१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालगन्जमा रिङरोड बनाउने योजना असफल

नेपालगन्ज – स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावमा बाँकेका अधिकांश उम्मेदवारले नेपालगन्जमा चक्रपथ(रिङरोड) निर्माणको योजनालाई पुर्णता दिने कुरालाई जोडतोडका साथ उठान गरे। सोही अनुरुप नेपालगन्जबासीले चक्रपथ योजनालाई आफ्नो ‘ढुकढुकी’ बनाईसकेका थिए। तर, चक्रपथ निर्माण कार्य सम्पन्न योजना तत्कालका लागी टरिसकेको छ। 

पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको परिकल्पनामा अगाडि सारिएको उक्त चक्रपथ निर्माण कार्य तत्कालका लागि नबन्ने निश्चितजस्तै देखिएको छ। चार वर्षअघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुर(राँझा)देखी सिक्टा सिचाई आयोजनाको पूर्वी नहर हुँदै स्थानीय महेन्द्र बहुमुखी क्याम्पस तथा पश्चिम क्षेत्रको चौलिका चोकदेखी जानकी गाउँपालिकाको ईन्द्रपुर हुँदै पश्चिमी सिक्टाको नहरमा जोडिने गरी चक्रपथको सर्बे गरिएको थियो। सर्वेका क्रममा चक्रपथ कुल २३ दशमलव ८ सय ६० किलोमिटर लामो हुने बताइएको थियो।

नेपालगन्जको बढ्दो सवारी चापलाई व्यवस्थित गर्न तथा आर्कषक नगरका रुपमा रुपान्तर गर्ने उद्देश्य सहित उक्त चक्रपथलाई ‘कुभु बोध मार्ग’ नाम दिएर योजना अगाडी बढाइएको थियो। सोही अनुसार सरकारले पनि चक्रपथका लागी हरेक वर्ष बजेट विनियोजन गर्दै आएको थियो। कोइरालाको निधन भईसकेपछि केन्द्रसँग बलियो पहुँच नपुग्दा योजना अधुरो रहेको सम्बद्ध स्रोतले जनाएको छ। 

‘एक त चक्रपथको योजनालाई कमजोर हिसाबले सर्बे गरियो, अर्को कुरा केन्द्रसँग बलियो पहुँच भएको नेता कोही भएन,’ स्रोतले भन्यो ‘सोही कारण चक्रपथ निर्माणको योजना अलपत्र प¥यो, नेपालगन्जबासीका लागी यो ठुलो दुर्भाग्य हो।’ चक्रपथ निर्माण हुने भएपछि ऐतिहासिक शहर नेपालगन्जको मुहार फेरिने आशा गरेका स्थानीय बासिन्दा निराश बनेका छन्। सरकारले कुनैपनि हालतमा निर्माण कार्य अगाडि बढाउनुपर्ने उनीहरुको माग छ। नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवम्  विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ चक्रपथ निर्माण योजनालाई थाती राख्न नपाईने बताउँछन्। 

‘चक्रपथ निर्माण योजनालाई कसरी थाती राख्न खोजियो, हामी अन्यौलमा छौं,’ उनले नागरिकसँग भने ‘कुनैपनि हालतमा यो योजनालाई अगाडी बढाउनुपर्छ।’ तत्कालिन सरकारले चक्रपथको खाँचो देखेर बजेट छुट्याउँदा आफुहरु आशावादी रहेको उल्लेख गर्दै श्रेष्ठले नेपालगन्जबासीको ढुकढुकी रहेको चक्रपथलाई अधुरा नपार्न आग्रह गरे।

चक्रपथ निर्माण योजना अलपत्र पर्नुमा विशेषगरी सिक्टा सिंचाई आयोजनाको नहर प्रमुख बाधक रहेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ। ‘पहिलो कुरा त चक्रपथका लागि जुन ठाउँमा सर्बे गरिएको थियो, त्यो ठाउँ पुरै नहर क्षेत्रमा पर्ने भएछ, अर्को कुरा चक्रपथ परेको ठाउँमा जग्गाधनीलाई मुआब्जा दिदा नै अर्बौ खर्च हुने देखियो, मुआब्जा दिन सम्भव नभएपछि चक्रपथ बन्ने स्थिती भएन,’ मेयर डा. धवलसम्शेर राणाले नियमित पत्रकार भेटघाटका क्रममा यसैसाता मुख खोले। सिक्टाको नहर निर्माण कार्य सम्पन्न नभएका कारण चक्रपथ निर्माण योजना बीचमै राखिएको उनको भनाई छ। 
  
‘मेरो पनि चक्रपथ निर्माण होस् भन्ने चाहना नै थियो, सोही अनुसार स्थलगत निरिक्षण नै गरेको थिए, तर सिक्टा सिचाई नहर र मुआब्जाको समस्याले यो योजना बीचमै रोक्नु प¥यो। उनका अनुसार सिक्टा नहरको करिव ९० प्रतिशत भागमा चक्रपथको क्षेत्र परेको छ। ‘नराम्रो छवि बनाएको ठेकेदार कम्पनी पप्पु कन्ट्रक्सन कम्पनीले सिक्टाको पश्चित क्षेत्रको नहर निर्माण कार्य रोकिएको छ, त्यसले चक्रपथलाई असर गरेको छ,’ एक प्राविधिकले भने। हाललाई चक्रपथ निर्माणको योजना अगाडी बढाउने सम्भावना नरहेको समन्वय गर्दै आएको सडक डिभिजन कार्यालयले जनाएको छ। 

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख अर्जुनकुमार बमले चार वर्षअघि सुरु भएको चक्रपथ निर्माण कार्य रोकिएको बताउँदै भने, ‘चक्रपथ निर्माणको क्षेत्र र सिक्टाको नहर एउटै ठाउँमा भयो, चक्रपथको काम नहुँदा त्यो बजेटलाई पुल निर्माणमा खर्च ग¥यौं।’ सडक डिभिजन कार्यालयका अनुसार सरकारले चक्रपथका लागी दुई करोड २० लाख रुपैयाँ सुरुको चरणमा विनियोजन गरेको थियो। त्यसमध्ये चक्रपथ पर्ने क्षेत्रमा ठेक्का दिएर १ करोड ९ लाख २७ हजार ४ सय रुपैयाँमा ८ सय २३ मिटर लामो चौलिका चोक नजिक कालोपत्रे गरिएको कार्यालयले जनाएको छ। ठेकेदारले एक करोड तीन लाख ८३ हजार रुपैयाँ भुक्तानी समेत लिएको बताइएको छ। सरकारले त्यसपछि पनि हरेक वर्ष चक्रपथ निर्माणका लागि करोडौं बजेट छुट्याउँदै आएको छ। गत आर्थिक बर्षमा पनि ७ करोड ४५ लाख बजेट चक्रपथ निर्माणका लागि विनियोजन गरिएको थियो। चालु वर्षमा पनि ७ करोड ३५ लाख रुपैयाँ विनियोजन भएको बमले जानकारी दिए। 

‘सरकारले बजेट निरन्तर रुपमा विनियोजन गरेकै हो, तर चक्रपथ निर्माण गर्न सकिएन,’ उलने भने। सिक्टाले नहर निर्माण कार्यमा ढिलाई गरेको र चक्रपथका लागी तीन मिटर मात्रै क्षेत्र दिने बताएपछि प्राविधिक रुपमै यो योजना फेल भएको सडकका प्राविधिक बताउँछन्। ‘५÷६ मिटर चौडाई भएको नहर निर्माणको बाटोमा सिक्टाले तीन मिटरजति मात्रै दिनसक्ने बतायो, अर्कोकुरा नहर पनि निर्माण भएको छैन, हामीले कसरी चक्रपथको योजना अगाडी बढाउने ?’ सडक डिभिजन प्रमुख बलमे प्रश्न गरे। ठुला गाडीहरु निरन्तर सञ्चालन हुने हुँदा सिक्टाको नहर लाईनमा चक्रपथ निर्माण गर्न सम्भव पनि भएको उनको भनाई छ।

प्रकाशित: २० माघ २०७४ १५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App