१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

परम्परागत हुलाक चलाउँदै स्थानीय सरकार

रोल्पाको परिवर्तन गाउँपालिका कार्यालय। तस्बिर : दिनेश / नागरिक

रोल्पा – संघीयता कार्यान्वयनक्रममा गठन भएका स्थानीय तहले विभिन्न खाले समस्याका बीचमा सेवा प्रवाह गर्न बाध्य भइरहेका छन् । दुर्गम जिल्ला रोल्पाका अधिकांश गाउँपालिकामा सूचना तथा सञ्चार आदानप्रदान गर्ने सुविधा छैन । जसले गर्दा विभिन्न निकायसँग समन्वयमा कठिनाइ हुँदै आएको छ भने सेवाको प्रभावकारिता वृद्धि हुन सकेको छैन । ‘कार्यालयमा इमेल, इन्टरनेट छैन । मौसम बिग्रिएका बेला आक्कलझुक्कल लाग्ने फोनले पनि काम गर्दैन । कार्यालय भवनको समस्या त छँदैछ,’ परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराम परियारले भने।

सेवाग्राहीलाई सेवा र सुविधा दिन गाउँपालिकाले स्रोत तथा साधन व्यवस्थापन गरेको छ । तर, रेकर्ड व्यवस्थापनमा समस्या छ । मन्त्रालयसँग दैनिक सम्पर्कमा रहनुपर्ने हुन्छ तर त्यहाँबाट आउने इमेल चेक गर्न सदरमुकाम नै पुग्नुपर्छ । जसकारण मन्त्रालयले माग्ने तथ्यांक पठाउन र त्यहाँबाट प्राप्त हुने सूचना प्राप्त गर्न निकै असजिलो हुन्छ । यो समस्याबाट पार पाउन परम्परागत हुलाक प्रयोगमा ल्याइएकोे छ । ‘पत्राचार नै विकल्प बनेको छ । हामी आफैले परम्परागत मानेको हुलाक सेवाबाट कामकाज अगाडि बढाइरहेको छ,’ परियारले भने।

सूचना प्रविधि अभावमा कर्मचारीले घरपरिवारसँग सम्पर्क गर्न पाउँदैनन् । जसले गर्दा उनीहरूमा गम्भीर मनोवैज्ञानिक प्रभाव परेको छ । अनलाइनका भरमा अध्ययन गर्ने युवा कर्मचारीलाई त झनै सकसमा पारेको छ।

तातो जोसका कर्मचारी विकट क्षेत्रभित्र सुविधा र प्रविधिको पहुँच नहुँदा अप्ठ्यारो मान्ने गरेका छन् । ‘हट ब्लड भएका नयाँ पुस्ताका हामी अफिसरहरू केके नै गर्छौं भनेर आएका थियौं तर विविध समस्याले निराश भएका छौं । जनप्रतिनिधिको सपोर्ट छ । तर, सूचना प्रविधिमा पहुँच नहुँदा कुहिरोका काग जस्तो भइयो,’ उनले थपे । सूचना प्रविधि अभावमा कर्मचारीले घरपरिवारसँग सम्पर्क गर्न पाउँदैनन् । जसले गर्दा उनीहरूमा गम्भीर मनोवैज्ञानिक प्रभाव परेको छ । अनलाइनका भरमा अध्ययन गर्ने युवा कर्मचारीलाई त झनै सकसमा पारेको छ।  

कर्मचारीलाई कार्यालय समयको अर्को समस्या छ । ‘कार्यालय समयमा काम गरिरहेका छौं । कामको चाप हुँदा बिहानबेलुकी पनि काम गर्छौं । तर, जनता जतिबेला पनि सेवा प्राप्त होस् भन्ने चाहन्छन् । टाढाबाट पैदल आएका स्थानीयको बिहानबेलुकी पनि सेवा खोज्ने बानी छ,’ परियारको गुनासो छ । कार्यालय छेउछाउमा बस्ने कर्मचारीले जतिबेला भए पनि आफूलाई सेवा देओस् भन्ने स्थानीयको अपेक्षाले थप समस्या निम्तिएको उनको भनाइ छ ।

त्यसो त यहाँको अर्को मुख्य समस्या भनेको बैंक नहुनु पनि हो । सिंगो गाउँपालिकामा एउटा पनि बैंक नहुँदा स्थानीयसँगै कर्मचारीलाई पनि असहज भएको छ । ‘हाम्रोमा बैंक छैन । खाता सञ्चालनका लागि तीनजना कम्तीमा दुईपटक सदरमुकाम धाउनुपर्छ । एकपटकमा आठदस हजार रुपैयाँ खर्च हुन्छ । अनि सोचेजस्तो योजना सम्पन्न हुन सक्दैन । बैंक नहुँदा ठूलो रकम सदरमुकाम आवतजावत गर्न नै सकिन्छ । रोल्पाका १० स्थानीय तहमध्ये ७ तहमा बैंक छैनन्।

रोल्पाका गाउँपालिकाको केन्द्र र त्यसआसपासमा बैंक नहुँदा स्थानीयलाई समस्या पर्न थालेको छ । विषेश गरी विभिन्न निर्माणको जिम्मा लिएका उपभोक्ता समितिका पदाधिकारीले ठूलै सास्ती भोगिरहेका छन् । सदरमुकामसमेत रहेको रोल्पा नगरपालिकामा नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, जनता बैंक, ग्लोबल आइएमई बैंक छन् भने रुन्टीगढी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक छ । पूर्वी रोल्पाको ठूलो व्यापारिक केन्द्र  सुवार्णावती गाउँपालिकामा ग्लोबल आइएमई बैंक छ । बाँकी ७ तहका निकायहरू सदरमुकामकै बैंकमा भरपर्ने अवस्था छ।  

स्थानीय व्यापारीसँगै गाउँपालिकाको सेवा प्रवाहमा पनि समस्या छ । ‘हाम्रै कार्यसम्पादनमा पनि समस्या थपिएको छ । सामान्य कारोबारका लागि पनि सदरमुकाम धाउनुपर्छ,’ त्रिवेणी गाउँपालिका प्रमुख शान्तकुमार वलीले भने । ‘कर्मचारी अभाव, इमेल र इन्टरनेटको समस्या त छँदैछ, त्योभन्दा झनै समस्या बैंक नहुँदा थपिएको छ,’ उनले भने । उता थवाङ गाउँपालिकाले पनि यस्तै समस्या भोगिरहेको छ । ‘उपभोक्ता समितिलाई धेरै झन्झट छ । यतै बैंक भएको भए दुःख त हुन्नथ्यो नै खर्च पनि बच्थ्यो । आउँदाजाँदा खर्च हुने, दुःख उत्तिकै,’ थवाङ गाउँपालिकाका कर्मचारी अधिकार बुढा भन्छन्।

 

 

प्रकाशित: २१ माघ २०७४ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App