१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समृद्ध र सुन्दर प्रदेशको वाचा

पाेखरामा साेमबार प्रदेश ४ काे पहिलाे प्रदेश सभा बैठकमा सहभागी सदस्य

सन्तोष पोखरेल/बिशन क्षेत्री
पोखरा – पोखरा प्रदेश राजधानीका रुपमा निर्विवाद सहर हो । सोही सहरमा सोमबार बसेको पहिलो प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यले पर्यटकीय क्षेत्रका रुपमा समेत कहलिएको मुकाम पोखरासहित सिंगै प्रदेशलाई समृद्ध र सुन्दर बनाउने अठोट गरे । प्रदेशलाई समृद्ध र सुन्दर बनाउने आधार पनि आफूहरुसँग रहेको उनीहरुले बताए ।

प्रदेशलाई अखण्ड र एकीकृत बनाउने उद्घोषका साथ सदस्यहरुले मुलुककै सुन्दर सहर बनाउने वाचा गरे । प्रदेशभित्रका बासिन्दाको मुहार फेर्ने योजना सुनाउँदै सदस्यहरुले त्यसका लागि दलहरुबीच सहकार्यको प्रतिबद्धता पनि जनाए । एमाले केन्द्रीय सचिवसमेत रहेका प्रदेशसभा सदस्य पृथ्वीसुब्बा गुरुङले प्रदेश ४ लाई गौरवपूर्ण बनाउने उद्घोष गरे । प्राकृतिक स्रोत, साधन, ऊर्जा, पर्यटन, संस्कृति र प्रकृतिका हिसाबले प्रदेश उत्कृष्ट रहेको उनीहरुको भनाइ थियो ।

‘आगामी १० वर्षभित्र ३ हजारदेखि ५ हजार मेगावाट विद्युत् यही प्रदेशबाट उत्पादन गरेर प्रदेशलाई नै समृद्धिको बाटोमा लैजान्छौं,’ गुरुङले भने, ‘यो प्रदेशमा १५ प्रतिशत जनता अझै बिजुलीविहीन अवस्थामा छन् । उनीहरुलाई ५ वर्षभित्र विद्युत्को उज्यालोमा समेट्छौं ।’ गुरुङले उत्तरी नाका कोरला (मुस्ताङ) देखि दक्षिणको सुस्ता (नवलपरासी) लाई सडकले जोडेर व्यापारको ढोका खोल्ने पनि बताए ।
‘अब हामीले प्रदेशलाई आर्थिक रुपमा उन्नतितर्फ उन्मुख बनाउनेछौं ।

सबैभन्दा सुन्दर, सचेत र शान्त प्रदेश बनाउन चाहेका छौं,’ गुरुङले भने, ‘अरु ६ वटा प्रदेशभन्दा कुनै रुपमा पनि कमजोर हुन दिनेछैनौं ।’ प्रदेशका १४ प्रतिशत जनता अझै पनि गरिबीको रेखामुनि रहेको बताउँदै उनले आगामी ५ वर्षभित्र गरिबी दर घटाउने प्रतिबद्धता व्यक्त गरे । प्रदेश कला, संस्कृति, साहित्य र पर्यटनको राजधानी भएकाले समृद्ध बन्ने आधार रहेको उनको भनाइ थियो । पोखरामा बन्ने विमानस्थलले अन्तर्राष्ट्रिय सहर जोड्न सघाउने भएकाले पनि समृद्ध बन्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । प्रदेशभित्र अझै सुविधासम्पन्न अस्पताल, पोखरामा अन्तर्राष्ट्रिय स्तरको सभाहल, अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने योजना उनले सुनाए ।

यस्तै कांग्रेसका कृष्णचन्द्र नेपालीले भारत र चीन जोड्ने कालीगण्डकी करिडोर, काठमाडौं–पोखरा–लुम्बिनी जोड्ने सडक, विमानस्थल, सुरुङमार्ग, द्रुतगतिको सडक निर्माणले प्रदेश समृद्ध बन्ने बताए । ‘छोटो समयमा आर्थिक रुपमा समृद्ध र सुन्दर बनाउन सकिने प्रदेश हो,’ उनले भने, ‘प्रकृति र पर्यटनले साथ दिएको छ । समृद्ध र समुन्नत सहर बनाउन विधिको शासन चाहिन्छ ।’ उनले जनतामैत्री सेवा, विधिको शासन स्थापना र भ्रष्टाचार निर्मूल गर्न आफूहरु लाग्ने वाचा  गरे ।

माओवादी केन्द्रका हरिबहादुर चुमानले स्थानीय तहलाई दिएको अधिकार व्यवस्थित रुपमा कार्यान्वयन गर्न सघाउने बताए । ‘अहिले स्थानीय तहको अधिकार कटौती गर्ने प्रयास भइरहेको छ । प्रदेशसभाले त्यसका विरुद्ध खबरदारी गर्नुपर्छ,’ चुमानले भने । उनले प्रदेश ४ मा सबैभन्दा बढी अवसर रहेकाले त्यसबाट फाइदा लिनुपर्ने बताए । ‘पर्यटन, जलस्रोत र उद्योगमा यो प्रदेशले सिंगो मुलुकको नेतृत्व गर्नुपर्छ,’ उनले भने, ‘शिक्षा र स्वास्थ्यको केन्द्रका रुपमा पनि यसले विकास गर्न सक्छ । त्यसमा हामी सबैको हातेमालो चाहिन्छ ।’ स्थिरता, सुशासन र आर्थिक समृद्धिको जनादेश आफूहरुले पाएकाले त्यसका लागि पहल गर्ने चुमानले बताए ।

राष्ट्रिय जनमोर्चाका सदस्य कृष्ण थापाले प्रदेशसँग ठूलो आयआर्जन गर्न सक्ने क्षमता रहेको बताए । उनले प्रदेशलाई समृद्ध बनाउने र जनताका समस्या समाधान गर्ने बताए । उनले संघीयतामा असहमति जनाउँदै अहिलेको अवस्थामा जनताको जीवनस्तर उकास्न अप्ठेरो पर्ने बताए । उनले सबैभन्दा पहिला राजनीतिक भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिए । नयाँशक्तिका हरिशरण आचार्यले साझा अजेन्डा लिएर अघि बढ्नुपर्ने बताए । उनले प्रदेशलाई समृद्ध बनाउन हरदम प्रयास गर्ने वाचा गरे ।

अर्का सदस्य एमालेका किरण गुरुङले एमाले गणितीय हिसाबले ठूलो दल भए पनि सबै मिलेर प्रदेशलाई समृद्ध बनाउनुपर्ने बताए । ‘हुन त हामी गणितीय हिसाबले ठूला छौं । जनताबाट त्यही अनुसार अनुमोदित पनि भएका छौं,’ उनले भने, ‘तर प्रदेशको विकासमा सबै बराबर हुनुपर्छ । कोही ठूलो र सानो छैन ।’ सभामा प्रतिस्पर्धीका रुपमा नभएर प्रदेश समृद्ध बनाउन आफू आएको उनले बताए ।

‘सत्ता र प्रतिपक्ष भए पनि प्रदेश समृद्ध बनाउनु हामी सबैको दायित्व हो । त्यसका लागि मिलेर अघि बढ्ने हो,’ उनले भने, ‘संसदीय अभ्यास आफ्नो ठाउँमा हुन्छ तर प्रदेश समृद्धिका लागि सबैको हातेमालो जरुरी छ ।’ उनले सुशासनलाई पहिलो प्राथमिकता दिने बताए । ‘विकासका हिसाबले पूर्वाधार बनाउन हामी सबै मिलेर अघि बढ्नुपर्छ । यसमा कुनै पनि दलको टोपी लगाउन जरुरी छैन,’ उनले भने, ‘साँच्चै प्रदेशलाई समृद्ध बनाउन मिलेर छलफल गरौं । हामीले प्रदेशलाई नमुना बनाउँछौं ।’

अर्का वक्ता कांग्रेसका दोबाटे विकले राजनीतिक आन्दोलन सकिएकाले अब विकासमा जानुपर्र्ने बताए । माओवादी केन्द्रका नेत्रनाथ अधिकारीले जनादेशअनुसार अघि बढ्ने बताए । महिला सदस्यहरु एमालेकी सिर्जना शर्मा, कांग्रेसकी ललितकला गुरुङ र माओवादी केन्द्रकी गायत्री गुरुङले महिला हकहितका क्षेत्रमा आवाज उठाउने बताए । उनीहरुले प्रदेश समृद्धिसहित महिला अधिकारका लागि लड्ने वाचा गरे ।
अन्तरिम कार्यविधि पारित

प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ सर्वसम्मतिले पास गरेको छ । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा बसेको बैठकले प्रदेशसभा सञ्चालनका लागि नियमावली बनिनसकेकाले सर्वदलीय बैठकबाट प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि बनाएको हो । यसै कार्यविधिका आधारमा प्रदेशसभा बैठक चल्नेछ ।
फागुन ३ मा सभामुख चयन

बैठकले सभामुखको निर्वाचन मिति फागुन ३ लाई तोकेको छ । सभामुख चयन भएको दुई दिनपछि उपसभामुख चयन गर्ने संसदीय अभ्यास छ । प्रदेशसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । फागुन ३ गते १ बजे सभामुखको चुनाव गर्ने निर्णय बैठकले पारित गरेको हो ।

निर्वाचनका लागि सोमबार नै कार्यतालिका सार्वजनिक गरिएको छ । कार्यतालिकाअनुसार सभामुख निर्वाचनका लागि फागुन २ गते बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म उम्मेदवारी दर्ता गर्न समय तोकिएको छ । सोही दिनको साढे १ बजे  उम्मेदवारको नामवली प्रकाशन गर्ने कार्यक्रम छ ।

त्यसपछि ३ गते दिउँसो १ बजे बैठकमा प्रस्तावकले गरेको प्रस्ताव तथा समर्थकले गरेको समर्थनउपर निर्णयार्थ छलफल गरिने कार्यतालिका रहेको प्रदेश नं. ४ सचिवालयका उपसचिव गोपाल सिग्देलले जानकारी दिए ।सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि बैठकले पाँचसदस्यीय अध्यक्षमण्डल चयन गरेको छ । अध्यक्षमण्डलमा गायत्री गुरुङ, टेकबहादुर घर्तीमगर, धनमाया पोखरेल लामा, मनकुमारी गुरुङ र मित्रकुमारी गुरुङ सुवेदी छन् ।

 

प्रकाशित: २३ माघ २०७४ ००:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App