वर्चश्व रह्यो। फिल्म 'पशुपति प्रसाद'बाट दीपेन्द्र के खनालले उत्कृष्ट निर्देशकको अवार्ड जिते भनेे सोही फिल्मको पटकथाका लागि खगेन्द्र लामिछाने उत्कृष्ट ठहरिए। सोही फिल्मबाट बिपिन कार्कीलाई खलपात्रको अवार्ड प्रदान गरियो।

'वडा नं ६'बाट बाट दीपकराज गिरीले उत्कृष्ट सम्वाद , जितु नेपालले  सह अभिनेता , दीपाश्री निरौलाले चरित्र अभिनेत्री, केदार घिमिरेले हास्य कलाकार, एलिस कार्कीले उत्कृष्ट पार्श्व संगीत र राजनराज सिवाकोटीले वर्षको लोकप्रिय गीतको अवार्ड पाए।

सांगीतिक विधातर्फ 'प्रेमगीत' हावी रह्यो। 'प्रेमगीत'को 'म यस्तो गीत गाउँछु'बाट अर्जुन पोखरेलले उत्कृष्ट संगीतकार, अञ्जु पन्तले उत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरे। यही गीतबाट रेनेशा राईले उत्कृष्ट नृत्य निर्देशकको अवार्ड चुमिन् भने 'प्रेमगीत'कै 'म त अलपत्रै पर्छु' बोलको गीतबाट कृष्णहरि बरालले उत्कृष्ट गीतकारको अवार्ड पाए।

'ड्रिम्स'ले चार विधामा अवार्ड थाप्यो। फिल्मबाट भुवन केसीले नव निर्देशक, साम्राज्ञी राज्यलक्ष्मी शाहले नव अभिनेत्री, पुरुषोत्तम प्रधान र सञ्जय लामाले छायांकन र बिना घलेले उत्कृष्ट ड्रेस डिजाइनको अवार्ड थापिन्। नव अभिनेताको अवार्ड फिल्म 'नाइँ नभन्नू ल ४'का लागि पल शाहले चुमे। 

२६ विधामा प्रदान गरिएको अवार्डमा 'कबड्डी कबड्डी'बाट चरित्र अभिनेताको अवार्ड माओत्से गुरुङलाई दिइयो। एनिमेसनतर्फको अवार्ड 'फूलैफूलको मौसम तिमीलाई'बाट रमेशमान श्रेष्ठ, उत्कृष्ट आइटम डान्सरको अवार्ड फिल्म 'लुटेरा'को 'ब्लास्ट हुने वाला' गीतको नृत्यबाट प्रियंका कार्कीले, द्वन्द्व निर्देशकको अवार्ड 'भैरव'बाट हिमाल केसीले प्राप्त गरे। कथातर्फको अवार्ड फिल्म 'धौली'बाट सन्तोसकुमार आत्रेय र सहअभिनेत्रीको अवार्ड 'अधकट्टी'बाट आशिष्मा नकर्मीलाई प्रदान गरियो।

कार्यक्रममा अप्रतिस्पर्धी विभिन्न विधामा पनि अवार्ड प्रदान गरियो। जसअन्तर्गत् 'कबड्डी कबड्डी'लाई जुरी अवार्ड, सुदर्शन थापालाई पब्लिक च्वाइस अवार्ड, निर्मल शर्मा र कामेश्वर चौरसियालाई प्रोत्साहन अवार्ड दिइयो। क्रिटिक्स अवार्डतर्फ फिल्म 'पशुपति प्रसाद' उत्कृष्ट ठहरियो भने फिल्म 'फन्को'बाट अभिनेता सौगात मल्ल र अभिनेत्री केकी अधिकारीले अभिनय विधाका क्रिटिक्स अवार्ड प्राप्त गरे। पोखरामै बनेको 'धौली'लाई मौलिक फिल्मको रुपमा पुरस्कृत गरियो।

कार्यक्रममा यो वर्षको छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार इमेज एफएमका पत्रकार नरेश भट्टराईलाई प्रदान गरियो। उनलाई पुरस्कार स्वरुप सम्मानपत्र र आठ हजार आठ सय ८८ रुपैयाँ प्रदान गरिएको थियो।

यस्तै निर्माता छवि ओझा र अभिनेत्री करिश्मा मानन्धरलाई चलचित्रकर्मी रजतसम्मानबाट सम्मानित गरियो। पाँच वर्षपछि अघिल्लो साल फिल्ममा फर्किएका  निखिल उप्रेतीलाई स्टारडम अवार्ड प्रदान गरियो। डायस्पोरातर्फको सम्मानबाट 'डाइङ क्यान्डिल'का छायाँकार रविन आचार्य र रमेशचन्द्र राईलाई सम्मानित गरियो।

आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियले अवार्डलाई राजधानीबाट बाहिर लैजाँदै नेपाली फिल्मको बजार बिस्तारका लागि आठौं संस्करणको अवार्ड पोखरामा गरिएको बताए। अवार्ड निर्देशक प्रदीपकुमार उदयले अर्को संस्करणको अवार्ड हेटौंडामा आयोजना गरिने घोषणा गरे। 

प्रकाशित: ३१ श्रावण २०७३ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App