१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थायी राजधानी बन्ने आशा

दाङ - गुल्मीका पारिश्वर भट्टराई मंगलबार पहिलोपटक दाङ भित्रिए । गुल्मी सत्यवती गाउँपालिकाका अध्यक्ष उनको यसपटकको दाङयात्रा आफंैमा ऐतिहासिक छ । बुधबार दाङमा हुने राष्ट्रियसभा निर्वाचनमा उनले मतदान गर्नेछन् ।

पहिलोपटक दाङसँगको साक्षात्कार गर्ने मौकालाई उनले ठूलो उपलब्धिका रुपमा पनि अथ्र्याए । ‘पहिलोपटक दाङ आउने साइत जुर्यो,’ उनले भने, ‘यहाँको भौगोलिक बनावट र वातावरण निकै राम्रो लाग्यो ।’पाँच नम्बर प्रदेशको राजधानीका लागि उपयुक्त जिल्लाका रुपमा चित्रण गरेका उनले नयाँ आशा पनि जगाए, ‘यो निर्वाचनको जमघटले उपयुक्त स्थानमा स्थायी राजधानी ल्याउने वातावरण निर्माण हुन पनि सक्ला ।’

प्युठान गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीका लागि छिमेकी जिल्ला दाङ भ्रमण नयाँ होइन । तर ऐतिहासिक मतदानका लागि दाङ झरेका उनले पनि राष्ट्रियसभा निर्वाचनलाई दीर्घकालीन महŒवका रुपमा अथ्र्याए । ‘दाङ पाँच नम्बर प्रदेशको मुख्य एकाइ हो,’ उनले भने, ‘तर राजनीतिक निर्णय दाङ अनुकूल बन्न सकेन । तथापि सहमतिबाट यसलाई केन्द्र तोक्ने वातावरण निर्माणका लागि राष्ट्रियसभाको निर्वाचन रहेको छ । यसलाई दाङवासीले अधिकतम सदुपयोग गर्न सक्नुपर्छ ।’

पाँच नम्बर प्रदेशको उपयुक्त जिल्लाका रुपमा चित्रण गरिएको दाङमा प्रदेशको अस्थायी मुकाम तोकिएन । सरकारले बुटवलमा अस्थायी मुकाम तोकेको छ । अब स्थायी राजधानीका लागि प्रदेशसभामा दुईतिहाइ बहुमत एकमात्रै विकल्प हो ।प्रदेशसभाका सबै सदस्यहरु दाङमा जमघट हुनुले दाङको पक्षमा सकारात्मक भावना जागृत हुन सक्ने आँकलन गरिएको छ । त्यसो त, प्रतिनिधिसभा सदस्य पनि यो निर्वाचनका लागि दाङमा आइपुगेका छन् । यो महाभेलाले स्थायी राजधानीको ‘सम्भावना’ कोरेको प्रदेशसभा सदस्यहरु बताउँछन् ।

‘यो निर्वाचनले सबैलाई एकै ठाउँमा भेला गराएर दाङको बारेमा जानकारी दिने पर्याप्त अवसर प्रदान गरेको छ,’ रुपन्देही क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य दधिराम न्यौपानेले भने, ‘यो जमघटले स्थायी राजधानीको बारेमा गहन छलफलसँगै सहमतिको आशा गर्न सक्ने ठाउँ  प्रदान गरेको छ ।’ उनले दाङमा तय गरिएको राष्ट्रिसभा निर्वाचनले दुरगामी महŒव राख्ने बताए । ‘यो निर्वाचन दाङमा तय हुनु यहाँका लागि गौरवको कुरा हो,’ उनले भने, ‘प्रदेशसभा सदस्यहरुको प्रत्यक्ष नजरमा परेको दाङको विकास लागि केकस्ता रणनीति अवलम्बन गर्ने भन्ने विषयको जानकारी प्राप्त भएको छ ।’

राष्ट्रियसभाको निर्वाचनलाई स्थायी राजधानीका सन्दर्भमा सहमति खोज्ने अवसरका रुपमा लिनुपर्ने भनाइ राखे । ‘यसले दाङका पक्षमा छलफलको सिर्जना गरिदिएको छ,’ उनले भने, ‘विभिन्न निकायले पनि हामीलाई बोलाएर कार्यक्रम गरिराखेका छन् । यी कार्यक्रम दाङका लागि प्रभावकारी बन्न पनि सक्छन् ।’
रोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य कुलबहादुर केसी पनि राष्ट्रियसभाको निर्वाचन दाङका लागि ऐतिहासिक रहेको भन्दै यसको प्रभाव दीर्घकालीन रुपमा पर्ने बताउँछन् ।

भौगोलिक दृष्टिले राजधानीका लागि उपयुक्त दाङमै प्रदेश तथा प्रतिनिधिसभा सदस्यबीच राजधानीका विषयमा नयाँ बहस गर्ने अवसरका रुपमा समेत राष्ट्रियसभा निर्वाचन बनिदिएको उनले बताए । ‘यो सहमतिका लागि उपयुक्त अवसर हो,’ उनले भने, ‘तर सहमतिका लागि गहन छलफलको वातावरण निर्माण हुन्छ हुन्न भन्ने कुरा प्रमुख हो ।’ उनले यसका लागि राजधानीको अजेन्डाबाट निर्वाचन जितेका प्रतिनिधिहरुको अहं भूमिका हुनुपर्ने बताए । ‘हामीले त प्रदेशसभाको बैठकमा पनि प्रादेशिक राजधानी दाङ हुनुपर्छ भनेर बोलिसकेको छौं,’ उनले भने, ‘यो मुद्दामा अरु पार्टीका सांसद पनि बोल्न सक्नुप¥यो र त्यसका लागि वातावरण निर्माण गर्न सक्नुपर्यो।’

निर्वाचनका लागि प्रदेशका सबै जिल्लाबाट मतदाता दाङ आइपुगेका छन् । प्रदेश ५ का १२ जिल्लाका ३ सय ५ मतदाताले राष्ट्रियसभाका लागि मतदान गर्ने छन् । यो प्रदेशका ८७ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख २ सय १८ गरी कुल ३ सय ५ मतदाता छन् । यो प्रदेशमा १ सय ९ स्थानीय तह छन् भने प्रदेशसभा सदस्य ५२ जना प्रत्यक्षबाट र ३५ जना समानुपातिकबाट छानिएका छन् । निर्वाचन कार्यालयले मतदानका लागि सबै तयारी पूरा भएको जनाएको छ ।

प्रकाशित: २४ माघ २०७४ ००:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App