१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बुढासुब्बा गोल्डकपकोे २० औं सँस्करण आजबाट

बुढासुब्बा रेडबुल गोल्डकपको विजेता, उपविजेताको ट्रफी।

धरान – मोफसलको चर्चित बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको २० औं सँस्करण शनिबार (आज) देखि शुरु हुदैछ। आयोजक धरान फुटबल क्लबले धरान १६ स्थित रंगशालामा शुक्रबार अन्तिम पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । गोल्डकप शुरुवात भएको २ दशक पुगेको अवसरमा २०औं सँस्करणको उद्घाटनलाई बिशेष एवं भव्य बनाइने पनि क्लबको भनाई छ।

माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता ६ बर्षपछि रंगशालामा हुन लागेको हो । क्लबले यो रंगशालालाई प्रादेशिक रंगशालाको नामाकरण गरेको छ । मर्मतको कारण १४ औं सँस्करणदेखि बुढासुब्बा गोल्डकप एन्फा टेक्निकल सेन्टरको प्रशिक्षण मैदानमा भइरहेको थियो । शनिबार २० औं सँस्करणको उद्घाटन खेल चर्चित क्लब मनाङ मस्र्याङदी र संकटाबीच हुनेछ।

प्रतियोगितामा आयोजक क्लबसहित कुल ८ टिम सहभागी हुने क्लबका अध्यक्ष एवं एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राईले जानकारी दिए । उनका अनुसार आयोजकसँगै मनाङ मस्र्याङ्दी क्लब, संकटा क्लब, नेपाल पुलिस क्लब, सुदुरपश्चिम खप्तड टिम, भारतको दुर्गापुर स्टिल एफसि कलकत्ता, केएफटिसि झापा ११ र थ्री स्टार क्लब सहभागी हुनेछन् ।

‘प्रतियोगिताको सबै तयारी भइसकेको छ, टिमहरु आउन थालिसकेका छन् । दुई दशक पुगेको अवसरमा उद्घाटनलाई भव्य बनाउन केन्द्रीत छौं,’अध्यक्ष राईले भने,‘धरानको टिममा यसपाली सबै लोकल खेलाडीहरु मात्र छन्, खप्तड र पोखरामा प्रर्दशन राम्रो गरिसकेको छ ।’ उनका अनुसार २० औं सँस्करणको संकेतस्वरुप उद्घाटनमा रमिते डाँडाबाट १० वटा र समापनमा पनि १० वटा प्याराग्लाइडिङ उडेर रंगशालामा अवतरण गर्नेछ । यस्तै, उद्घाटनमा विभिन्न जातजातिहरुको साँस्कृतिक झाँकी पनि प्रस्तुत हुने उनले बताए । शुक्रबार नै भानुचोकमा प्रर्वद्धन गर्न वृहत सांगीतिक कार्यक्रम पनि भएको छ।

क्लबले नगद पुरस्कारमा पनि थप वृद्धि गरेको । यसअघि विजेतालाई ५ लाख र उपविजेतालाई २ लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको क्लबले विजेतालाई ६ लाख र उपविजेतालाई ३ लाख नगद पुरस्कार दिने जनाएको छ ।

यस्तै, व्यक्तिगत पुरस्कारतर्फ विगतको सँस्करणमा १५ हजार दिदै आएको क्लबले यसपाली २५ हजार पुरस्कार दिइने क्लबका महासचिव प्रताप तामाङले बताए । उनका अनुसार टिकट काटेर हेर्न जाने प्रत्येक दर्शकलाई स्पेशटाइम नेटवकमार्फत एउटा सेटअप बक्स र २ महिनाको शुल्क निःशुल्क उपलब्ध हुनेछ । यस्तै, एक जना भाग्यशाली दर्शकले गोलाप्रथामार्फत मोवाइल सेट पनि पाउनेछन्।

करिब १० हजार दर्शक क्षमताको प्याराफिट हुने रंगशालामा सबैलाई टिकट काटेर हेरिदिन आयोजकले बिशेष आग्रह गरेको छ । धरानमा पास मागेर गोल्डकप हेर्न जाने प्रवृत्तिले आयोजक आजित हुने गरेका छन्।

प्रतियोगिता नाफामा नजानुमा एउटा कारकमा यो पनि रहेको क्लबको भनाई छ । हालसम्म पहिलो र १४ औं सँस्करणबाहेक अन्यमा आयोजकले नाफा कमाउन नसकेको जनाएको छ । प्रतियोगिताको उद्घाटनमा एन्फाको १४ औं अधिवेशनलाई लक्षित गरेर ४५ जिल्ला, क्लब र समितिका पदाधिकारीहरु पनि उपस्थित हुने एन्फा उपाध्यक्ष राईले बताए । नेपाली फुटबललाई बचाउन एन्फामा परिर्वतन आवश्यक भएको सन्देश दिन यो भेला गरिएको उनको भनाई थियो।

 

 

प्रकाशित: २० माघ २०७४ ०५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App