१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२५ सिसी क्यामरा प्रयोगविहीन

नुवाकोट – नुवाकोटको विदुर नगरपालिकामा शान्तिसुरक्षा कायम गराउन, चोरीलगायत आपराधिक क्रियाकलाप नियन्त्रण गर्न, दुर्घटना न्यूनीकरण गर्न र दुर्घटना भएमा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्न सहज बनाउनका लागि जडान गरिएका सिसी क्यामरा प्रयोगविहीन भएका छन् ।  सदरमुकामका मुख्य बजार मानिने गंगटे, बट्टार, विदुर, ढुङ्गे र त्रिशूलीमा जडान गरिएका २५ थान सिसी क्यामरा प्रयोगविहीन भएका हुन् । नुवाकोट उद्योग वाणिज्य संघको पहलमा दुई वर्षअघि जडान गरिएका सबै सिसी क्यामराले काम गर्न छाडेका छन्।

सिसी क्यामरा जडानका लागि एउटा निजी कम्पनीसँग ३२ लाख रुपैैयाँको सम्झौता भएको थियो । कम्पनीलाई २४ लाख रुपैयाँमात्र भुक्तानी गरेको र ८ लाख रुपैयाँ बुझाउन बाँकी नै रहेको छ । सम्झौताअनुसार कम्पनीलाई रकम भुक्तानी गर्न नसक्दा सिसी क्यामरा प्रयोगविहीन अवस्थामा पुग्दा पनि मर्मत गर्न कम्पनीले चासो नदिएको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ।

जिल्ला समन्वय समिति, विदुर नगरपालिका, बैंक तथा वित्तीय संस्थाबाट सहयोग नहुँदा रकम अभावले सुरक्षा व्यवस्थापनका लागि भरपर्दो माध्यम बनेका सिसी क्यामरा प्रयोगमा छैनन्।  

प्रयोगविहीन अवस्थामा पुगेको सिसी क्यामरालाई प्रयोगमा ल्याउन उद्योग वाणिज्य संघलाई जिल्लामा रहेका सरोकारवालाले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटको आयोजनामा बसेको सरोकारवाला सम्मिलित बैठकमा उद्योग वाणिज्य संघको पहलमा जडान गरिएका क्यामरा सञ्चालनमा नआउँदै बिग्रेर बन्द भएकाले त्यसलाई मर्मत तथा आवश्यक व्यवस्थापन गरी स्वामित्व हस्तान्तरण गर्नुपर्ने प्रहरी प्रमुख वसन्त कुँवरले बताए । क्यामरा जडान गर्ने कम्पनीलाई भुक्तानी गर्न बाँकी रकम समयमै उपलब्ध गराउनुपर्ने, क्यामरा सञ्चालन गर्न विद्युतीय व्यवस्था गर्नुपर्ने, रातका समयमा सडक प्रस्टसँग देखिने गरी थप बत्तीको व्यवस्था गरी नगर क्षेत्रको सुरक्षा व्यवस्था मजबुत बनाउन सबै सरोकार राख्ने पक्ष जिम्मेवार हुनुपर्ने कुँवरको भनाइ छ।

उद्योग वाणिज्य संघको पहलमा क्यामरा जडान भए पनि रकम भुक्तानी गर्न नसक्दा समस्या भएको संघकी कोषाध्यक्ष गीता अमात्यले बताइन् । क्यामरा जोड्नका लागि प्रतिबद्धता जनाएको जिल्ला समन्वय समिति, विदुर नगरपालिका, बैंक तथा वित्तीय संस्थाबाट सहयोग नहुँदा रकम अभावले सुरक्षा व्यवस्थापनका लागि भरपर्दो माध्यम बनेका सिसी क्यामरा प्रयोगमा ल्याउन नसकेको अमात्यले स्विकार गरिन्।

प्रहरी कार्यालयमार्फत सञ्चालन हुने व्यवस्था गर्नेगरी जडान गरिएका क्यामरा सञ्चालन नहुँदा तारहरूसमेत क्षतिग्रस्त भएका छन् । भुक्तानी गर्न बाँकी रकम नगरपालिकाको तर्फबाट उपलब्ध गराउन पहल गर्ने र जिम्मेवारी लिन उद्योग वाणिज्य संघलाई विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले आग्रह गरेका छन्।

 

प्रकाशित: २१ माघ २०७४ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App