१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सोमबारभित्र मतदानस्थलमा पुग्न कांग्रेस निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन पार्टीबाट निर्वाचित सबै तहका नेतालाई सोमबारभित्र सम्बन्धित प्रदेशमा पुग्न आग्रह गरेको छ । पार्टी मुख्य सचिव कृष्ण पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबारभित्र मतदान हुने स्थानमा पुग्न निर्देशन जारी गरेको हो।  

‘राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्यहरु र स्थानीय तहका नगरपालिकाका प्रमुख एवं उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरु स्वदेश तथा विदेश जहाँ रहे तापनि माघ २२ गतेभित्र आफ्नो प्रदेशको मतदान स्थलमा उपस्थित हुनु,’ विज्ञप्तिमा भनिएको छ।

पार्टी र राष्ट्रियसभाका आफ्ना उम्मेदवारसँग निरन्तर सम्पर्कमा रहन पनि उसले भनेको छ । ‘२०७४ माघ २४ गते आआफ्नो प्रदेशको मतदान स्थलमा हुने निर्वाचनमा अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारहरुलाई मतदान गर्नु हुन कांग्रेस निर्देशन गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले प्रदेश १ को प्रत्यक्षतर्फ ८ जना र समानुपातिकमा १३ सदस्य गरी २१ जना सदस्य छन् भने स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी ९६ जना छन् । प्रदेश २ मा कांग्रेसको प्रत्यक्षमा ८, समानुपातिकमा ११ गरी १९ जना छन् भने ८१ प्रमुख र उपप्रमुख छन् । प्रदेश ३ मा कांग्रेसका प्रत्यक्षमा ७ र समानुपातिकमा १४ गरी २१ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी ६७ जना छन् । प्रदेश ४मा कांग्रेसका प्रत्यक्षमा ६ र समानुपातिकमा ९ गरी कुल १५ र स्थानीय तह प्रमुख–उपप्रमुख गरी ८० जना छन्।

त्यस्तै, प्रदेश ५ मा प्रत्यक्षमा ५ र समानुपातिकमा १२ गरी १७ जना प्रदेशसभा सदस्य र स्थानीय तहमा ६६ जना प्रमुुख र उपप्रमुख छन् । प्रदेश ६ मा प्रत्यक्षमा १ र समानुपातिक ५ गरी ६ जना प्रदेश सदस्य जितेको कांग्रेसले  स्थानीय तहका प्रमुख र उपप्रमुख ४१ हात पारेको छ । प्रदेश ७ मा  कांग्रेसको प्रत्यक्षमा ४ र समानुपातिकमा ८ गरी १२ जना प्रदेशसभा सदस्य स्थानीय तहमा ७४ प्रमुख र उपप्रमुख जितेको छ।

 

प्रकाशित: २१ माघ २०७४ ००:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App