१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विकासका लागि 'सबै दल एक'

कलेन्द्र सेजुवाल/नगेन्द्र उपाध्याय
सुर्खेत –प्रदेश सीमांकनमा असन्तुष्टि जनाउँदै थालिएको आन्दोलनबाट जन्मिएको हो– हालको ६ नम्बर प्रदेश, जहाँ कर्णाली र कर्णालीजस्तै भूगोलको संरचना छ । यो प्रदेशसभाको आइतबार सुर्खेतमा बसेको पहिलो बैठकमा बोल्ने सांसदले चुनौती चिर्दै ‘कान्छो प्रदेश’ लाई देशकै समृद्ध प्रदेश बनाउने अठोट व्यक्त गरे।

विभिन्न राजनीतिक दलका सांसदले गरिबी र पछौटेपनविरुद्ध प्रदेशसभाभित्र ‘सबै दल एक दल’ भएर लड्ने उद्घोष गरे । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद यामलाल कँडेलले संघीय सरकारका निम्ति सिंगो ६ नम्बर प्रदेशसभा स्थायी प्रतिपक्षीको भूमिकामा रहने बताए । ‘कर्णालीजस्तै भूगोलको विस्तार भएर बनेको यो प्रदेश सधैं केन्द्रबाट उपेक्षित भयो,’ उनले भने, ‘त्यसैले यहाँको विकास र समृद्धिका लागि हामी एक भएर लड्नेछौं, त्यो लडाइँ केन्द्र सरकारसँग हुनेछ ।’ उनले अहिले भनिँदै आएको भौगोलिक विकटतालाई हेर्नलायक र देख्नलायक स्थलका रुपमा विकसित गरिने बताए।

माओवादी संसदीय दलका तर्पmबाट बोल्दै पूर्वमन्त्री महेन्द्रबहादुर शाहीले अब दुःखकष्टका कथा सुनाउने समय सकिएको बताए । उनले सामाजिक तथा सामूहिक अजेन्डामा सबै सांसद एकढिक्का भएर अघि बढ्ने बताए । ‘यो प्रदेशको समग्र विकासका लागि संसद्भित्र हामी सबै एक दल हुनेछ,’ उनले भने, ‘हामी राजनीतिक रुपमा विभाजित मानसिकता छोडेर काम गर्नेछौं।’

कांग्रेसतर्फबाट बोल्ने पूर्वमन्त्री जीवनबहादुर शाहीले सम्भावनाको हिसाबले ‘सुनको प्रदेश’ भनिने ६ नम्बर प्रदेशलाई नमुना बनाउने बताए । आधुनिक प्रविधि प्रयोग गरेर यहाँका सम्भावना उजागर गरी समृद्धियात्रा थाल्नुपर्ने उनको भनाइ थियो । ‘प्रदेशसभामा कुनै दल ठूलो त कुनै दल सानो हुनसक्ला,’ उनले भने, ‘तर चुनौती चिर्दै विकासमा अघि बढ्न पक्ष–विपक्ष नभनी सहमतिसाथ अघि बढ्नुपर्छ।’

राप्रपातर्फबाट बोल्दै सांसद सोसिला शाहीले प्राकृतिक स्रोत–साधनले सम्पन्न ६ नम्बर प्रदेशलाई सम्पन्न बनाउने सम्भावनाको उजागर गर्नुपर्ने बताए।

४० सदस्यीय ६ नम्बर प्रदेशसभामा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । पहिलो बैठकमा सबै दलका एक÷एक सांसदले बोले । प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि– २०७४ बैठकले पारित गरेको छ ।
बैठकले माघ २९ गते सभामुख निर्वाचन मिति तोकेको छ । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको हैसियतले कांग्रेस सांसद हिमबहादुर शाहीले गरेका थिए।

प्रकाशित: २२ माघ २०७४ ०४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App