१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

अमर र मुसाको दिनगन्ती

उमा तिम्सिना

अमरलाई सानैदेखि जनावर र चराहरु मनपथ्र्यो । तिनीहरूको बोलीको नक्कल गर्न खोज्थ्यो । ‘तिनीहरू अनौठो बोलीमा केके भन्छन् होला ?’ भन्ने उसलाई जिज्ञासा हुन्थ्यो । त्यसकारण ऊ घण्टौं चराचुरूंगीको स्वर सुनेर बस्थ्यो । विद्यालय जान थालेदेखि उसले चराचुरूंगी, जनावरका मिठा कथाहरू सुन्न पाएको थियो । लोककथामा त झन् स्याल मान्छेको बोली बोल्थ्यो, भ्यागुतो केटी जसरी रून्थ्यो । सर्प बदमास केटो रिसाए जसरी स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गथ्र्यो ।

अमर पढ्नमा रामै्र थियो । समयमै गृहकार्य सक्थ्यो । आमाबुवाले गृहकार्य गर्न कहिल्यै सम्झाउनु पर्दैन थियो । धेरै राम्रा बानी भएर पनि उसमा एउटा बानी भने नराम्रो थियो । ऊ आफ्नो कोठा कहिल्यै सफा राख्दैन थियो । अमर गृहकार्य गरेर जताततै कापी, किताब र कलम छोड्थ्यो । स्कुलबाट आई फुकालेका लुगाहरू कोठामा भुइँभरि छरिएका हुन्थे । आफूले ओडेको सिरक तन्ना ऊ कहिल्यै मिलाउँदैन थियो । उसलाई आमाले धेरै पटक कोठा सफा राख्न सिकाइसक्नु भएको थियो । उसैलाई देखाएर कोठाका कुनाकानी बडारेर थुप्रिएका फोहर पनि देखाउनु भएको थियो । आफ्ना सबै काम खुरुखुरु गर्ने अमर यो कुरामा भने कहिल्यै ध्यान दिँदैन थियो ।

गुरुआमाले झ्याउँकिरीको कथा भनिसकेर कक्षाबाट बाहिर निस्कनुभयो । अमरले गुरुआमाले भन्नुभएको कथाको किताब आफूसँग भएको कुरा साथीहरूलाई सुनायो । साथीहरूले उसको कुरा पत्याएनन् । उमेशले उसलाई जिस्क्याउँदै भन्यो, ‘खुबै सबैकुरा तँ सँग मात्र हुन्छ । यसले धन्न कथाको किताबमात्र छ भन्यो । कुनै दिन घरमा सुनको हात्ती पनि छ भन्न बेर लगाउँदैन ।’

साथीको कुरा सुनेर अमरलाई नरमाइलो लाग्यो ।  आफूसँग भएको कुरालाई छ भन्न पनि नहुने । उसले भोलि त्यो किताब साथीहरूलाई देखाएर उमेशको मुख बन्द पारिदिने सोच्यो र भोलि सबै साथीहरूलाई किताब ल्याएर देखाउने बतायो । “हेरौँला” भनेर हाँस्दै उमेश कक्षाबाट काहिर निस्कियो । आज घर फर्कँदा अमरलाई रूखका हाँगाहाँगामा बसेर कराइरहेका चराको स्वर पनि मिठो लागेन । पोखरीमा कराइरहेका भ्यागुताको स्वर पनि मन परेन । उसलाई कत्तिबेला स्कुलबाट घर पुगेर त्यो कथाको किताब आफ्नो व्यागमा राखौँ जस्तो भएको थियो ।

घरको ढोकाबाट छिर्ने बित्तिकै अमर आमालाई खाजा के छ भन्दै कराउँदै जान्थ्यो । आज चुपचाप कोठामा पसेको देखेर छोरालाई के भएछ भनी आमा सोच्न थाल्नुभयो । अमर भने हत्तपत्त ब्याग राखेर कथाको किताब खोज्न थाल्यो । उसले आफ्ना छरिएर रहेका किताबको थाक उधिन्यो । अहँ कथाको किताब त्यहाँ थिएन । कोठाको कुनामा थुप्रिएको लुगा पन्छायो । अहँ किताब त्यहाँ पनि थिएन । चारैतिर खोज्दा पनि नभेटेपछि उसले आमालाई गुहा¥यो ।

आमा प्लेटमा तारेको आलु, चिउरा र दुध लिएर आउनुभयो । उसले कथाको किताब नभेटी खाजा नै नखाने अड्डी कस्यो । आमा ‘आफ्ना सामानहरू ठीक ठाउँमा राख्न सिक्नुपर्छ’ भनी गनगनाउँदै कथाको किताब खोजिदिन थाल्नुभयो ।

उहाँले छरिएर रहेका किताबहरू मिलाएर टेबुलको एक छेउमा चाङ लगाउनुभयो । जथाभावी फालेका लुगा मिलाएर खोज्दा अस्तिदेखि हराएको व्याकरणको किताब पनि भेटियो । तर कथाको किताब अझै भेटिएन । आमाले बैठक कोठातिर पनि खोज्नुभयो । त्यहाँबाट पनि उहाँले उसका केही कापी र किताबहरू ल्याउनुभयो । बैठक कोठामा पनि कथाको किताब थिएन । आमा ‘खाजा खाएपछि खोज्नु’ भन्दै करेसाबारीतिर जानुभयो । अमर चिन्तित हुँदै खाजा खान थाल्यो । खाजा खाँदाखाँदै उसका आँखा ऊ सुत्ने पलङका चेपमा परे । ऊ पलङ नजिकै आयो र चेपमा हात छिरायो ।

उसका हातले कागजका टुक्रा, माकुराको जालो, कसिंगर र सिसाकलमको टुक्राहरु भेट्यो । उसले ती चिजहरू झिक्यो र फेरि अझै केही भेटिन्छ कि भनी खोज्न थाल्यो । उसको हातमा कागजका टुक्राहरु साथै एउटा च्यातिएको किताब प¥यो । उसले किताब उठाएर हे¥यो । यो त उसले खोजेकै कथाको किताब रहेछ । तर कथाको किताब सग्लो थिएन । लगभग आधाजस्तो भाग मुसाले काटेको थियो । अब यस्तो च्यातिएको किताब कसरी स्कुल लगेर साथीहरूलाई देखाउनु ? किताब भेटिएपछि अमर झनै चिन्तित भयो ।

उसले राती खाएको खानाको स्वाद पनि थाहा पाएन । किताब मुसाले खाइदिएको पीरले त्यसरात ऊ चाँडै सुत्यो । ‘बिस्तारै टोक त्यो केटाले थाहा पाउला ।’ एउटा तीखो स्वर अमरको कानमा प¥यो । ‘आ... के थाहा पाउँछ, दिनभरि उफ्रिएर आएको केटो मस्त निद्रामा छ । आफूलाई कागजहरूको न्यानोमा बसेर पलङको काठमा दाँत तिखार्न कस्तो आनन्द आइरहेको छ ।’

अमरले आफूले सुनेको कुरामा पहिले त विश्वास गर्न सकेन । उसकै पलङका चेपमा बसेर दुई वटा मुसा मानिसका भाषामा कुरा गरिरहेका थिए ।

‘हुन त हो । एक हप्ता लगातार यत्रो किताब काट्दा समेत केटोले थाहा पाएन । फेरि उसकै कारण हामीलाई यो कोठा स्वर्ग भएको छ । जथाभावी लुगा फाल्ने, किताब फाल्ने, कागज कसिंगर फोहर नबढार्ने गर्नाले हामीले न्यानो गुँड बनाउँन पाएका छौं ।’ मुसाको तीखो स्वर अमरका कानमा झीर जसरी पसिरहेको थियो ।

‘हो त नि यो केटोलाई हामीले धन्यवाद भन्नैपर्छ । उसले फोहर गरिदिएर पो हामीले यो कोठामा गुँड बनाउन पाएका छौं नभए त यो घरै छोडेर जानुपथ्र्यो ।’ मुसीको कुरामा सही थप्दै मुसाले भन्यो, ‘हो फोहर गरेकोमा हामीले केटोलाई धन्यवाद त भन्नैपर्छ । पख है म उसलाई धन्यवाद दिन एउटा गीत गाउँछु ।’

नाम तिम्रो अमर
फोहर गर्ने बानी ।
त्यही फोहरमा रमाउने
मुसा भाग्यमानी ।
अझै फोहर गर
किताब कापी छर ।
किताब कापी काटी बन्छ
हामी बस्ने घर ।।
अमरले गीत सुन्दासुन्दै ढोका कराएको आवाज आयो । आमा चिया लिएर कोठामा पस्नुभएपछि मुसाको स्वर उसले सुन्न छोड्यो । अमर आँखा मिच्दै उठेर ओछ्यानमा बस्यो । आमालाई ‘चिया टेबलमा राखिदिनुस्’ भन्दै उसले कुचो ल्याइदिन आमालाई अनुरोध ग¥यो । छोराले चिया नै नखाई कुचो मागेकाले छक्क पर्दै कुचो लिन जानुभयो । अमर पनि हत्तपत्त शौचालय गयो र हात मुख धोई कोठामा पस्यो ।

उसले छरिएका लुगाहरू किलामा झुन्ड्यायो । तन्ना टमक्क पारेर तानतुन गरी मिलायो । सिरक पट्यायो । टेबलमुनि खसेका किताबहरू मिलाएर टेबलमा राख्यो र पलङको चेपमा कुचो छिराई बढार्न थाल्यो । पलङ मुनिबाट एक डंगुर फोहर निस्कियो । त्यो फोहरलाई उसले डस्टबिनमा हाल्यो । एकैछिनमा कोठा सफा देखियो ।

यो देखेपछि अमर आफै दंग परेर मन मनमा अबदेखि कोठाका सबै सामान मिलाएर ठीक ठाउँमा राख्ने र कोठालाई दिनदिनै सफा राख्ने प्रण ग¥यो । त्यस दिनदेखि अमरको सफा सुग्घरको यात्रा र मुसाको दिनगन्ती सुरु भयो ।     

 

प्रकाशित: २० माघ २०७४ ०४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App