१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

६ महिनामा करिब अढाई अर्ब राजस्व संकलन


किरणमान बज्राचार्य
कपिलवस्तु – कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा करिब अढाई अर्ब राजस्व संकलन गरेको छ । साउनदेखि पुस महिनासम्म लक्ष्यको १३०.६१ प्रतिशत राजस्व संकलन गरिएको भन्सार कार्यालयले जनाएको छ ।

पुस मसान्तसम्म कुल दुई अर्ब ४८ करोड १५ लाख ७१ हजार रुपैयाँ उठेको प्रमुख भन्सार अधिकृत बिन्देश्वरप्रसाद लेखकले बताए । पुससम्मको एक अर्ब ९० करोड ५२ हजार लक्ष्य थियो । वार्षिक लक्ष्य भने चार अर्ब १३ करोड पाँच लाख ४८ हजार रुपैयाँ रहेको छ ।साउनमा २८ करोड ९१ लाखको लक्ष्य दिइएकोमा १३३.६३ प्रतिशत अर्थात ३८ करोड ६३ लाख ७८ हजार राजस्व संकलन भएको छ । भदौमा ३३ करोडको लक्ष्य राखिएकामा एक सय २६ प्रतिशत अर्थात ४१ करोड ६४ लाख रुपैयाँ राजस्व उठेको छ ।

असोजमा २८ करोड ९१ लाख लक्ष्यमध्ये एक सय ६७ प्रतिशत अर्थात ४८ करोड ३३ लाख तथा कात्तिकमा ३३ करोड लक्ष्य लिइएकोमा सय प्रतिशत अर्थात ३३ करोड लाख रुपैयाँ राजस्व उठेको छ । त्यस्तै मंसिरमा दिइएको ३३ करोड लक्ष्यमा ३३ करोड २० लाख रुपैयाँ उठेको थियो । पुसमा ३३ करोड लक्ष्य लिइएकोमा ५३ करोड २२ लाख रुपैयाँ राजस्व उठेको छ ।

भन्सार प्रमुख लेखकले लक्ष्यभन्दा बढीको आँकडा पार गर्नु सकारात्क भएको बताए ।  उनले यथार्थपरक वर्गीकरण र मूल्यांकनले लक्ष्यको तुलनामा बढी राजस्व संकलन गर्न सफल भएको बताए । चोरी पैठारी हुने नाकाहरु, फर्म क्षेत्रको निगरानी तथा नियमित गस्ती बढाइएकाले सकारात्मक परिणाम देखिएको उनले बताए ।

भन्सार नाकामा राजस्व गस्ती लगायत विषयमा भारतीय समकक्षीसँग समेत समन्वय गरिएको उनले बताए ।  मुल भन्सार कार्यालयसहित कृष्णनगर भन्सारलगायत थप पाँच छोटी भन्सार सञ्चालनमा रहेका छन् । सुठौली, चाकलचौडा, भिल्मी, हरिहरपुर र कृष्णनगरको पुरानो गेटको भन्सार सञ्चालनमा छन् । भन्सार नाकाबाट सिमेन्टका कच्चा पदार्थ (क्लिंकर, खरानी, जिप्सम, आइरन डस्ट र बक्ससाइट)को आयातबाट सबैभन्दा बढी राजस्व उठेको छ ।

त्यस्तै कोइला, जिरा चामल र कनिका, गहुँ, खसीबोका, भेनियर सिट, फलफूल र तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पार्टपुर्जा आयातबाट राजस्व संकलन भएको भन्सार कार्यालयले जानकारी दिएको छ । भन्सारलाई सूचना प्रविधिमैत्री बनाउन आशीकुडावर्ड प्रणाली लागू गरिएकाले त्यसले पनि भन्सारको राजस्व असुलीमा सकारात्मक परिणाम देखिएको भन्सार कर्मचारीको भनाइ छ ।

नेपालको सिमानाबाट सबैभन्दा नजिकको ब्रोडगेज लाइन भएको भारतीय रेलवे स्टेसन भएकाले पनि यो नाकाबाट आगामी दिनमा बढी राजस्व संकलन हुने देखिएको प्र्रमुख लेखकले बताए । भन्सनारको स्तरोउन्नती गरी तेस्रो मुलकबाट समेत आयात निर्यात तथा सुक्खा बन्दरगाह सञ्चालन गरिए यहाँबाट अझ बढी राजस्व उठ्ने व्यापारी बताउँछन् ।  

 

प्रकाशित: २४ माघ २०७४ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App