१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बाँदर आतंकले जमिन बाँझै

दोलखा – सदरमुकाम चरिकोट बजार नजिकैको खत्री गाउँमा पर्ने ढुंगेसाँघु बारी केही वर्ष अघिसम्म यो बारी काउली, साग जस्ता तरकारी बालीले हराभरा हुन्थ्यो । तर केही वर्षदेखि यो बारी बाँझै छ।

बारी बाँझो देख्दा आउजाउ गर्ने नयाँ बटुवा स्थानीय अल्छी भएर खेती गर्न छाडे की भनेर लख काट्छन् । तर कारण त्यसो नभई स्थानीयको पीडा अर्कै छ । बाँदरले बालीनाली सखाप पारेपछि केही वर्षदेखि स्थानीयले खेतीपाती लगाउनै छाडेका छन्।

स्थानीय ध्रुव खत्रीका अनुसार ढुंगेसाँघुमा मात्र झन्डै ७० रोपनी बारी बाँझै छ । ‘केही वर्ष अघिसम्म मौसमअनुसारका तरकारीले यी बारी हराभरा हुन्थे, तरकारी बेचेर हाम्रो आम्दानीको स्रोत पनि निकै राम्रो थियो,’ उनले सुनाए, ‘तर बाँदरले दुख दिएपछि रोप्नै छाड्यौ।’
खत्रीका अनुसार तरकारी बेचेर कमाउने स्थानीय अहिले बजारबाट तरकारी किनेर खान बाध्य छन् । खत्रीका अनुसार बारीमा तयार हुन लागेको तरकारी टुसा लाग्ने बित्तिकै बाँदरले सखाप पारी हाल्छ । ‘रोपेको भोलिपल्ट हुलका हुल बाँदर पसेर सखाप पारिदिन थालेपछि खेतीपाती गर्न छाडेका हौं,’ उनले भने।   

चरिकोट बजारबाट १० मिनेट ओरालो झरेपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाइपास सडक छेउमा पर्छ खत्री गाउँ । भीमेश्वर नगरपालिका–३ नम्बर वडामा पर्ने यो गाउँसँगै छन् राउत गाउँ, थापा गाउँबाहुन गाउँ अनि तिखातल । गह्रागह्रा परेका बारीमा रोपेको तरकारी बेचेर स्थानीय राम्रो आम्दानी गर्थे।

‘तरकारी बेचेर दिनको तीन सय रुपैयाँसम्म कमाइ हुन्थ्यों,’ थापा गाउँका इश्वर थापाले भने, ‘तर अहिले जमिन बाँझै भएपछि धेरैले बजारबाट किनेर तिउन तरकारीको जोहो गर्नु परेको छ।’

खत्रीका अनुसार पाँच वर्षअघि १५–२० बाँदरको देखिने हुलमा अहिले तीन सय जतिको पुगेको छ । ‘मानिस एक्लै हिड्नसमेत नसकिने भएको छ,’ खत्रीले भने । पहिले थोरैको संख्यामा रहेको बाँदरको हुल गाउँसम्म आएर दुःख दिन थालेको खत्रीले सुनाए।

बाँदरको हुल बढेपछि स्थानीयले जमिन बाँझै राख्दा तार्थलीको पारीबारीको दुई सय रोपनीमध्ये ७० रोपनी उजाड बनेको छ । यो बारीमा तार्थली, राउतगाउँ र थापागाउँका स्थानीयले खेतीपाती गर्ने गर्थे । तिखातलका स्थानीय चन्द्र खड्काका अनुसार खैदल, सहर्पा, लाम्पातेतिखातलका उब्जनी हुने खेतबारी पनि बाँझै छन्।

वडाध्यक्ष हरिशरण शिवाकोटीले बाँदरको समस्याले गाउँलेलाई निकै दुःख दिएको सुनाए । ‘यो समस्याको केही समाधान हुन सक्छ की भनेर स्थानीय प्रशासन, पशु सेवा कार्यालयसहित विभिन्न सरकारी निकाय पुग्यों,’ शिवाकोटीले भने, ‘तर कसैले वास्ता गरेनन् ।’ उनका अनुसार तत्काल नियन्त्रण नगरे केही वर्षभित्र बाँदरको संख्या बढेर चरिकोट बजारमा समेत आउन सक्ने अतरा छ।
 

प्रकाशित: २१ माघ २०७४ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App