१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अनुदान वितरणका लागि थप ११ अर्बको अख्तियारी

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि विभिन्न जिल्लामा किस्ता वितरण गर्न थप ११ अर्ब रुपैयाँको अख्तियारी दिएको छ ।

प्राधिकरणले मंगलबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई यस्तो अख्तियारी दिएको हो । सबै जिल्लामा निजी आवास निर्माण उल्लेखनीय गतिमा बढिरहेकाले अनुदान रकमको माग उच्च हुने सम्भावनालाई विचार गर्दै थप रकमको अख्तियारी दिएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणले जिल्लाबाट अनुदान मागको चाप बढ्न सक्ने भन्दै अर्थ मन्त्रालयसँग थप पाँच अर्ब रुपैयाँ रकमान्तरका लागि आग्रह गरेको छ ।

निजी आवास पुनर्निर्माण गरिरहेका लाभग्राहीलाई किस्तावापतको रकमका लागि कुनै समस्या नभएको प्राधिकरणका उपसचिव एवं सूचना अधिकारी मनोहर घिमिरले जानकारी दिए । ‘घर निर्माण गर्नका लागि रकम अभाव नहोस् भनेर अग्रिमरुपमै जिल्लामा निकास गर्न बजेटको अख्तियारी दिइएको छ,’ उनले भने, ‘जिल्लाबाट माग भएअनुसार सबै जिल्लामा रकम पठाइएकाले ढुक्क भएर निजी आवास निर्माणलाई अघि बढाउन लाभग्राहीलाई आग्रह गछौं ।’

पछिल्ला समय भूकम्प प्रभावित सबै जिल्लामा निजी आवास पुननिर्माणको क्रमले तीव्रता पाएको छ । मंगलबार साँझसम्मको तथ्यांकमा दुई लाख ९१ हजार आठ सय ९५ घर निर्माणाधीन अवस्थामा रहेको उल्लेख छ । दोस्रो किस्ताका लागि दुई लाख २७ हजार आठ सय ५४ लाभग्राही प्रमाणीकरण भइसकेका छन् ।
निजी आवास निर्माणका लागि थप ३० अर्ब रुपैयाँ ऋण सहयोगबारे विश्व बैंक र अर्थ मन्त्रालयबीच यही माघ पहिलो साता सम्झौता भइसकेको छ ।


 

प्रकाशित: २४ माघ २०७४ ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App