१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एक रुपैयाँ चोर्दा : ध्रुवचन्द्र गौतम

धुव्रचन्द्र गौतम त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरे र त्यही विश्वविद्यालयमै करिब २८ वर्षसम्म अध्यापन गराए । अध्ययन गर्ने र अध्यापन गराउने गरेर तीन दशकभन्दा बढी समय त्यही विश्वविद्यालयमा बिताएका गौतम भन्छन्, ‘स्कुलको पहिलो दिन सम्झिन सके त अविस्मरणीय नै हुन्छ, किनभने त्यहाँ आत्तिते, डराउनेपन (नर्भसनेस) बढी हुन्छ । कसरी पढाइन्छ, को–को पढ्न आउँछन्, पढाउने भनेको के हो भन्ने कुराले विद्यार्थी नर्भस भइरहेका हुन्छन् र त्यो क्षण सबैका लागि अविस्मरणीय हुन्छ तर कलेज सबैका लागि सम्झनलायक बन्न पनि सक्छ र नबन्न पनि सक्छ । गौतमले थपे, ‘मेरो जीवनमा कलेजका त्यस्ता सम्झनलायक घटना त छैनन् तर त्रिभुवन विश्वविद्यालयका कारण मेरो जिन्दगीमा ठूलै सकारात्मक उथलपुथल भएको छ । 

कलेजदेखि साहित्यिक यात्रा 
कलेज जीवनले नै जिन्दगी कायापलट गरेको उनको सोचाइ छ । हुन त उनको जन्मस्थल वीरगञ्जदेखि नै साहित्यमा रुचि थियो र त्यतातिरै केही साथीभाइ पनि उनले जम्मा पारिसकेका थिए तर त्यसलाई साकार रूप दिने कार्य भने त्रिभुवन विश्वविद्यालयमा आइसकेपछि मात्रै भएको उनको बुझाइ छ । उनले भने, ‘त्रिभुवन विश्वविद्यालयमा पढ्दा नै मेरो पहिलो कविता रूपरेखा पत्रिकामा छापियो जसले मेरो साहित्यिक यात्राको बाटो फराकिलो पार्र्ने काम गर्यो ।

ध्रुवचन्द्र गौतमले स्कुले जीवन गृहजिल्लामै पूरा गरेर र आईए पढ्न भने दरबार स्कुलले नै सञ्चालन गरेको नेसनल कलेजमा आर्टस् पढ्न भर्ना भए । शंकरदेव पन्तले स्थापना गरेको कलेजमा पन्त भने नेपाली पढाउँथे ।  सबैका लागि नयाँ र सबै नयाँ भएकाले उनको पहिलो दिन पनि पुरानै तरिकाले बित्यो । कलेज पढेको जस्तो कुनै अनुभूति नभएको उनी बताउँछन् ।

उनले त्यो समयलाई स्मरण गर्दै भने, ‘रूपरेखा पत्रिकामा कविता छाप्नु ठूलै कुरा थियो । वि.सं. २०२० वैशाख १ गते बिहानै उनी न्यूरोड पीपलबोट पुगे, उनीसँगै उनका अर्का मित्र पनि थिए र संयोगको कुरा, ती साथीको पनि त्यसै दिन रूपरेखामा कविता प्रकाशित भएको थियो । उनले भने, ‘हामी दुवैजना चट्ट लागेर गयौं र पत्रिका उठाएर आ–आफ्नो कविता हे¥यौं अनि सानसँग उभियौं । त्यसदिन हामीलाई आफू निकै ठूलो मानिस भएको अनुभूति भएको थियो । त्यो दिन हामी खाना खान पनि ढिला गरेर गयौं, दिनभर त्यत्तिकै बरालिएर बसिरह्यौं । उनले अझै थपे, ‘त्यो दिन म जति खुसी भएको थिएँ, त्यति खुसी आफ्नो सिङ्गै पुस्तक निस्कँदा पनि हुन सकिन । त्यो क्षणलाई उनी शब्दमै व्यक्त गर्न नसक्ने बताउँछन् । क्याम्पसमा भने उनको कविताको चर्चा त्यतिधेरै हुन पाएन छ । किनभने उनीसँगै अध्ययन गरेका तर साहित्यमा भने नाम अगाडि आइसकेका रत्नशमशेर थापा थिए । थापाका अगाडि गौतमको पहिलो छापिएको कविता कमजोर भई नै हाल्यो । उनले हौसँदै भने, ‘त्यो पछि छापिएको कथाको भने धेरैले पछिसम्मै प्रशंसा गरिरहे र मेरो नाम पनि साहित्य लेखनमा अगाडि आउन थाल्यो ।’ 

कलेजको पहिलो दिन
ध्रुवचन्द्र गौतमले स्कुले जीवन गृहजिल्लामै पूरा गरेर र आईए पढ्न भने दरबार स्कुलले नै सञ्चालन गरेको नेसनल कलेजमा आर्टस् पढ्न भर्ना भए । शंकरदेव पन्तले स्थापना गरेको कलेजमा पन्त भने नेपाली पढाउँथे ।  सबैका लागि नयाँ र सबै नयाँ भएकाले उनको पहिलो दिन पनि पुरानै तरिकाले बित्यो । कलेज पढेको जस्तो कुनै अनुभूति नभएको उनी बताउँछन् । तर विभिन्न कारणले उनले नेसनल कलेजदेखि आईए पूरा गर्न सकेनन् र पुनः वीरगञ्जकै ठाकुरराम कलेजबाटै पढाइ पूरा गरे । जब आईए सकियो, उनी बीए पढ्न पुनः काठमाडौं आए र त्रिभुवन विश्वविद्यालयमा भर्ना भए ।

बीए पढ्दा केही साथी कक्षा सञ्चालन भइरहेको समयमै कक्षा छोडिदिन्थे, ती साथीको संगतमा गौतम भने कहिल्यै परेनन् । हुन त केही साथी मिलेर फिल्म हेर्न गएको भने उनी स्विकार्छन् । उनी सम्झन्छन्, ‘एकपटक हामी सबैजना मिलेर ‘दिल एक मन्दिर’ भन्ने फिल्म हेर्न गएका थियौं, क्लास छाडेरै गए तापनि शिक्षकहरु निकै दयालु स्वभावका थिए । फेरि कलेज पढ्ने अल्लारेलाई कारबाही गर्न पनि भएन भनेर हो कि, शिक्षकले गाली समेत गरेनन् ।

कलेज फन
गौतमले कलेजमा आफ्नै नेतृत्वमा भने कहिल्यै फन गरेनन् तर साथीको फनलाई भने गज्जबले सपोर्ट गरे । उनले हाँस्दै भने, ‘एकपटक अंग्रेजी उपन्यास पढाउने सरको हाजिर पछि सबैजना उठेर जाने सल्लाह भयो । दुईओटा ढोका भएकाले हामीले रोल नम्बर बोलाउने बित्तिकै एस सर भन्दै बाहिरिने व्यवस्था मिलायौं ।’ मेरो रोल नम्बर ५ थियो, आउने बित्तिकै म पनि एस सर भनेर बाहिरिएँ । सल्लाहबमोजिम सबै एकैचोटी बाहिर भेला भएर जाने योजना थियो र हामी अरू साथी कुरेर बाहिर बसिरहेका थियौं । निस्कनलाई थोरै साथी मात्रै बाँकी थिए होलान्, सरले ‘सरी गाइज आई गट अ रङ रजिष्ट्रर’ भनेर अर्को रजिष्ट्रर लिन पो जानुभयो । अनि त फेरि पहिलेकै स्थानमा आएर रोल नम्बर पाँचमा एस सर भनेर पढ्न पनि पर्यो, यसरी हाम्रो नपढ्ने योजना फ्लप भयो । 

अर्को घटनामा भने म नराम्ररी फसेँ, उनले ती दिन सम्झँदै भने । उनले थपे, ‘सबै साथीले सल्लाह गरेर अरूको हाजिरमा बोल्ने योजना बन्यो ।’ मेरो रोल नम्बर पाँच भए पनि एकमै बोल्नुपर्ने मिसनअनुसार मैले एकभन्दा एस सर भने तर मेरा अर्का सहपाठी जुरुक्क उठेर सर यो अर्कैको नम्बरमा बोल्यो भनेर भनिदियो । त्यसपछि परेन त फसाद, निकै लफडा परेर बल्लतल्ल उम्कनुपर्यो । यो घटनापछि भने हामीले यस्ता फ्लप योजना बनाउनै छाड्यौं । बरु चौरमा बसेर गीत गाउँथ्यौं, गौतमले एकै श्वासमा भने ।

पढेकै कलेजमा पढाउँदा
गौतम जुन कलेजमा पढे पछि त्यही कलेजमा करिब २८ वर्ष पढाए । उनले पढाउने कलेजमा विज्ञानका विद्यार्थीलाई पनि नेपाली पढाउनुपर्ने हुन्थ्यो । केही पुराना शिक्षक साथीले विज्ञानका विद्यार्थीलाई नेपाली पढाउन मुस्किल पर्छ भनेर डर देखाइदिएछन् । उनले भने, ‘प्रत्येक बुधबार मेरो कक्षा विज्ञानका विद्यार्थीसँग पथ्र्यो, म हरेक बहाना गरेर बुधबार नै कलेज बिदा लिन्थेँ ।’ अति भएपछि सबै विद्यार्थी मिलेर मेरो कम्प्लेन गरिदिएछन् र एकदिन क्याम्पस प्रमुखले कारण सोधे, किन पढाइ भएन विज्ञानको नेपाली ? उनले प्रत्येक बुधबार घरायसी काम पर्ने बताएछन् तर यस्तो चेतावनी आएछ कि उनी जसरी पनि विज्ञानका विद्यार्थीलाई नेपाली पढाउन जानैपर्ने भएछ । डराइडराइ विज्ञानका विद्यार्थीको कक्षामा गएँ तर जस्तो सोचेको थिएँ, जिद्यार्थी बिलकुलै त्यस्ता रहेनछन्, गौतमले ढुक्कको आवाजमा भने । उनले थपे, ‘विद्यार्थी त छिट्टै मसँग घुलमिल भए र राम्रो साथीजस्ता भए ।’ 

खगेन्द्र सङ्गौला पनि गौतमकै एक विद्यार्थी हुन् । खगेन्द्र जस्तै उनले पढाएका विद्याथी मन्त्रीदेखि डाक्टर पाइलटसम्म भएका छन्, उनले गर्विलो स्वरमा भने ।

पिताजीको एक आना पैसा
सानो समयमा उनी अरूको तुलनामा उट्पट्याङ कार्य त कम गर्थे तर गर्दै नगर्ने भन्ने चाहिँ हुँदैनथ्यो । एकदिन उनले पिताजीको कुर्ताको गोजीदेखि एक आना निकाले र मन लागेजति पानीपुरी खाएर सक्काए । त्यो समयमा एक पैसाको पाँचओटा पानीपुरी आउँथ्यो । पानीपुरीको ढ्याउ पनि राम्रोसँग सक्किएको थिएन होला उनका पिताजीले एक आनाको छानबिन  सुरु गरे र उनी पक्डिए । 

त्यतिले मात्रै उनले हार मानेनन् । एकपटक त स्कुलको फिस तिर्नका लागि आएको बिललाई कलमले बढाएर एक रुपैयाँ आफ्नो गोजीमा पारे । गोजी गह्रौं थियो, त्यो जमानामा एक रुपैयाँ भनेको चानचुने पैसा थिएन, उनले सम्झिए । गोजी धेरैबेर गह्रौं भने हुन पाएन । उनका पिताजीलाई सक भइहाल्यो र उनलाई रङ्गेहात पक्राउ गरियो । उनको साथबाट एक रुपैयाँ जफत भयो । त्यस दिनदेखि उनले चोरी गर्नतिर ध्यान दिएनन् । किनभने दुवैपटकको प्रयास असफल भयो ।

प्रकाशित: २० माघ २०७४ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App